७ वैशाख २०८१ शुक्रबार
विचार

सम्भ्रान्त सम्मतिको चाँजोपाँजो

प्रचलित शब्दकोशले समानार्थी कायम गरेका शब्दहरूको अर्थ ठ्याक्कै उही हुनुपर्छ भन्ने छैन । त्यसो हुँदो हो त फरक लवजको आवश्यकता नै पर्ने थिएन । प्रायश्चित्त, प्रार्थना वा आत्मशुद्धिका लागि अन्न, जल वा दुवै केही कालका लागि त्याग गर्नु उपवास हो । समयावधि लम्बियो भने उपवास तपस्या बन्न पुग्छ । त्यसैले उपवासलाई उत्सवको अवसरका रूपमा पनि लिन मिल्छ । अनशनलाई भने शब्दकोशले अन्यायका विरुद्ध असन्तोष व्यक्त गर्ने उद्देश्यले वा कुनै माग पूरा नहुन्जेल पूर्वसूचनाका साथ गरिने आहारत्यागको परिभाषा दिएको छ । अनशन पीडाको अभिव्यक्ति हो, त्यसैले त्यहाँ आक्रोश पनि देखिन सक्छ । अनशनकारीसँग पूर्वसर्त बेगर वार्ता, लेनदेन वा सम्झौता हुन सम्भव छ । त्यस अर्थमा लामो कालदेखि वीर अस्पतालमा आश्रय लिइरहेकी गंगामाया अधिकारीलाई अनशनकारी भन्न मिल्छ । सरकारले उनका केही सर्त स्वीकार गरेकाले हाल उनको अनशन स्थगनमा छ।

न्यायका लागि गरिने सत्याग्रहमा अन्नजल परित्याग नै गर्नुपर्छ भन्ने छैन । असन्तोष प्रकट गर्ने अन्य सबै तरिकाहरू निष्प्रभावी देखिएपछि वा शान्तिपूर्ण विरोधले अपेक्षित समर्थन नपाएपछि सुनुवाइका लागि सत्याग्रहीहरू अनशनमा बस्न बाध्य हुन्छन् । आत्मदाह जस्तै आमरण अनशन पनि फगत विरोध मात्र नभएर विद्रोहको तरिका हो जहाँ विद्रोहीले आफ्नै विरूद्ध हिंसाको बाटो अख्तियार गर्छ । व्यक्तिगत गुनासोका लागि गरिने अन्नजल त्याग एवं सार्वजनिक हितका लागि गरिने अनशनमा फरक के मात्र हो भने सत्याग्रहीले आफ्नो अन्तर्आत्मा बाहेक अरू कसैको कुरा सुन्दैन । सत्य एवं न्यायको आग्रहमा लेनदेनका लागि कुनै ठाउँ हुँदैन । आफ्नो मुद्दाले सार्वजनिक चेतनालाई जागृत गरिसकेपछि सत्याग्रहीले स्वयं अनशन तोड्न सक्छ । विषय अन्तै मोडियो वा मूल मुद्दाभन्दा अरू कुराले नै प्राथमिकता पाउन थालेपछि पनि अनशनकारी पछाडि फर्कन सक्छ । आफ्नो अन्तःस्करणबाहेक अरू कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने भएकाले सत्याग्रहीले सम्झौता भने गर्दैन।

सामाजिक सम्भ्रान्तले सर्वेसर्वा ओलीलाई राजा महेन्द्र, भानुभक्तको अवतार साबित गर्न लागिपरेका थिए। 

उही नभए पनि उस्तै मुद्दाका लागि पटक पटक भोक हडतालमा बस्ने बाध्यता बेहोरिरहेका चिकित्सक गोविन्द केसीको अडान, आवेश, आक्रोश एवं पीडाका लागि सत्याग्रहभन्दा अलि बढी तेजिलो शब्द खोज्नुपर्ने हुन्छ । अहिलेलाई भने उनको विद्रोह गर्ने शैलीलाई ‘गोविन्दाग्रह’ मात्र भने पनि पुग्छ । व्रजवासीहरूको रक्षाका निम्ति द्वापरयुगका गोविन्दले सिंगो गोवर्धन पर्वत औँलामा उठाएझैँ बाहुनयुगका चिकित्सक गोविन्द केसी नेपालका सबै विसंगतिहरू आफ्ना भोक  हडतालहरूद्वारा उन्मूलन गर्न उद्यत देखिन्छन् । उनको छत्रछायाँमा ओत लाग्न चाहनेहरूका बीच भने तँछाडमछाड छ । काठमाडौँका सप्ताहान्तका क्रान्तिकारीहरू उनी कहिले अनशनमा बस्नेछन् र आफ्नो जागरूकता देखाउन पाइनेछ भन्ने प्रतिक्षामा रहन्छन् । अन्तर्जालका लडाकाहरूका लागि गोविन्दाग्रह कोठामा बसी बसी आफ्नो विद्वता र बहादुरी दुवै एकैसाथ देखाउने मौका भइदिन्छ । विपक्षमा नेपाली कांग्रेस होस् वा नेकपा दोहोरोका घटकहरू, तिनले सहजै सहरिया मध्यमवर्गहरूबीच हाताहात बिक्ने राजनीतिक मुद्दा भेट्टाउँछन् । सामान्यजनलाई भने न त गंगामायाको अनशनले छोयो, न त चिकित्सक गोविन्दको पटक पटकको भोक हडतालले छोइरहेको देखिन्छ।

खाना, छाना, नाना मात्र होइन पिउने पानीका लागि समेत निरन्तर संघर्ष गर्नुपर्ने तथा आफ्नै बालबच्चालाई कुपोषण भएको देख्दादेख्दै केही गर्न नसक्ने सामान्यजनलाई रोगभन्दा भोक एवं शिक्षाभन्दा जसोतसो निर्वाहको चिन्ताले बढी पिरोल्ने रहेछ । त्यसकारण खसआर्यका नृजातीय मुख्तियार, नेकपा दोहोरोका अध्यक्ष एवं संसारको सबभन्दा दरिद्र देशहरूमध्ये एकका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई गोविन्दाग्रहबाट खासै डर छैन । उनको पिरलो के मात्र हुन सक्छ भने राष्ट्रवादका नाउँमा नृजातीयताको डोला सहर्ष बोक्ने गरेका मिडियाका कहारहरूले फेरि एकपटक काँधको भारी बिसाएर गोविन्दाग्रहको ओत लाग्न पुगेका छन् । पूर्वमाओवादी पुष्पकमल दाहालको राजनीतिक शक्तिको स्रोत आर्थिक क्षमता तथा समर्पित अनुयायी, अध्यक्ष शेरबहादुर देउवाको शासकीय प्रभावको मूल आधार आन्तरिक सैन्य सम्पर्क एवं अन्तर्राष्ट्रिय कूटनीतिक पहुँच भए जस्तै नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीको तागतको मुख्य सम्बल राष्ट्रवादको नारामा तत्कालै उचालिने लम्पट सर्वहारा एवं त्यसलाई निरन्तर तताइराख्ने अधिप्रचारको संयन्त्र (प्रोपगान्डा ऐपरैटस) रहने गरेको छ । त्यो खाँबो खस्कियो भने उनलाई आफ्नो राजनीतिक साख जोगाउन समेत गाह्रो पर्न सक्छ।

उलिनकाठको सवारी
सामाजिक सभ्रान्तले सर्वेसर्वा ओलीलाई राजा महेन्द्रको अवतार साबित गर्न लागिपरेका थिए । नेपाली साहित्यकारले उनमा भानुभक्तको अनुहार देख्न थालिसकेको थियो । गणतन्त्रको बयलगाडालाई नृजातीयतारूपी चन्द्रमामा पु¥याई छाडेकाले उनको अभूतपूर्व उपलब्धिको बिरुदावली गाउनेहरूको जमात बढ्दै थियो । मिडियाले पूरै साथ दिन नछोडे पनि उनको अधिप्रचार संयन्त्र वाचाल सहरिया मध्यम वर्गको दबाबमा आगोमा मैन पग्लिए जसरी सुस्तरी बगेर जान सक्छ । सर्वेसर्वा ओलीलाई नेकासँग कुनै डर छैन । उनलाई राम्ररी थाहा छ, पञ्चतन्त्रको भारण्ड पक्षीजस्तै मुख दुइटा भए पनि नेका एवं नेकपा दोहरोको पेट एउटै हो र त्यसलाई भर्ने उपाय नाफामुखी शिक्षा एवं स्वास्थ्यको विस्तार मात्रै हो । जलस्रोतको साटो ‘जनस्रोत’ निकासीलाई समृद्धिको मुख्य अवयव बनाएको देशमा छिटो पैसा कमाउन विप्रेषण रकम थुत्न जान्नुपर्छ । त्यसका लागि बालबच्चाको भविष्यप्रति चिन्तितले शिक्षामा एवं आमाबाबुको वर्तमानप्रति सचेतले स्वास्थ्यमा जत्ति पनि खर्च गर्न तयार हुन्छन् भन्ने कुरा नाफा क्षेत्रका लगानीकर्तालाई थाहा हुन्छ । त्यो अवसर अल्पतन्त्रका सञ्चालकहरूले सजिलै आफ्नो हातबाट फुत्किन दिने सम्भावना छैन। 

मान्छे मार्नुलाई सामान्य ठान्ने राजनीतिकर्मीहरूको सरकारको कोपबाट चिकित्सक गोविन्दको ज्यान जोगाउनु पर्छ। हठ नहुनेले अनशन गर्न सक्दैन। त्यसैले गोविन्दाग्रही चिकित्सकलाई अरू कसैले सम्झाउन सक्दैन। तर, उनी शिक्षक पनि हुन्। 

रुष्ट भएको जतिसुकै नाटक गरे पनि उदारवादको अर्थराजनीतिलाई ‘उदरवाद’ बनाएकाहरूको उदर पुष्ट छ । तिनका राजनीतिकर्मीहरूबारे सुरक्षा निकायले तयार पारेर राखेका जन्मकुण्डली पनि बाक्लै हुनुपर्छ । नेकाँले सार्वजनिक खपतका लागि प्रियतावादी नारा भलै उचालोस्, नाफा क्षेत्रको हित विपरीत त्यो दल जान सक्ने सम्भावना छँदैछैन भने पनि हुन्छ । सर्वेसर्वा ओलीको भय के मात्र हो भने एकताका उनी स्वयंले माओवादीहरूविरुद्ध परिचालन गर्न सघाएको राजधानीका सेतो कमिजवालाहरू (ह्वाइट सर्टस्) सडकमा ओर्लियो भने उनले खासै केही गर्न सक्नेछैनन् । सेतो कोटवाला चिकित्सक, कालो कोट भिर्ने वकिल, निलो बन्डी हाल्ने इन्जिनियर, मनलागी पोसाकमा पढाउने प्राध्यापक एवं लबेदा सुरुवालमा सज्जिने प्रशासक सडकमा ओर्लिए भने नेकपा दोहोरोको दुई तिहाइ बहुमत पनि कुनै काम लाग्नेछैन । मधेसमा पो सुरक्षा संयन्त्रले ताकी ताकी छातीमा गोली हान्थ्यो र राष्ट्रिय भनाउँदो मिडियाले तिनलाई हौँस्याउन ताली बजाउँथ्यो । काठमाडौँको के कुरा, पहाडको जुम्लामा समेत मिडियाकर्मीहरूले त्यसो हुन दिन सक्नेछैनन । अकवर इलाहाबादीको एउटा प्रसिद्ध उर्दु शेर छ ( ‘खींचो न कमानों को न तलवार निकालो, जब तोप मुकाबिल हो तो अखबार निकालो’ । सर्वेसर्वा ओलीका लागि सबै अखबार आफ्ना थिए । अब केही आफ्नो भए पनि सबै आफ्ना रहिरहन सक्ने सम्भावना घट्दै गएको छ । त्यसले गर्दा उनी अत्तालिएको हुनुपर्छ।

सर्वेसर्वा ओलीको राजनीतिक उलिनकाठ बोक्ने डोली मिडियाका कहारहरू मात्रै थिएनन् । बाहिरी वस्त्र रातो लगाए पनि पहेँलो लँगोट भने छोड्न नसकेका नरम हिन्दुत्वका प्रवर्धकहरूले सहजातीय खस समुदायका कुमाई बाहुनलाई उनको राजनीतिक पृष्ठभूमिका बाबजुद शंकाको लाभ दिने गरेका थिए । उनले त्यस सुविधाको राजनीतिक लाभ लिए, तर शंका निवारणका लागि कुनै काम गर्ने आँट जुटाउन सकेनन् । सर्वेसर्वा ओली मात्र होइन, उनको वैकल्पिक व्यक्तित्व (अल्टर इगो) दाहाल समेतलाई के हेक्का छ भने हिन्दुत्वको राजनीति दोधारे तरबार हो । एकातिर नाम उही रहिरहेसम्म हिन्दुत्वका कट्टर हिमायतीहरू कम्युनिस्ट कहलिन हच्किनेछन् भने अर्कोतिर जनजाति, दलित एवं मुसलमान मतदाता बिच्किने डर पनि उत्तिक्कै छ । माओवादी कोटाबाट अदालत छिर्दै सर्वोच्च पदसम्म पुगेर तत्कालीन एमालेको सहयोगमा महाभियोगबाट बच्न सफल एउटा पूर्वहाकिमले समेत निधारमा टीका लगाएपछि दोहोरो कम्युनिस्टलाई पछ्याई राख्न सक्दैनन् । दक्षिण अमेरिकाबाट टनका टन मरिच, इन्डोनेसियाबाट ट्रकका ट्रक ल्वाङ, दुबईबाट क्विन्टलका क्विन्टल सुन एवं चारैतिरबाट बिटाका बिटा विदेशी मुद्रा भित्र्याउँदै यताको माल उता गरेर मालामाल भएका कारोबारीहरू पनि आफ्ना सम्भाव्य संरक्षकलाई पत्याउन सकिरहेको देखिँदैन । व्यापारिक सहजताका लागि तिनले संघीयताको धुँवाधार विरोध गरेका थिए । कमजोर तुल्याउन सफल भए पनि बयलगाडामा सवार भएर चन्द्रमामा पुगेका नवगणतन्त्रवादीले संघीयतालाई रोक्न भने सकेनन् । स्वाभाविक हो, सेतो कमिजवालाहरूको दबाब बढ्दै गएपछि हिन्दुत्ववादी वा ‘कमाउनिष्ठ’मध्ये कोही पनि उनको प्रतिरक्षामा उत्रिने छैनन्।

सिन्डिकेट एवं कार्टेलका नाउँमा आर्थिक एवं व्यापारिक कारोबारमा एकाधिकार जमाएकाहरू पनि आफ्ना पूर्वप्रतिपालकसँग प्रसन्न रहिरहनुपर्ने कारण छैन । पूर्वमाओवादीहरूको एउटा ठूलो जमात तिनको एकछत्र साम्राज्यमा हमला गर्न थालेको छ । नेकपा दोहरोले वाईसीएल भनिने एकताकाका लडाका एवं युथ फोर्सका बाहुबलीहरूबीच औपचारिक एकता त गराउन सक्छ, तर छुट्टाछुट्टै अधीनस्थ क्षेत्र सञ्चालन गरेर हैकम चलाइरहेका प्रतिस्पर्धी गिरोहहरूको समायोजन सुरक्षा संयन्त्रका हाकिमबाहेक अरू कसैले गर्न सक्दैन । दुई तिहाइको सरकारले टेर्न छोड्ने पो हो कि भन्ने चिन्ताले गर्दा सर्वेसर्वा ओलीको प्रतिरक्षामा उनका परम्परागत बफादारहरू पनि सोझै मैदानमा उत्रिने सम्भावना तत्काल देखिँदैन । विदेशी दाताहरू प्रायशः काँतर हुन्छन् । शक्तिशाली सरकारलाई चिढाएर आफ्नो गतिविधि सञ्चालन गर्ने आँट तिनमा हुँदैन । गैसस नियन्त्रन गर्ने अभियानमा सर्वेसर्वा ओलीलाई झन् भारत र चीन दुवै छिमेकीहरूको समर्थन प्राप्त छ । उनको समस्या के भइदियो भने पूर्वएमालेको प्रत्यक्ष वा परोक्ष निर्देशनमा काम गर्ने गरेका गैससकर्मीहरू समेत जिल्ला प्रशासन कार्यालयमा गएर तारिख बोक्न अनिच्छुक छन् । ती आफ्ना नियमित वैदेशिक भ्रमणको विवरण कुनै सरकारी निकायको सुब्बा–खरिदारसामु प्रस्तुत गर्न चाँहदैनन् । राष्ट्रवादको लबेदाले छोपे पनि गैसस नियन्त्रणका प्रावधानहरूले गर्दा उर्धगामी वृत्तिकहरू (अपवर्डली मोबाइल आपरैटर्स) अत्तालिएका छन । एउटा कृषकाय चिकित्सकको गोविन्दाग्रहले सर्वेसर्वा ओलीको सिंहासन हल्लाउन थालेको महसुस हुन थालेको छ । तर के नवसम्राट्को अदृश्य श्रीपेच हावामा उछालिनेछ ? त्यस्तो सम्भावना भने तत्काल देखिँदैन । नेपालको स्थायी सत्ताले पुनः हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने परिस्थिति भने उत्पन्न हुन सक्छ।

बग्गीको तयारी
नियमित गोविन्दाग्रहले अरू केही नगरे पनि नेपाली राज्य–समाजका विसंगतिहरूलाई भने सतहमा ल्याइदिने गरेको छ । दलीय आदेशको कोर्राले हिर्काएर तीव्रपथद्वारा विनाकुनै बहस संविधान जारी गर्न लगाएकाहरूमा अचानक सांसदहरूको विवेक स्वतन्त्र हुनुपर्ने चेतना पलाएको छ । नब्बे प्रतिशतको बहुमतले चौबे थरधारी पण्डितलाई छब्बे उपनामको पुरेत तुल्याए पनि फरक पर्दैन भन्नेहरू सडकको जनादेश, सदनको मतादेश, सभागारको भद्रादेश एवं षड्यन्त्रका खोपीहरूबाट जारी हुने कडा आदेशहरूबीच फरक खुट्याउन सक्ने भएका छन् । संसद्लाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भन्दै उल्याउनेहरू आजभोलि संसदीय सर्वोच्चता जोखिममा परेको चिन्ताले थलिएका छन् । कुनै बेला ‘वर्ग शत्रु सफाया’ भन्दै व्यक्ति हत्या गर्दै हिँडेकाहरू संवैधानिक संघर्षको दुहाइ दिन थालेका छन् । बाँचे के के देखिन्छ भन्ने भनाइ त्यसै आएको होइन । लागु पदार्थ जत्तिकै दह्रो तर त्यसभन्दा निकै कम जोखिममा अझ बढी दिगो कमाइ सँगसँगै सार्वजनिक सम्मान पनि हुने अस्वस्थता उद्यम (इल्नस इन्डस्ट्री) राष्ट्रिय सार्वभौमिकताभन्दा शक्तिशाली भइसकेको कुरा नेकाँको विद्यावारिधि मण्डलीलाई थाहा नहुने कुरै छैन । अस्वस्थता उद्यमको स्वार्थलाई रोक्ने तागत दुई तिहाइको सरकारसँग पनि छैन । तर, शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी हुनुपर्छ भन्ने नारा हाताहात बिक्छ। 

सास लिने स्वच्छ हावा, सफा पिउने पानी, जीवन धान्ने न्यूनतम आहार एवं सम्मानका साथ स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने नागरिक सुरक्षाको प्रत्याभूति समेत गर्न नसक्ने सरकारलाई सार्वजनिक शिक्षा एवं जनस्वास्थको भारी पनि बोकाउनुपर्छ भन्ने नारा मन्त्री पदलाई सुशोभित गरिसकेकाहरूबाट पनि आउनु विडम्बना नै मान्नुपर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेर गएका छन्,  ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक !’ पानीहाज, रेल एवं पाइपबाट ग्यास जस्तै सर्वसुलभ एवं स्तरीय सार्वजनिक शिक्षा तथा स्वास्थ्य सेवा तत्कालका लागि आकाशको फल मात्रै हो । गोविन्दाग्रहको सीमित उद्देश्य नाफामुखी स्वास्थ्य शिक्षामा लगाम लगाउनु मात्रै हो । त्यसभन्दा पनि महत्वपूर्ण सार्वजनिक हितका मुद्दाहरू नभएका होइनन् । त्यस्तो बहसको भारी अनशनकारी चिकित्सकको काँधमा बोकाउन भने उपयुक्त हुँदैन । विषयान्तरले समाधान दिँदैन भन्ने कुरा लोकमानसिंह कार्कीको पदमुक्ति, गोपालप्रसाद पराजुलीको पदत्याग एवं सुशीला कार्कीविरुद्धको महाभियोग फिर्ता भएका प्रसंगहरूमा देखिसकिएको छ । त्यस्ता सबै मुद्दाहरू कतै न कतै गोविन्दाग्रहसँग जोडिएका भए पनि तिनको निक्र्याेल भने स्थायी सत्ताको अग्रसरता एवं स्वार्थ रक्षा गर्ने गरी भएको थियो । त्यस्तै पहल पुनः दोहोरिन सक्छ।

सन् २००५ को १२ बुँदे समझदारीले क्रान्तिको आधारभूमि तयार गरेको थियो । सन् २०१३ देखि सुरु भएको प्रतिक्रान्तिलाई १६ बुँदे षड्यन्त्रमार्फत सन् २०१५ मा पूर्णता दिइएको हो। त्यस ‘उपलब्धि’बाट पूर्ण सन्तुष्ट स्थायी सत्ताले नेपालको यथास्थिति खल्बलिन दिने सम्भावना अत्यन्त कम छ। अहिलेको परिस्थितिमा मान्छे मार्नेलाई सामान्य ठान्ने राजनीतिकर्मीहरूको सरकारको कोपबाट चिकित्सक गोविन्दको ज्यान जोगाउनु हो। हठ नहुनेले अनशन गर्न सक्दैन। त्यसैले गोविन्दाग्रही चिकित्सकलाई अरू कसैले सम्झाउन सक्दैनन्। तर, उनी शिक्षक पनि हुन्। सम्भवतः उनले टार्नै नसक्ने आग्रह शिक्षार्थी चिकित्सकहरूको हुन सक्छ। अर्को कुनै षड्यन्त्रमूलक कपट प्रबन्ध अघि नै गोविन्दाग्रहलाई भविष्यका लागि सुरक्षित राख्ने जिम्मेवारी चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थीहरूले लिनुको विकल्प देखिँदैन।

प्रकाशित: ११ श्रावण २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App