८ वैशाख २०८१ शनिबार
समाज

साउदीमा अलपत्र नेपालीको उद्दार : पैसा कमाउन नपाएको भन्दा घर फर्कन पाएकोमा खुसी

साउदीमा ६ महिना लामो कहरपछि नेपाल फर्केका पौडेल । तस्विर : नागरिक

उदयपुर– विदेशमा पैसा कमाउने उद्देश्य लिएर समुद्र पार पुग्ने धेरै युवाहरु सपना तुहाएर बिल्लीबाठ हुनुपर्ने समस्याले नेपाललाई छाडेको छैन्। यस्तै सपना साँचेर वैदेशिक रोजगारीका लागि ६ महिनाअघि साउदी अरब पुगेका उदयपुरका एक युवा अलपत्र परेर बल्ल घर फर्कन सफल भएका छन्। 

म्यानपावर कम्पनीसँग मासिक साउदी रियल १ हजार ८ सय (नेपाली ५० हजारभन्दा बढी) पारिश्रमिक पाउने सम्झौता गरेर साउदी छिरेका बेलका नगरपालिका २ तपेश्वरीका भरतबहादुर पौडेल कमाउन त के घर फर्कन पनि ४ महिना लामो कुटनीतिक संघर्ष झेल्नु प-यो। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) उदयपुरको ४ महिना लामो अथक प्रयासपछि बल्ल पौडेल नेपाल फर्कन सफल भएका हुन्। 

३२ वर्षीय पौडेल ०७४ माघ अन्तिममा गाडी चालकको काम गर्ने गरी १ लाख ३० हजार रुपैंया म्यानपावर कम्पनीलाई बुझाएर साउदी गएका थिए। तर, उनी त्यहाँ पुगेपछि कम्पनीले काम दिन आनाकानी ग-यो। सम्झौतापत्र देखाउँदै तोकिए अनुसारको पारिश्रमिक पाउने गरी काम पाउनुपर्ने अडान लिएपछि उनलाई अर्को सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइयो। जसमा मासिक ९ सय रियल (२५ हजार रुपैंया) दिने सम्झौतामा उल्लेख थियो। 

त्यत्तिकै बस्नुभन्दा थोरै पैसामा भए पनि काम गर्ने सर्तमा उनले सम्झौतापत्रमा हस्ताक्षर गरे। तर, काम थालेको ३ महिनासम्म पनि उनले पारिश्रमिक नपाएपछि भोकै तिर्खै बस्न बाध्य हुनुप-यो। सम्झौता अनुसारको काम नपाएको र गरेको कामको पनि पारिश्रमिक नपाएपछि उनले नेपाल फर्काईदिन कम्पनीसँग आग्रह गरे, तर कम्पनीले टेरेन। पारिश्रमिक नदिने र घर फर्काउन पनि बेवास्ता गरेपछि पौडेलले उद्धारको गुहार माग्दै सामी परियोजनाको कार्यालयमा आफन्तमार्फत उजुरी दिए। 

सामीले उनलाई न्याय दिन पहल थालेकै बेला उनलाई काम गरेको तलब नदिनुका साथै कम्पनीबाटै निकालिनु प-यो। ‘ड्राइभरको काम गर्ने भनेर १ लाख ३० हजार रुपैयाँ माग्यो’ राजधानीस्थित ब्रोडवे ओभरसिजबाट साउदी गएका पौडेलले भने ‘तर, त्यहाँ पुगेपछि १८ सय रियल बेसिक तलब र ओटी (अतिरिक्त समय) दिने भनेर सम्झौता भए अनुसार काम र दाम कम्पनीले दिन मानेन।’ 

उनले सम्झौता अनुसारकै काम गाडी चलाउनुपर्ने भए पनि काम गरेको पैसा  नपाएपछि ४ महिनाअघि सामीमार्फत नेपालस्थित म्यापावर कम्पनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएको बताए। खाने, बस्ने र सुत्ने ठेगान नभए गाडीमै सुत्ने गरेका पौडेलले सामीको कार्यालयमा फोन गरी सहयोगका लागि आग्रह गरेका थिए। सामीकै प्रयासले म्यानपावर कम्पनीले टिकट काटिदिएपछि बुधबार साँझ उनी सकुशल नेपाल आइपुगेका छन्। 

नेपाल आएपछि पैसा नकमाएकोमा दुःख भन्दा सकुशल घर फर्कन पाएकोमा खुसी देखिएका छन्। ‘धन्न म आफ्नो देश फर्कन सफल भएँ’, उनले सामीलाई धन्यबाद दिदै भने ‘डेढलाख जति ऋण लागेको छ, तर पनि पैसा कमाउन नपाएकोमा दुख लागेको छैन, घर फर्कन पाएकोमा खुसी लागेको छ। पैसा त अन्य उपाय गरेर पनि कमाउन सकिन्छ, सकुशल घर फर्कन पाएकोमा धेरै खुसी लागेको छ।’ 

सामी उदयपुरकी सूचना तथा परामर्शदाता रमा मगरले ४ महिना लामो प्रयासले पौडेललाई नेपाल फर्काउन सफल भएको बताइन्। उनले म्यानपावर कम्पनीको कमजोरीले पौडेल घरको न घाट्को अवस्थामा पु¥याएको तर, निकै मेहनेतका साथ पहल गरेर नेपाल फर्काउन सफल भएको बताईन्। हाल नेपाल फर्काउन हवाई टिकट खर्च म्यानपावरले बेहोरिदिएको र केही समयपछि ८० हजार क्षतिपूर्तिवापत दिने मन्जुरी गरेको छ। 

चेतना अभाव र विदेशमोहले गर्दा धेरै युवाहरु जोखिमपूर्ण वैदेशिक रोजगारी गर्न बाध्य रहेको सामीले जनाएको छ। खासगरी म्यानपावर कम्पनी र दलाल बिचौलियाहरुको फन्दामा परेपछि युवाहरु वैदेशिक रोजगारीमा भविष्य जोखिममा पार्ने गरेको सामी परियोजना संयोजक सोनाम राई बताउँछिन्। उनले पछिल्लो समय सामीले बिबिध क्षेत्रबाट जिल्लाव्यापी सचेतना अभियान चलाएपछि अप्ठ्यारोमा परेका युवाहरु सुरक्षित हुने क्रम बढेको बताएकी छिन्।  

प्रकाशित: १० श्रावण २०७५ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App