coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकः ढुक्क छैनन् स्थानीय

शुक्रबार सडक सिलान्यास गर्दै यातायात मन्त्री रमेश लेखक। तस्बिरः महेशकुमार दास

महोत्तरी–भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक स्तरोन्नति हुने भएको छ । सडक जीर्ण हुँदा वर्षौंदेखि सास्ती खेप्न बाध्य जिल्लावासी स्तरोन्नति हुने भएपछि खुसी देखिन्छन् तर ढुक्कै भने अझै हुन सकेका छैनन् ।

सडक कालोपत्रे आयोजनाको शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शिलान्यास गरे । मन्त्री लेखक शिलान्यासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद तथा नेताहरूको टोली लिएर जलेश्वर आएका थिए ।

४४ वर्षपहिले दुई लेन कालोपत्रे बनेको यो सडक आवश्यक रेखदेख र मर्मत अभावमा जीर्ण छ ।
पटकपटकको आन्दोलनपछि सडक चार लेन बनाई कालोपत्रे गर्ने भएपछि सर्वसाधारण खुसी छन् । विगतमा यो सडक निर्माणका लागि भएका पहल र प्रयास निरर्थक भएको देखेका स्थानीयबीच सडक बन्ने÷नबन्ने विषयमा अड्कलबाजी हुन थालेको छ ।
सडक स्तरोन्नति हुनेमा आशंका गर्ने ठाउँ प्रशस्तै रहेको यहाँका जानकार बताउँछन् । ‘यसअघि पनि पटकपटक यसैगरी सडक बन्ने कुरा चले पनि काम भएन, अहिले सडक बन्छ भनेर कसरी विश्वास गरौं,’ जलेश्वर–५ का ८७ वर्षीय व्यवसायी रामजतन साहले भने, ‘शिलान्यास भएकोमा खुसी लागेको छ तर काम सुरु नहुन्जेल सडक बन्नेमा विश्वास गर्न सकिँदैन ।’

पाँच वर्षअघि भारतीय ठेकेदारले भारत सरकारकै लगानीमा ६ लेनको कालोपत्रे सडक बनाउन काम सुरु गरेका थिए तर ठेकेदार कामै नगरी बेपत्ता भए । ‘पाँच प्रतिशत पनि काम नगरी भारतीय ठेकेदार बेपत्ता भए । ठेकेदारलाई खोजेर ल्याएर काम गराउन सरकारले चासो पनि दिएन । त्यसैले अहिले पनि सडक बन्छ भन्नेमा आँखा चिम्लेर विश्वास गर्न सकिँदैन,’ साहले भने, ‘भारतीय ठेकेदारले सडक बनाउन ल्याएका उपकरण अलपत्र छन् ।’
त्यतिबेला ६ लेनको भनिए पनि दुई वर्षअघि चार लेनको मात्र बनाउने निर्णय भएको थियो ।

स्तरोन्नति माग गर्दै स्थानीयले संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् । आन्दोलनको एक वर्ष बितेपछि मात्र सडक निर्माण ठेक्का भएको हो । सरकारको काम गर्ने सुस्त पारा हेर्दा सडक बन्नेमा यहाँका सर्वसाधारण निश्चिन्त हुन नसकिरहेको सरोज सिंह बताउँछन् ।  
२०२९ तिर भारत सकारको लगानीमा एक वर्षमै दुई लेनको सडक बनेको सम्झिँदै स्थानीय कमलेश सिंहले भने, ‘सोही सडक तीन वर्षमा बनाउने भन्नुले मनसाय उचित नरहेको स्पष्ट हुन्छ ।’

१८.५७ किमी उक्त सडकलाई दुई क्लस्टरमा बाँडेर काम गर्न तीन वर्ष अवधि तोकिनु आफैमा शंकास्पद हो । सडक स्तरोन्नति गर्न जारी आन्दोलन साम्य पार्न सरकारले शिलान्यासको नौटंकी गरेको सिंहको बुझाइ छ ।

‘जहाँ नयाँ सडक निर्माण हुन्छ, त्यहाँ पो शिलान्यास गरिन्छ तर यो पुरानै सडकलाई कालोपत्रे गर्ने नाममा  शिलान्यास गर्नु हास्यास्पद हो । तामझामभन्दा पनि काम द्रुत गतिमा भए जनतामा सडक बन्ने विश्वास जागेर आउने थियो,’ सिंहले भने, ’वर्तमान सरकार नौ महिनापछि परिवर्तन हुने भएकाले फेरि पनि काम बीचमै नरोकिएला भन्न सकिने अवस्था छैन ।’

अहिले सरकारले चुनाव केन्द्रित भएर यो सडक अघि बढाउन लागेजस्तो अनुभूति सर्वसाधारणमा भएको जलेश्वर– ५ का मनोज साहले बताए ।
भारत सरकारको सहयोगमा २०२९ सालमा यो सडक निर्माणसँगै कालोपत्रे भएको स्मरण गर्दै स्थानीय प्रह्लाद साहले भने, ‘त्यतिबेला यो सडक खण्डमा पर्ने रातो पुल, बिग्ही पुललगायत आधा दर्जन पुलेसा पनि बनेका थिए ।’

अहिले सडक कालोपत्रे गर्नलाई मात्र तीन वर्षको अवधि तोकिएको छ । दुवै ठेकेदारले एकैपटक काम थाले ९÷९ किलोमिटर सडक कालोपत्रे गर्न एक डेढ वर्षभन्दा बढी समय नलाग्ने उनी बताउँछन् ।

सडक दुई प्याकेजमा निर्माण हुनेछ । प्योकज १ अन्तर्गत जिरोमाइलदेखि ९ किमी सडक कालोपत्रे गर्न प्रतिभा वाइपिजेभी कम्पनीसँग ४३ करोड ५४ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । प्योकज २ अन्तर्गत ९ किलोमिटरदेखि १८.५६ सम्म कालोपत्रे गर्ने ठेक्का आशिष पप्पु रोशन जेभीले पाएको छ । कम्पनीले ४९ करोड ८९ लाख २० हजार रुपैयाँमा ठेक्का पाएको छ ।

शिलान्यास कार्यक्रममा मन्त्री लेखकले यो सडक नेपाल सरकारकै लगानीमा निर्माण हुने भएकाले पैसाको कुनै कमी नहुने दाबी गरेका थिए ।
छ वटा सडक नेपाल सरकारको साढे पाँच अर्ब बजेटबाट बन्ने निर्णय भइसकेको जानकारी दिँदै मन्त्री लेखकले भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको खुलाए ।  

सडक विभाग, हुलाकी राजमार्ग आयोजनाबाट बन्ने यो सडक चार लेनको कालोपत्रे हुने जनाइएको छ ।
माग सम्बोधन नभएकाले पूर्वघोषित कार्यक्रमअनुसार यातायात सेवा ठप्प पारिएको संघर्ष समतिका संयोजक रामकुमार शर्माले बताए ।
शनिबार बिहानैदेखि संघर्ष समिति पक्षधरले उक्त सडकका चोकचोकमा टायर बालेर गाडी चल्न दिएनन् । सार्वजनिक यातायात ठप्प पारिएपछि गन्तव्यतर्फ हिँडेका यात्रुले सास्ती पाए ।
 

प्रकाशित: २६ भाद्र २०७३ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App