coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

युनाइटेडको क्षमताबारे माउरिन्हो मौन

लन्डन – प्रशिक्षक जोजे माउरिन्होले आगामी सिजन म्यानचेस्टर युनाइटेडसँग इङ्लिस प्रिमियर लिगको उपाधि जित्न सक्ने क्षमता भए नभएकोबारे बोल्न अस्वीकार गरेका छन्।

युनाइटेडले नयाँ सिजनको लागि ६ करोड ८० लाख पाउन्ड खर्च गरेर तीन खेलाडी अनुबन्धित गरेको छ । ५८ वर्षे माउरिन्हो अझै दुई नयाँ खेलाडी भित्र्याउने योजनामा छन् । युनाइटेड लिग उपाधि जित्न सक्षम छ भन्ने प्रश्नमा माउरिन्होले भने, ‘म यो प्रश्नको जबाफ दिन्नँ।’

सञ्चारकर्मीले किन भनेर सोधेको प्रश्नमा माउरिन्हो मौन बसेका थिए । गत सिजन सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले लिगको उपाधि उचाल्दा युनाटेड उपविजेता बनेको थियो । लिगमा विजेता सिटीभन्दा १९ अंकले पछि परेको युनाइटेड एफए कप फाइनलमा पनि चेल्सीसँग पराजित भएको थियो । युनाइटेडले नयाँ सिजनका लागि गरेको ठूलो सम्झौता भनेको फ्रेडलाई ४ करोड ७० लाख पाउन्डमा भित्र्याउनु हो। 

युनाइटेड चेल्सीका ब्राजिलियन मिडफिल्डर विलियान,  इन्ट्य्राक्ट फ्रांकफर्टका क्रोएसियाली विंगर एन्टे रोविच र टोटेनह्यामका बेल्जियम रक्षक टोबे एल्डरविल्डलाई भित्र्याउने योजनामा छ । अमेरिका भ्रमणमा आएको नतिजाबाट युनाइटेड प्रशिक्षक माउरिन्हो सन्तुष्ट छैनन् । तथापि खेलाडीहरू विश्वकपको बिदामा रहेकाले माउरिन्होसँग सिनियर टोलीका केही खेलाडी मात्र उपलब्ध थिए।

विश्वकपमा युनाइटेडका १२ खेलाडीले सहभागिता जनाएका थिए भने ८ खेलाडीले सेमिफाइनल खेलेका थिए । प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामका पनि १२ खेलाडीले विश्वकपमा सहभागिता जनाएका थिए भने साबिक विजेता सिटीका १६ खेलाडीले रूसमा खेलेका थिए । ‘अगस्ट ९ मा सरुवा बजार बन्द हुँदासम्म हामीसँग धेरै खेलाडी हुने छैनन् । थोरै खेलाडी मात्र हामीले लिन सकेका छौं । त्यसैले म खुसी छैन,’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने।

युनाइटेडका पूर्वमिडफिल्डर पाउल स्कोल्सले २१औं प्रिमियर लिगको उपाधि जित्न टोलीलाई धेरै कठिन भएको बताए । ‘युनाइटेडले कुनै पनि उपाधि जित्न नसक्नु ठूलो कमजोरी हो,’ ओल्ड ट्राफोर्डमा ११ लिग उपाधि जितेका ४३ वर्षे स्कोल्सले भने, ‘माउरिन्होले लिग जित्न सक्दो प्रयास गरेका छन् । तर यहाँ अरू पनि थुप्रै राम्रा टोली छन् । त्यसैले यो उपाधि जित्न कठिन छ।’

 

प्रकाशित: १० श्रावण २०७५ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App