६ वैशाख २०८१ बिहीबार
अर्थ

वार्षिक १७ अर्ब आम्दानीको लक्ष्य

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे नेपाल वायुसेवा निगमकाे दाेस्राे वाइड बडी जहाज । तस्बिर : दिनेश गाेले /नागरिक

काठमाडौं - नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज आइपुगेको छ। दुई ठूलासहित निगमसँग अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न १३ थान जहाज भएका छन् । यति जहाज भएपछि निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ?

‘अवश्य सम्भव छ,’ निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बिहीबार नागरिकसँग भने, ‘अबको एक साताभित्र पहिलो वाइड बडी र दोस्रो वाइड बडीले अधिकतम दुई साताभित्र नियमित व्यापारिक उडान सुरु गर्नेछन् । तीन महिनासम्म पुरानै गन्तव्यमा उडेपछि जापानको टोकियो, दक्षिण कोरियाको सोल र साउदी अरबको रियाध उडाउँछौं । त्यसपछि आम्दानी वार्षिक १७ अर्ब पुर्याउने लक्ष्य लिएका छौं ।’निगमका अनुसार अब २ सय ७४ सिट क्षमतायुक्त दुईथान ‘ए३३०–२००’, १ सय ५८ सिटे दुइटा ‘ए३२०–२००’, १ सय ९० सिटे एकथान ‘बि७५७–२००’, ५८ सिटे दुईथान ‘एमए–६०’, १७ सिटे चारथान ‘वाई१२–ई’ र १९ सिटे दुइटा ‘डिएचसी६–ट्विनअटर’ जहाज भएका छन्।

उनका अनुसार पहिलो वाइड बडीले साउन १६ गतेबाट नियमित उडान सुरु गर्ने छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले एक-दुई दिनमै पहिलो वाइड बडीलाई उडान सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) दिने जानकारी गराएको छ । पहिलो वाइड बडीले गत सोमबार काठमाडौंबाट भारतको राजधानी नयाँदिल्लीसम्म ‘प्रुभिङ’ उडान गरेको थियो । दोस्रोले भने यस्तो उडान गर्नुपर्दैन । सिधै एओसी लिए हुन्छ ।
हाल निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी वायुसेवा कम्पनीलाई ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा दिएवापत वार्षिक १० देखि ११ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ । यो आम्दानीमा दुइटा वाइड बडी जहाज समेटिएका छैनन्।

– २ सय ७४ सिटे दोस्रो वाइड बडी जहाज बिहीबार काठमाडौं आयो
– दुइटा वाइड बडीको मूल्य २४ अर्ब रुपैयाँ, वार्षिक ब्याज २ अर्ब ४० करोड

‘दुइटा वाइड बडी जहाजले नियमित उडान गर्न थालेपछि वार्षिक आम्दानीमा न्यूनतम ६ देखि अधिकतम ८ अर्ब रुपैयाँ वृद्धि हुने हाम्रो बजार प्रक्षेपण छ,’ महाप्रबन्धक कंसाकारले भने, ‘अब तीन नयाँ गन्तव्य जापान, कोरिया र साउदी अरब उड्न थालेपछि अन्तर्राष्ट्रिय गन्तव्य ११ पुग्नेछन् । त्यसपछि आम्दानी बढ्दै जाने छ ।’निगमका अनुसार दुइटै वाइड बडी युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादन भएका हुन् । प्रत्येकमा जहाजमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास गरी २ सय ७४ सिट छन् । पहिलो वाइड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकालु’ नामकरण गरिएको छ । उड्डयन प्राधिकरणले पहिलोलाई  ‘९एन–एएलवाई’ र दोस्रोलाई ‘९एन–एएलजेड’ कलसाइन दिएको छ।

निगमले तयार पारेको व्यापारिक योजनाअनुसार जापान, कोरिया र साउदी अरबका लागि वाइड बडी जहाजबाट प्रत्येक साता तीन उडान सञ्चालन गरिनेछन् । काठमाडौंबाट कोरिया र जापान पुग्न सिधा आठ घन्टाभन्दा बढी उड्नुपर्छ भने साउदी अरब पुग्न पाँच घन्टाभन्दा बढी उड्नुपर्छ । जहाजको सिट भराइ दर (अकुपेन्सी) बढ्दै गए ती गन्तव्यमा उडान संख्या थप्दै जाने निगमको योजना छ ।‘पहिलो वाइड बडीको पहिलो उडान कतारको दोहाका लागि हुने छ,’ कंसाकारले भने, ‘दोस्रो वाइड बडीको गन्तव्य निश्चित गरिसकेका छैनौं ।’ वाइड बडीले जापान, कोरिया र साउदी अरब उडान नगरुन्जेल दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, दिल्लीलगायत गन्तव्यमा उडाइने उनले जानकारी दिए।

निगमले दुइटा वाइड बडी जहाजका लागि तीन किस्तामा गरी २४ अर्ब रुपैयाँ पठाएको थियो । पहिलो किस्ता २०७४ असार ३ गते ८ अर्ब, दोस्रो किस्ता गत असार १२ मा ८ अर्ब र अन्तिम किस्तावापत गत मंगलबार ८ अर्ब जहाज आपूर्तिकर्तालाई पठाएको थियो । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२÷१२ अर्ब रुपैयाँका दरले ऋण लिएर पठाएको हो । दुवैको वार्षिक ब्याज दर १० प्रतिशत छ । यो हिसाबमा निगमले दुइटा वाइड बडीलाई वार्षिक ब्याजमात्र २ अर्ब ४० करोड रुपैयाँ तिर्नुपर्छ ।निगमलाई जहाज आपूर्ति गर्ने अमेरिकाको एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता गरेको छ ।

निगमलाई जहाज बेच्ने ग्लोबल टेन्डर एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी ‘हाइफ्लाई एक्स’ को नाममा निगमले पैसा पठाएको हो । हाइफ्लाई त्यही कम्पनी हो, जसले एएआर कर्पोरेसनमार्फत जहाज बेच्न प्रस्ताव गरेको थियो । एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । निगमले पठाएको सबै रकम हाइफ्लाई एक्स र एएआरको आयरल्यान्डस्थित संयुक्त (एस्क्रो) खातामा गएको छ ।दुवै वाइड बडीलाई हाइफ्लाई एक्सकै पाइलटले उडाएर काठमाडौं ल्याएका थिए । । फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट जहाज सिधै काठमाडौं आएका थिए । त्यहाँबाट यहाँ आइपुग्न ९ घन्टा लाग्छ।

एउटा वाइड बडी जहाजलाई पूर्णक्षमतामा उडाउन सात सेट (१४ जना) पाइलट चाहिन्छ । निगमले भने हालसम्म महेश्वरमान (एमएम) डंगोल र श्रवण रिजालसहित ६ जना पाइलट तयार पारेको छ । ती ६ जनाले अहिले नै वाइड बडी कमान्ड गरेर उडाउन भने पाउँदैनन् । केही सय घन्टासम्म कमान्डर (क्याप्टेन) सँग फस्र्ट अफिसर (कोपाइलट) भएर उडेपछि मात्र क्याप्टेनका रूपमा जहाज कमान्ड गरेर उडाउन पाइन्छ ।‘केही अवधिका लागि विदेशी पाइलटले नै वाइड बडी जहाज उडाउनेछन्,’ महाप्रबन्धक कंसाकारले भने, ‘हामी विस्तारै आफ्नै पाइलट उत्पादन गर्दै जाने छौं ।’

प्रकाशित: ११ श्रावण २०७५ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App