coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सरकारी छाप र सही किर्ते आरोपमा २ पक्राउ

उदयपुर – सरकारी छाप र कार्यालय प्रमुखको किर्ते सही गरी जग्गा किनबेच गरेको आरोपमा उदयपुरमा २ जना पक्राउ परेका छन्। मालपोत कार्यालयको छाप र प्रमुखको हस्ताक्षर किर्ते गरेको आरोपमा त्रियुगा नगरपालिका ६ जलजलेका ३६ वर्षीय घुरन चौधरी र त्रियुगा ९ रातमाटेका ३२ वर्षीय रामप्रसाद भण्डारी पक्राउ परेका हुन्। 

जग्गा कारोबारी चौधरी लेखन्दास (लेखापढी व्यवसायी) भण्डारीलाई जग्गा किन्ने त्रियुगा नगरपालिका ११ की गीताकुमारी चौधरीलाई दिएको लालपुर्जा नक्कली र कार्यालयको छाप तथा हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। लालपुर्जा नक्कली र छापको दुरुपयोग गरेको तथा मालपोत अधिकृत नबराज खड्काको सही किर्ते गरेको आरोपमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मेघराज अधिकारीले बताए। 

उनका अनुसार नक्कली धनीपुर्जा थमाएर किर्ते सही र छाप ठोकी ठगेको उजुरी प्रहरीमा परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवैमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा लालपुर्जामा हानेको छाप र मालपोत अधिकृतको हस्ताक्षर किर्ते रहेको खुलिसकेको छ। 

गत असोज १० गतेको मितिमा खरिद बिक्री गरिएको जग्गाको लालपुर्जामा मालपोत कार्यालयको छाप दुरुपयोग भएको पाइएको प्रहरी ठहर छ। नक्कली कागजातमा सरकारी छाप कसरी प्रयोग भयो भन्ने विषयमा अनुसन्धान गर्दा लेखापढी व्यवसायीबाट भएको हुनसक्ने अनुमान प्रहरीको सत्यनजिक पुगेको छ। 

भण्डारी लेखापढी व्यवसायी भएको र उनकै बदमासीले छापको दुरुपयोग र मालपोत अधिकृतको हस्ताक्षर किर्ते भएको आशंका प्रहरीले गरेको छ। जग्गा पास गरेको केही दिनपछि ठगीएको सुईको पाएपछि गीता लालपुर्जा हरायो भन्दै मालपोत कार्यालय गएर प्रतिलिपि माग्दा उनको आशंका सही सावित भएको थियो। उनी मालपोत गएको सुईको पाएपछि भण्डारी र चौधरी गीतासँग गएर ‘जग्गा धनीले धोका दियो’ भन्दै लालपुर्जा फिर्ता माग्न थालेको चौधरीले बताइन् । 
‘जग्गा बेच्नेले हामीलाई नराम्ररी धोका दियो, लालपुर्जा फिर्ता देऊ भन्दै उनीहरु मसँग आए’ गीताले भनिन् ‘किनिसकेको जग्गाको लालपुर्जा फिर्ता माग्न आएपछि बदमासी गरे कि भन्ने शंका लागेर प्रहरीमा उजुरी दिएँ।’ ८ लाख रुपैयाँ हालेर जग्गा किने पनि लालपुर्जा पाएको तर, जग्गाधनी भने अहिलेसम्म नचिनेको गीताको भनाई छ। चौधरीले उनीहरुलाई २ किस्तामा ८ लाख रुपैयाँ बुझाएको प्रहरी बयानमा बताएकी छिन्। पहिले ५ लाख र जग्गा पास गरेपछि ३ लाख रुपैयाँ लिएपछि लालपुर्जा चौधरीको हातमा थमाएको प्रहरीले जनाएको छ। 

मालपोत अधिृकत खड्काले लालपुर्जामा भएको हस्ताक्षर आफ्नो नभएको दावी गरेका छन्। जग्गा किनेको लालपुर्जा हरायो भन्दै प्रतिलिपिका लागि मोलपोत कार्यालय आएपछि मात्र चौधरीको लालपुर्जा नक्कली भएको थाहा भएको खड्काले बताए। उनका अनुसार सक्कली हराएपछि नक्कल झिक्न आउँदा मोठमा नभेटिएपछि उनी ठगिएको पत्ता लागेको हो। पक्राउ चौधरी र भण्डारी दुवैलाई अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १० श्रावण २०७५ ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App