coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पुनरागमनमा लिभरपुलको जित

म्यानचेस्टर सिटीका लाेरी सानेसँग बल खाेस्ने प्रयास गर्दै लिभरपुलका खेलाडी। तस्बिर : एपी

न्युसाउन – मोहम्मद सालाह र साडियो मानेको गोलमा लिभरपुलले बुधबार एक शून्यले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीमाथि २–१ को विजय हासिल गरेको छ।

लोरी सानेले गरेको गोलमा सिटीले ५७औं मिनेटमा अग्रता लियो। तर, त्यसको ६ मिनेट बित्न नपाउँदै वैकल्पिक खेलाडी सालाहले बराबरी गोल फर्काए । गत सिजन लिभरपुलबाट ५२ खेलमा ४४ गोल गरेका सालाह गोल गर्नु एक मिनेटअघि मात्र कर्टिस जोन्सको स्थानमा मैदान प्रवेश गरेका थिए। लगत्तै सालाहले हानेको प्रहार बारमा लागेर फर्किएको थियो। इन्जुरी समयमा साडियो मानेले पेनाल्टीमा गोल गरेपछि लिभरपुलले इन्टरनेसनल च्याम्पियन्स कपमा सिटीलाई पराजित गरेको हो।

सालाह र सेनेगलका फरवार्ड मानेले विश्वकपपछि सँगै खेलेको यो पहिलो पटक हो। रूसमा सालाहको इजिप्ट र मानेको सेनेगल दुवै समूहचरणबाट बाहिरिएका थिए। सिटीका बर्नाडो सिल्भा पनि विश्वकप पहिलो पटक क्लबको जर्सीमा देखिएका हुन्। सिल्भाको पोर्चुगल विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो । सिटीका अझै १५ खेलाडी विश्वकप बिदाबाट फर्किएका छैनन्।

मानेले दोस्रो हाफमा गरेको प्रदर्शनबाट प्रशिक्षक योर्गान क्लोप खुसी देखिएका छन्। 'दोस्रो हाफमा गरेको प्रदर्शनबाट म खुसी छु । पहिलो हाफ त्यति राम्रो हुन सकेन,' लिभरपुलका प्रशिक्षक क्लोपले भने, 'जब माने मैदान छिरे, खेल परिवर्तन भयो । उनीसँगै टोलीमा गरिएका सबै प्रदर्शनले हाम्रो खेल परिवर्तन भयो।'

लिभरपुलका प्रशिक्षक र सिटीका प्रशिक्षक पेप ग्वार्डिओला खेलका लागि प्रयोग गरिएको मैदानबाट खुसी थिएनन्। 'यो मैदानमा पास दिनुभन्दा थ्रो गर्नु राम्रो हुन्थ्यो,' मैदानबारे असन्तुष्टि पोख्दै प्रशिक्षक क्लोपले भने।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले पनि खेलाडी घाइते नभएकामा खुसी हुनुपर्ने अवस्था रहेको बताए। 'बार्सिलोनामा हुँदाको पहिलो सिजन मलाई यस्तो भएको थियो। त्यति बेला म धेरै रिसाएको थिएँ,' प्रशिक्षक ग्वार्डिओलाले भने, 'अहिले म धेरै परिपक्व भइसकेको छु। अरूको पक्षबाट पनि समस्या बुझ्ने प्रयास गर्छु। खेलअघि खेलाडी घाइते नहुन् भनेर प्रार्थना गर्छु।'

सिजनपूर्वको अभ्यास खेलका लागि अमेरिका भ्रमणमा रहेको लिभरपुल र सिटी दुवै टोलीमा मुख्य खेलाडी भने अनुपस्थित थिए। तथापि ग्वार्डिओलाले मुख्य खेलाडी बिदामा हुनुका सकारात्मक पक्ष पनि भएको बताए।

'बार्सिलोनाको एकेडेमीमा हुँदा मैले यो थाहा पाएको हुँ,' ग्वार्डिओलाले भने, 'जब क्लबका १६ खेलाडी राष्ट्रिय टोलीका लागि बिदा हुन्थे, हामी खुसी हुन्थ्यौं। यो क्लबका लागि राम्रो संकेत हो। पहिला यस्तो भएको थिएन । हाम्रो भविष्यका लागि यो राम्रो हो र यसलाई सकरात्मक रूपमा लिनुपर्छ।'

अर्को प्रिमियर लिगको क्लब टोटेनह्यामले एस रोमालाई ४–१ ले हरायो । माउरिसियो पोचेट्टिनोलाई सहज जित दिलाउने क्रममा फर्नान्डो लोरेन्टे र लुकास मोउराले २÷२ गोल गरे। टोटेनह्यामका क्रिस्टियन इरिक्सन, सन ह्युङ मिन र ड्याभिसन सान्चेज विश्वकप बिदा सकेर क्लबमा फर्किंदा ह्यारी केन, ह्युगो लोरिस, र डिले अली विश्वकप विदाबाट फर्किएका छैनन्। विश्वकपको सेमिफाइनलमा टोटेनह्यामका ९ खेलाडी खेलेका थिए। अगस्ट ११ मा न्युक्यास युनाइटेडविरुद्धको खेलबाट नयाँ सिजन सुरु गर्नका लागि प्रशिक्षक पोचेट्टिनो पक्का उपलब्ध हुन सक्ने खेलाडीमा बढी केन्द्रित भएका छन्।

'विश्वकपका कारण यसपालिको बिदा अरू बेलाको भन्दा फरक रह्यो। किनकि १२ महिनाको प्रतिस्पर्धात्मक खेलपछि खेलाडीलाई आराम चाहिन्छ,' टोटेनह्यामका प्रशिक्षक पोचेट्टिनोले भने, 'उनीहरूलाई २१ दिनभन्दा बढी आराम चाहिन्छ। यसले क्लबको तयारीमा असर त गर्छ तर हामीले यसलाई स्विकार्नुपर्छ। अरू लिगभन्दा हाम्रो केही चाँडो सुरु हुन्छ। हामी सबै एउटै समस्याबाट गुज्रिएका छौं। तर केही टोलीलाई धेरै समस्या छ।'

इटालियन महारथी युभेन्ट्सले जर्मन महारथी बायर्न म्युनिखलाई २–० ले हराउँदा म्यानचेस्टर युनाइेटडले एसी मिलानलाई पेनाल्टी सुटआउटमा ९–८ ले पराजित ग-यो। बेनफिकाले बोरुसिया डर्टमन्डलाई पेनाल्टी सुटआउटमै ४–३ ले हरायाे।

प्रकाशित: ११ श्रावण २०७५ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App