coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्रिकेट कोहलपुरमै हुन्छः खेलकुदमन्त्री

क्याप्सनः कोहलपुर क्रिकेट मैदानको पिच सिलान्यास गर्दै मन्त्री विश्वकर्मा। तस्विरः नागरिक

बाँके – आठौं राष्ट्रिय खेलकुदको पुर्वाधार तयारीबारे अनुगमन र निरीक्षणमा आएका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कोहलपुर क्रिकेट मैदानको पिच सिलान्यास गरेका छन्।

नेपालगन्जमा मंसिरमा हुने आठौ राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन गर्न मन्त्री विश्वकर्मा सहित राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव केशव कुमार विष्ट सहितको टोलीले बाँके, बर्दिया र दाङको भ्रमण गरेको छ।

प्रतियोगिता आयोजना मिति नजिकिदै गर्दा भौतिक पुर्वाधार निर्माणमा ढिलाई भैरहेको बेला मन्त्री र सदस्य सचिव सहितको टोलीले नेपालगन्जको भ्रमण गरेका हुन्।

मंसिर २१ देखी २८ गते सम्म हुने आठौ राष्ट्रिय खेलकुद अन्तर्गत कोहलपुरमा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता हुनेछ। आठौको तयारी भैरहेको बेला कोहलपुरमा क्रिकेट प्रतियोगिता नहुने सम्भावना बढेपछि कोहलपुरवासीले मन्त्री र सदस्य सचिवलाई प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा पुरुष क्रिकेट प्रतियोगिता गराउन दबाब दिएका थिए।

बिहिबार मन्त्री विश्वकर्माले पिचको सिलान्यास गर्दै क्रिकेट प्रतियोगिता कोहलपुरमा हुने प्रतिवद्धता जनाएका छन्। उनले भने, ‘आठौको क्रिकेट प्रतियोगिता यही मैदानमा हुन्छ ढुक्क हुनुहोस। महिला क्रिकेटमा कोहलपुरले पु-याएको योगदान हामीलाई थाहा छ। यसले मैदानले पुर्णता पाउने अभियानलाई सहयोग गर्नेछ।’

नेपालगन्ज रंगशालालाई आठौको उद्घाटन र समापन स्थल रुपमा तयार पारिदैछ । बाँकेपछि आठौका केहि खेल दाङ, बर्दियामा गर्ने तयारी भैरहेको छ।

बिहिबार प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज, कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता कोहलपुरमा हुनु खुसीको कुरा भएको बताए। गहतराजले भने, ‘क्रिकेटसँग बाँकेको भावानात्मक सम्बन्ध छ । कोहलपुरमा पुरुष क्रिकेट हुनु हाम्रो लागी गर्वको कुरा हो। आठौ राष्ट्रिय खेलकुद सफल रुपमा आयोजना गर्नु हाम्रो जिम्मेवारी पनि हो । यसमा बाँकेबासीले सक्रिय भएर साथ दिनेछन्।’

कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले कोहलपुरमा हुने क्रिकेट प्रतियोगिता अन्तै जादै छ रे भन्ने कुरा सुन्दा आफूलाई अत्यन्तै चिन्ता लागेको बताउदै शिलान्यास समेत भएपछि ढुक्क भएको बताए। रावतले भने , ‘ कोहलपुरमै हुनु पर्छ भन्ने मेरो जोडदार माग हो। मैले आठौं राष्ट्रिय खेलकुद मुल समितिको बैंठकमा पनि उठाएको छु । मैदानमै आएर मन्त्रीले शिलान्यास गरिसकेपछि विश्वास बढेको छ। कोहलपुरमा हुने प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकारको तर्फबाट हुने सहयोगका लागि हामी तयार छौं।’

प्रस्तावित कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदान २०६१ साल देखी निर्माण सूरु भएको हो। तर स्थानीय क्रिकेट निकाय र सरकारको ढिलासुस्तीका कारण अझैपनि क्रिकेट रंगशाला तयार हुन सकेको छैन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान एवम कोहलपुरवासी एलबी क्षेत्रीले आठौको खेल हुदाँ मैदानको महत्व बढने बताए। उनले भने,‘स्तरीय मैदान नभएर बाँके लगायत पश्चिम क्षेत्रमा प्रतिभावान खेलाडी उत्पादनमा कमी भैरहेको छ। स्तर खस्कदो छ । आठौको खेल हुँदा रंगशालाको बारेमा सम्बन्धित निकायले ध्यान दिनेछ भन्ने विश्वास छ।’

प्रकाशित: ११ श्रावण २०७५ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App