coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बैठकमात्र भए, निस्किएन समाधान

पशुपतिनगरको फाटकमा भारतले दसगजामा बनाएको गुम्बा । यो गुम्बा अहिले निर्माण सम्पन्न भइसकेको छ । तस्बिर :भीम/नागरिक

इलाम - भारतीय सीमासँग जोडिएको पूर्वी नेपालको दसगजा वर्षाैंदेखि भारतीय पक्षबाट अतिक्रमणमा परे पनि समस्या समाधान गर्न बैठक बस्नेबाहेक केही प्रयास हुन सकेको छैन।

यही विषयलाई मुद्दा बनाएर झापा, इलाम, दार्जिलिङ, सिलिगुडीलगायत स्थानमा पटकपटक दुवै देशका सुरक्षा निकायबीच बैठक बसे पनि ठोस काम भने केही हुन सकेको छैन।

सीमाकै विषयलाई लिएर नेपाल–भारत गृहसचिवस्तरको बैठक हरेक वर्ष आयोजना गरिन्छ । यसपटक पनि आउँदो सेप्टेम्बरमा सचिवस्तरको बैठक बस्ने तय भएको छ । तर, वर्षाैंदेखिको सीमा अतिक्रमण र सीमाक्षेत्रको सुरक्षाबारे बैठकमा छलफल र कागजी निर्णय भइरहे पनि कार्यान्वयन हुन सकेको छैन । सीमा सुरक्षाको निर्णय कार्यान्वयन नभएकै कारण भारतीय पक्षले बेलाबेलामा दसगजा अतिक्रमण र नेपाली भूमिमा आएर ‘रजाइँ’ गर्ने गरिरहेको छ । दसगजामा पक्की संरचना बनाउनेदेखि सीमास्तम्भ गायब पार्ने क्रम चलिरहे पनि सीमा स्पस्ट गर्ने काम नेपाल–भारत दुवै पक्षबाट हुन सकेको छैन ।

दसगजा मिच्नेमात्र होइन, खुला सीमा भएका कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवान पटकपटक नेपाली भूमि छिरेर जंगलबाट घाँसदाउरा गर्ने, घरपालुवा र वन्यजन्तुसमेत लैजाने गरेको स्थानीयको गुनासो छ । तर, जिल्लास्थित सुरक्षा निकायले भने भारतीय समकक्षीसँग बैठकबाहेक समस्या समाधानको प्रयास गर्न सकेको छैन । सीमास्तम्भ संरक्षण र सीमा अतिक्रमणबारे जिल्लास्थित सुरक्षा निकायको सधैंको जवाफ छ, ‘हामीले सीमाको अवस्थाबारे माथिल्लो तहमा जानकारी गराएका छौं, सुरक्षा बैठक बसेका छौं ।’

गत वर्ष भारतीय पक्षले पूर्वी पशुपतिनगरमा पुरानो कच्ची गुम्बा मर्मतका नाममा नयाँ तर पक्की गुम्बा बनायो । गुम्बा निर्माण नहुँदैदेखि स्थानीयले जिल्ला प्रशासन र मन्त्रालयस्तरमा समेत निर्माण रोक्न पहल गरे । तर, गुम्बा बनाउने क्रम रोकिएन । यो पछिल्लो उदाहरणमात्रै हो । यसअघि पटकपटक भारतीय पक्षले दसगजामा विद्यालय भवन बनाउनेसम्मका काम गर्दा पनि नेपाली पक्षले त्यसलाई रोक्न सकेको थिएन । संरचना निर्माण हुन थालेपछि सुरक्षा बैठक बस्ने तर प्रभावकारी काम नहुने क्रम पनि चलिरहेकै छ ।

जिल्लाका श्रीअन्तु, सन्दकपुर, माबु, जमुना जोगमाई, माइमझुवालगायतका भारतीय सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित आउँदा पनि नेपाली पक्ष चुपचाप छ । स्थानीयलाई गाली, कुटपिट गर्ने क्रम पछिल्लो समय केही कम भए पनि स्थानीय सर्वसाधारण त्रसित भएर जीवन बिताउन बाध्य छन् ।

‘खुला सीमा भएकाले भारतीय पक्षले नेपाल छिरेर जे मन लाग्यो त्यही गरे पनि हामीले हेर्नबाहेक केही गर्न सकेका छैनौं,’ मानेभञ्ज्याङका टासी शेर्पाले भने, ‘प्रहरीलाई खबर त दिन्छौं तर अवस्था भने जस्ताको जस्तै छ ।’ स्थानीय सामुदायिक वनमा दाउरा खोज्न, वन्यजन्तु शिकार गर्न र गाउँबाट सागसब्जी किनेर लैजान पनि एसएसबीका जवान आउने गरेको स्थानीय बताउँछन्।

यसरी आएका एसएसबीका जवानलाई कहिलेकाहीँ स्थानीय सर्वसाधारणले समेत कुटपिट नगरेका होइनन् । जिल्लाको छब्बिसेछेउको टासीगाउँका बासिन्दाले केही महिनाअघि एक एसएसबी जवानलाई समातेर कुटपिट गरेका थिए । नेपाली भूमिमै आएर स्थानीय व्यापारीमाथि खानतलासी गर्न थालेपछि उनीहरूले एसएसबी जवानलाई कुटपिट गरी प्रहरीमा बुझाएका थिए ।

भारतीय भूमि छोएको जिल्लाको सन्दकपुरदेखि जिर्मलेसम्मको दूरीमा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । जैविक विविधतामा संवेदनशील र पर्यटकीय हिसाबले महत्वपूर्ण नेपाली गाउँमा सुरक्षा निकायको उपस्थिति ज्यादै पातलो भएकाले पनि सीमाक्षेत्र असुरक्षित भएको हो।भारतपट्टि ३–३ किलोमिटरमा एसएसबी क्याम्प रहे पनि नेपालपट्टि भने सुरक्षा व्यवस्था राम्रो छैन । छिटफुट रहेका प्रहरी चौकीमा असईको कमान्डमा ६–६ प्रहरीमात्रै बस्छन्, त्यो पनि सीमाभन्दा निकै टाढा । भारतपट्टि सुरक्षा निकायको बाक्लो उपस्थिति रहे पनि नेपालपट्टि नदेखिएको सन्दकपुरका पेम्बाडन्डु शेर्पाले बताए । उनले सुरक्षा निकाय नहुँदा जोखिम मोलेर विभिन्न व्यवसाय गर्नुपरिरहेको पनि सुनाए ।

नापी विभागको टोलीले गत कात्तिकमा स्थलगत अध्ययन र नापजाँच गरी भारतले केही स्थानमा दसगजा मिचेर संरचना बनाएको पत्ता लगाएको थियो । दसगजामा सीमास्तम्भको दुवैपट्टि ३०–३० फिटको भूभागमध्ये भारतपट्टिको भागमा संरचना बनेको टोलीको भनाइ थियो । पशुपतिनगर नजिकैको दसगजामा भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य ४–५ घरटहरासमेत बनाइसकेको टोलीले भेटेको थियो । भारतले ७१-६, ७१-७ र ७१-८ नम्बर सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा पनि बनाएको पाइए पनि गुम्बा निर्माण रोकिएन।

केही वर्षअघिकै अध्ययनले पूर्वको मानेभञ्ज्याङदेखि जिर्मलेसम्म ४५ सीमास्तम्भ गायब भएको पाएको थियो । भूमिसुधार तथा व्यवस्थापन विभागले पटकपटक पूर्वी क्षेत्रका सीमास्तम्भ अध्ययन गरी प्रतिवेदन तयार गरेर प्रतिवेदन बुझाएको भए पनि अवस्था सुध्रिएको छैन ।

२०७० असारमा भूमिसुधार तथा व्यवस्थापन विभाग र भारतको दार्जिलिङस्थित समकक्षी निकायको संयुक्त टोलीले गरेको अनुगमनमा जिर्मलेका ८०, ८१ र ८२ नम्बरका ३ ठूला सीमास्तम्भ (जङ्गे पिलर), १० सब्सी हाइरी पिलर (एसपी) र २९ माइनर पिलर (एमपी) गायब पाइएका थिए । हराएका सीमास्तम्भको संकेतका लागि राखिएका ३ रिफ्लेक्ट पिलर (आरपी) पनि पत्ता लागेका थिएनन् । यो क्षेत्रमा तीनै प्रकारका १ सय ७ सीमास्तम्भ हुनुपर्ने विभागले जनाएको थियो । तथ्यांकमा ५ ठूला सीमास्तम्भ, ४३ एसपी र ४५ एमपी हुनुपर्नेमा भएका सीमास्तम्भ पनि मर्मत गर्नुपर्ने अवस्थामा पाइएका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आउँदो गृहसचिवस्तरको वार्तामा सीमाबारे छलफल हुने बताए । ‘गत जेठ २० मा पनि हामीले झापामा बैठक गरेर सीमाको पछिल्लो अवस्थाबारे माथिल्लो तहमा जानकारी गराएका छौं,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा सुरक्षा एकाइ राख्न पनि सिफारिस गरेका छौं ।’ उनले सीमाक्षेत्रमा सशस्त्र प्रहरी एकाइ राख्ने तयारी अघि बढेको पनि बताए । प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले सीमा क्षेत्रको दुई स्थानमा प्रहरी एकाइ राखिसकेको जनाए ।
 

 

प्रकाशित: १० श्रावण २०७५ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App