८ वैशाख २०८१ शनिबार
समाज

बढ्दै जघन्य अपराध

धनगढी - असार १२ गते बिहान कार्यालय जान निस्केकी गौरीगंगा नरपालिका ११ की २१ वर्षीया माया विक घर फर्किनन्। असार १५ गते त्यहींकै चपथली सामुदायिक वनमा हात पछाडि बाँधिएको, मुखमा सल कोचेको र नग्न अवस्थामा उनको शव फेला प-यो। गौरीगंगा नगरपलिका कार्यालयमा सामाजिक परिचालिकाका रुपमा कार्यरत विकलाई उनकै सहकर्मीले हत्या गरेको आरोप लागेको छ। यौनसम्पर्कको प्रस्ताव अस्वीकार गरेपछि सहकर्मी ३० वर्षीय गणेश बडुवालले २० वर्षीय भुवन खाती, २१ वर्षीय सुरज चौधरी, २७ वर्षीय मनोज बोगटी र १९ तपेन्द्र बोगटीलाई समेत मिलाएर विकको हत्या गरेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताएका छन्।

यस्तै असार २६ गते सामान किन्न अत्तरिया गएकी कञ्चनपुर कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी १७ वर्षीया कविता बिष्ट सम्पर्कविहीन भइन्। आफन्तले सोधखोज गर्दा ६ दिनपछि कृष्णपुर नगरपालिका २ लालझाडी मोहना वन क्षेत्रको अम्खैया खोलानजिक क्षतविक्षत अवस्थामा उनको शव फेला प-यो। सामूहिक बलात्कारपछि हत्या गरी उनलाई जंगलमा फालिएको प्रहरीले जनाएको छ। कृष्णपुर नगरपालिका २ वाणीका २१ वर्षीय मदन गिरी र २२ वर्षीय भरत बोहराले बलात्कारपछि उनको हत्या गरेको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठीले बताएका छन् । बिष्टका आफन्तले नवराज महरासमेत तीनजनाको नाममा किटानी जाहेरी दिएका छन्।

पछिल्लो समय बलात्कार, बलात्कारपछि हत्या र अवैध सम्बन्धका कारण हुने हत्याका घटना बढेको प्रहरीले जनाएको छ।

यसैगरी साउन ४ गते साँझसम्म घरमै देखिएका भजनी नगरपालिका–९ भुरुवाका ३५ वर्षीय नन्दु वादी भोलिपल्ट बेपत्ता भए। नन्दुको सोधखोज गर्दा श्रीमती निर्मला र उनका प्रेमी दिलिप राजी मिलेर हत्या गरेको खुल्यो। आफ्नै भतिजो नाता पर्ने दिलिपसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेका नन्दुले थाहा पाए। नन्दु रोजगारीका क्रममा हुम्लामा थिए । केही दिनअघि मात्रै फर्किएका नन्दुको मदिरा सेवन गरेपछि पत्नी निर्मलासँग विवाद भयो। विवादको भोलिपल्ट नन्दु बेपत्ता भएपछि प्रहरीले अनुसन्धानका क्रममा दिलीप र निमैलालाई पक्राउ गरेर बुझ्दा उनीहरुले नै हत्या गरेको स्विकारे। उनीहरुले दिएको सूचनाकै आधारमा साउन ८ गते नन्दुको शव घरनजिकैको प्रतीक्षा सामुदायिक वनमा खाल्डोमा गाडेको अवस्थामा भेटियो। उनीहरुले घरभित्रै नन्दुको हत्या गरेर साइकलमा बोकेर खाल्डोमा हालेको बताएका छन्। नन्दु र निर्मलाको १३ वर्षअघि बिहे भएको थियो। उनीहरुका दुई छोरा छन्।

उता असार ८ गते कैलालीको गोदावरी नगरपालिका–११ स्थित ससुराली घर गएका कञ्चनपुर पुनर्वासका २४ वर्षीय तेजबहादुर बिष्ट सोही दिन साँझदेखि सम्पर्कविहीन भए। आमा हीरा बिष्टले छोराको टोपी र जुत्ता ससुराली घरमै देखेपछि हत्या भएको आशंका गरिन्। हीराले उजुरी गरेपछि प्रहरीले खोजतलास गर्दा असार १२ गते चुरे गाउँपालिका–८ भासुभिरमा तेजको शव फेला प-यो। प्रहरीका अनुसार उनकै श्रीमती लक्ष्मी बडेलाले गोदावरी नगरपालिका–१२ खमौराका दीपक खत्रीमार्फत श्रीमान्को हत्या गर्न लगाएकी हुन्। दीपक लक्ष्मीको प्रेमी भएको प्रहरीले जनाएको छ । भारतको चेन्नईस्थित एक होटलमा काम गर्ने तेजबहादुर र लक्ष्मीको दुई वर्षअघि घरपरिवारको सहमतिमा ‘इंगेजमेन्ट’ र गत वैशाख १६ गते बिहे भएको थियो।

यसैगरी असार २० गते अछामको साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरे। साउन ३ गते कञ्चनपुरको पुनर्वास नगरपालिका ३ आईवाई आइडी बस्ने २४ वर्षीय सलिम अन्सारीले नौ वर्षीया बालिकालाई बलात्कार गरे। बलात्कारबाट गम्भीर भएकी उनी सेती अञ्चल अस्पतालमा उपचारपछि घर फर्केकी छन्।

यी असार यताका केही प्रतिनिधि घटना हुन्। पछिल्लो समय प्रदेश ७ मा जघन्य अपराधका घटनामा व्यापक वृद्धि भएको छ । प्रदेश ७ प्रहरी कार्यालयका निमित्त प्रमुख विक्रम चन्दका अनुसार असारमा मात्रै ९ जनाको हत्या भएको छ भने बलात्कारका १६ घटना भएका छन्। ‘पछिल्ला दिनमा जघन्य अपराधका घटना बढेका छन्’, उनले भने। जेठमा ८ जनाको हत्या भएको छ भने बलात्कारका ११ घटना भएका छन्।

कैलाली बहुमुखी क्याम्पसमा मनोविज्ञान विषय पढाउँदै आएका प्राध्यापक डा. राजेन्द्र शाह प्रविधिको विस्तार, अव्यावहारिक कानुन, कानुन कार्यान्वयनको फितलो पक्ष, संक्रमणकालीन समाज र स्थिर मनोविज्ञानले जघन्य अपराध बढ्दै गएको बताउँछन्। जघन्य अपराध गरेपछि पनि उन्मुक्ति पाउन सक्ने मनोदशा बोकेर अपराध गर्नेले योजना बनाउने गरेको उनले बताए।

प्रकाशित: ११ श्रावण २०७५ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App