वेलिङटन – न्युजिल्यान्डले अक्टोबरमा पाकिस्तानविरुद्ध हुने तीन टेस्टको शृंखलाका लागि बुधबार घोषणा गरेको १५ सदस्यीय टोलीमा स्थान बनाउन स्पिनर अजाज पटेल सफल भएका छन्।
न्युजिल्यान्डको घरेलु प्रतियोगितामा पछिल्लो तीन वर्ष लगातार सर्वाधिक विकेट लिने खेलाडी बनेका २९ वर्षे पटेल २०१७ मा घरेलु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका थिए।
मुम्बईमा जन्मिए पनि बाल्यकालमै न्युजिल्यान्ड बसाइँ सरेका स्पिनर पटेलले पछिल्लो सिजन सेन्ट्रल स्टागका लागि २१.५२ को औसतमा ४८ विकेट लिएका थिए । मिचेल सान्टनर घाइते भएपछि पटेललाई टोलीमा समावेश गरिएको प्रमुख छनोटकर्ता गाभिन लार्सनले बताए।
‘पछिल्ला वर्षमा घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनलाई टोलीमा समावेश गरिएको हो,’ लार्सनले भने, ‘घुँडाको चोटका कारण मिचेल सान्टनरले खेल्ने निश्चत छैन । त्यसैले उनको स्थानमा पटेललाई समावेश गरिएको हो ।’
त्यस्तै लार्सेनले टम ब्लन्डेललाई वैकल्पिक विकेटकिपरका रूपमा टोलीमा समावेश गरिएको बताए।
प्रकाशित: १० श्रावण २०७५ ०५:०१ बिहीबार