coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अनिल शाहको शतक

काठमाडौं – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ माथि २ सय २३ रनको फराकिलो जित हात पारेको छ।

लफ्टन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले अनिल शाहको शतकीय इनिङको मद्दतमा निर्धारित ५० ओभरको समाप्तिमा लन्डन–११ सामु ३ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

नेपालको स्कोरलाई उच्च बनाउन ओपनर अनिल शाहले १ सय १८ बल खेल्दै १९ चौका र ३ छक्का प्रहार गरेका थिए। उता किफायती बलिङ गर्दै नेपाललाई फराकिलो जित निकाल्न भेट्रान स्पिनर शक्तिप्रसाद गौचनले ९.५ ओभर बलिङ गरेर ५ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका थिए।

विशाल लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको घरेलु टोली इस्ट लन्डन–११ ले ३८.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १५ रन जोड्न सक्यो। लन्डन–११ का लागि ओपनर डारेन इरोनसाइडले सर्वाधिक ३८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यालने नेपाली बलरसामु खुलेर खेल्न सकेनन्। भाज पुरेवालले २२ रन जोड्दा आकाश राजीले अविजित २७ रन जोडे । लन्डन–११ का तीन ब्याट्सम्यान शून्यमा नै पवेलियन फर्किएका थिए।

कसिलो बलिङ गरेको नेपालका लागि भेट्रान स्पिनर शक्ति गौचनले सर्वाधिक ४ विकेट हात पार्दा करण केसी र ललितनारायण राजवंशीले समान २/२ विकेट र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका थिए।

तेस्रो अभ्यास खेलमा भने युवा स्पिनर सन्दीप लामिछाने टोलीमा समावेश गरिएका थिएनन्।

यसअघि पहिला ब्याटिङ गरेको नेपालका ओपनर शाहले १ सय ३१ रनको व्यक्तिगत स्कोर बनाउँदा शरद भेषावकर शतक बनाउनबाट २ रनले चुके। ५८ रन हुँदा ३ विकेट गुमाएको नेपालका लागि अनिल र शरदले चौथो विकेटका लागि २ सय १२ रनको साझेदारी गरेका थिए । यस्तै ८६ बल खेलेका शरदले ६ चौका र ५ छक्काको मद्दतमा ९८ रन बनाए। यस्तै सोमपाल कामीले २९ तथा रोहितकुमार पौडेलले ११ रन जोडेका थिए भने कप्तान पारस खड्का ४ रनमा नै आर्सलान खानको बलिङमा बोल्ड हुँदै पवेलियन फर्किएका थिए। करण केसी १३ तथा शक्तिप्रसाद गौचन ९ रनमा अविजित रहेका थिए।

बलिङतर्फ इस्ट लन्डन–११ का लागि आर्सलान खानले ३ तथा नबिल अजिजले २ तथा सागर जोशीले एक विकेट लिएका थिए।

यसअघिको दुई अभ्यास खेलमध्ये नेपालले ह्याम्पसायर हग्सविरुद्धको ५० ओभरको खेलमा नेपालले २ सय ४३ रनको फराकिलो जित हात पारेको थियो भने सेन्ट क्रससँग भएको ट्वान्टी–२० अभ्यास खेलमा १९ रनले पराजित भएको थियो।

नेपालले आइतबारबाट लर्ड्स क्रिकेट मैदानमा एमसिसी र नेदरल्यान्ड्स सम्मिलित ट्वान्टी–२० त्रिकोणीय शृंखला खेल्नेछ। यस्तै अगस्ट पहिलो साता नेदरल्यान्ड्ससँग एकदिवसीय मान्यता पाएपछिको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै छ। नेपाली टोलीले त्यही खेलको तयारीका लागि इङ्ल्यान्ड भ्रमण गरेको हो।

प्रकाशित: ११ श्रावण २०७५ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App