coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खलंगालाई लोडसेडिङ्ग मुक्त गर्न पहल

जुम्ला – बर्षेनी न्युनतम १२ देखि अधिकतम २२ घण्टासम्म लोडसेडिङ्ग खेप्दै आएका जुम्ला खलंगावासीले केहि समय पछि चौबिसै घण्टा विजुली आएको देख्ने भएका छन्।  अन्धकार झेल्दै आएका सदरमुकाम खलंगाबासी छोटो समयमै उज्यालो देख्न पाउने भएपछि खुसी छन्। २०४० सालमा स्थापना भएको साना जलविद्युत आयोजनाको मर्मत तथा नयाँ जेनेरेटर जडान गर्न लागिएकाले उनीहरु लोड सेडिङ्गबाट छुटकारा पाउने भएका हुन्। ‘अबको केहि दिनपछि जुम्ला सदरमुकाम लोड सेडिङ्गमुक्त हुँदै छ’, साना जलविद्युत उपभोक्ता समितीका अध्यक्ष विष्णु बुढ्थापाले भने, ‘नगरवासीको उज्यालो सपना पुरा हुने छ।’

साना जलविद्युत उपभोक्ता समितिले १ सय २० किलोवाटको दुईवटा नयाँ जेनेरेटर ल्याएर जडानको कार्य थालेको छ। नयाँ जेनेरेटर जडानको प्राविधिकको टोली जुम्ला पुगिसकेको छ।  ‘केहि सामान अपुग भएका कारण समस्या भएको छ’, अध्यक्ष बुढ्थापाले भने,‘अबको केहि दिनभित्र सामान आउने वित्तिकै काम सुुरु हुन्छ।’  भारतको पासिमेसीनरी टुल्स जेभी कम्पनीबाट दुईवटा नयाँ जेनेरेटर ल्याइएको उनले बताए।

हाल १ सय ३० किलोवाट विजुली उत्पादन भएको बताउँदै उनले पुराना उपकरण खिया लागेकाले नयाँ जेनेरेटर जडान गर्न लागिएको बताए। नयाँ र पुरानो गरि ४ सय किलोवाट विजुली उत्पादन हुने साना जलविद्युत उपभोक्ता समितिले जनाएको छ। समितिले अनुमान गरेजति विजुली उत्पादन भएमा हालको लोड सेडिङ्ग अन्त्य हुने विद्युत समितिका सचिव रतनवहादुर रोकायाले बताए।

साउन महिनाको दोस्रो सातादेखि नयाँ जेनेरेटर जडान कार्य सुरु हुने भएकाले साउन मसान्तसम्म अध्याँरोमुक्त नगरपालिका बनाउने लक्ष्य रहेको उनले बताए। भारतिय राजदूतावासको २ करोड ६३ लाख र समितिको आफ्नै लगानी गरेर ३ करोड ५० लाखमा नयाँ जेनेरेटर खरिद गरिएको हो। जेनेरेटरको ढुवानीदेखि जडानसम्मको खर्च ३ करोड ५० लाख रुपैयाँमा टेण्डर आह्वान गरिएको थियो।

विद्युत लाइन विस्तारबाट संकलित रकमले टान्सफार्मर जडान गर्ने र बचेको रकम कम्पनीलाई दिइने छ। नगरपालिकामा २ हजार ७ सय उपभोक्ता छन्।  सबै उपभोक्तलाई पुग्ने विजुली उत्पादनमा जोड दिन लागिएको हो।

प्रकाशित: १० श्रावण २०७५ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App