५ वैशाख २०८१ बुधबार
समाज

स्क्रबटाइफस र डेंगुको संक्रमण घट्दै

चितवन – चितवनमा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो। गत आर्थिक वर्ष २०७४–०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो। आव २०७३–०७४ मा ५०९ जनामा स्क्रबटाइफस संक्रमण भेटियो। 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आव २०७४–०७५ मा २ हजार २३७ जनाको रगत परीक्षण गर्दा ४१० जनामा स्क्रबटाइफस पोजेटिभ देखियो। आव २०७३–०७४ मा एक हजार ६२६ जनाको नमूना परीक्षण गर्दा ५०९ जनामा स्क्रबटाइफस भेटिएको थियो। 

मुसामा हुने एक प्रकारको परजीविको टोकाइबाट यो रोग लाग्ने गर्दछ। घाँस तथा झाँडीमा जाँदा ‘माइट’ नामक उक्त परजीविले मानिसलाई टोकेमा स्क्रबटाइफस रोगको संक्रमण हुने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए। 

उनका अनुसार गत आर्थिक वर्षमा १ हजार ४८३ जनाको नमूना परीक्षण गर्दा ५९ जनामा डेंगु पोजेटिभ देखिएको थियो। आव २०७३–०७४ मा २ हजार ५६२ जनाको नमूना परीक्षण गर्दा ६८७ जनामा डेंगुको संक्रमण भेटिएको उनले बताए। 

एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्दछ। लामखुट्टेको टोकाइबाट बच्नुनै यो रोगबाट बच्ने उत्तम उपाय भएको केसीले बताए।   (रासस)

प्रकाशित: १० श्रावण २०७५ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App