८ वैशाख २०८१ शनिबार
समाज

मलेसियामा उदयपुरे युवाद्वारा आत्महत्या

उदयपुर – उदयपुरका एक युवाले मलेसियामा आत्महत्या गरेका छन्। वैदेशिक रोजगारीका लागि ३ वर्षदेखि मलेसियामा कार्यरत ताप्ली गाउँपालिका ३ इनामेका २५ वर्षीय दिलबहादुर तामाङले कम्पनीदेखि केही टाढा जंगलमा झुण्डिएर आत्महत्या गरेको आफन्तले बताएका छन्। 

मलेसियाको जलान तिरामस्थित सब्स्को स्टील रिसाइकिल एचडीएन बीएचडी कम्पनीमा कार्यरत उनी ३ दिनअघि आत्महत्या गरेको अवस्थामा फेला परेको नातामा काका पर्ने भरत तामाङले बताए। उनका अनुसार सो काम्पनीमा दिलबहादुर र उनका भाइसँगै कार्यरत थिए। ‘त्यो दिन बिरामी छु, आराम गर्छु भन्दै ड्युटी नजाने भनेपछि भाई मात्र काममा गएछ’ भरतले भने, ‘भाइ ड्युटीबाट फर्कदा कोठामा नदेखेपछि खोज्दा नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरिसकेको फेला परेछ।’ 

मेसिनको अप्रेटर काम गर्ने उनको कमाई पनि राम्रै भएको तर, के कारण आत्महत्या गरे भन्ने कुरा नखुलेको बताइएको छ। तामाङका ७ वर्षीय छोरा र ३ वर्षीया छोरी तथा श्रीमति रहेको आफन्तको भनाई छ। विदेशिएको ३ वर्ष पुगेपछि कमाउने मुलीलेनै आत्महत्या गर्दा नाबालक छोराछोरी र श्रीमतिको बिजोग हुने काका भरतले बताए। ‘बच्चाबच्ची मसिनै छन्, श्रीमति पनि उमेरकी छिन्’ उनले भने ‘अब परिवारको लालनपालन र बालबच्चाको पठनपाठनमा पो समस्या हुने भयो।’  

मृतकको शव नेपाल फर्काउन जिल्ला समन्वय समिति उदयपुरस्थित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले परराष्ट्र मन्त्रालयमार्फत नेपाली दुताबासमा प्रक्रिया अघि बढाएको छ। भतिजको मृत्युको खबर पाउने बित्तिकै काका भरत सामी कार्यालय आएर लास नेपाल ल्याइदिन आग्रहसहितको निवेदन दिएपछि प्रक्रिया अघि बढेको सामी सूचना परामर्शदाता रमा मगरले बताइन्। 

सामीले लास ल्याउनसँगै कानुन बमोजिम मृतले पाउने क्षतिपूर्तिको व्यवस्था गर्न पनि कानुनी प्रक्रिया अघि बढाइसकेको जनाएको छ। सामी परियोजना संयोजक सोनाम राईले मृतकको लास ल्याउन परराष्ट्र मन्त्रालयमार्फत दुताबासलाई पत्राचार गरिसकेको र मृतकले पाउने कानुन बमोजिमको क्षतिपूर्ति परिवारलाई दिलाइदिन प्रक्रिया सुरु गरिएको बताइन्। 

प्रकाशित: ११ श्रावण २०७५ ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App