८ वैशाख २०८१ शनिबार
विचार

उबुन्तु, मन्डेला र ओली

बागमती छेउमा ललितपुरस्थित हाम्रो वासस्थानसँगै युएन पार्क जोडिएको छ। यहाँ हामी करिब तीन वर्षदेखि बसिरहेका छौँ। म प्रत्येक बिहान यस पार्कमा डुल्न जान्छु । अस्ति मात्रको कुरो हो, म आफ्नो धुनमा यस पार्कमा डुलिरहेको थिएँ। म नजिकै एक जना वयस्क पुरुष हातमा मोबाइल फोनमा एफएममार्फत समाचार सुनिरहेका थिए, “डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गइरहेको छ” समाचार सुन्ने महानुभावको मुखबाट निस्कियो, “मारिदिने भए यो डाक्टरलाई ।” सँगै डुलिरहेका उनका साथीले समर्थनमा आफ्नो अभिव्यक्ति दिए, “हजारौँलाई मारेकै हो, यिनलाई पनि मारिदिने भए ।” यी दुवै सचेत नागरिकहरूका अभिव्यक्तिमा असीम निराशाको बोध हुन्थ्यो । भनिन्छ, एउटा असल नेतृत्वले आफ्नो नागरिकमा सधँै उच्च मनोबलको अवस्थाको सिर्जना गरेको हुन्छ । देशवासीको मनमा निराशा आउन नदिनु राज्यको प्रमुख दायित्व हो। हाम्रा सहयोगी देशहरूले हामीलाई आर्थिक एवं शैक्षिक लगायत विभिन्न किसिमले मद्दत गर्न सक्छन् । तर आम नागरिकमा चाहिने आफ्नै राष्ट्रप्रतिको “आशा” हामीले विदेशबाट आयात गर्न सक्दैनौँ।

हालको सरकार लोकतान्त्रिक पद्धतिबाट ५ वर्षका लागि जनताबाट वैैधानिकता प्राप्त हो। आम नागरिकजस्तै म अर्काे पार्टीको सदस्य भए पनि अप्रत्याशित बहुमत हासिल गरेको यस सरकारले वर्षाैंदेखिको राजनीतिक तरलताबाट राष्ट्रलाई निकास दिन्छ कि भन्ने “अपेक्षा गरेको थिएँ” तर अहिलेसम्मको सरकारको क्रियाकलापहरूले म जस्ता लाखौँ सामान्य देशवासीको भावनामा गम्भीर कुठाराघात गरेका छन्।

“भयमुक्त समाजको निर्माण” लोकतान्त्रिक व्यवस्थाको प्रमुख चरित्र मानिन्छ । राज्य र जनताको बीचमा बलियो विश्वासको वातावरण सिर्जना गर्नु लोकतान्त्रिक राज्यको प्रमुख दायित्व हो । आफ्नै जनतामा अविश्वास, भय एवं त्रासको दबाबमा राख्नु तानाशाही तथा अधिनायकवादी शासनका लक्षण हुन् । आज हाम्रै प्रधानमन्त्रीले दुई तिहाइ बहुमतका अस्वाभाविक र अशोभनीय दम्भ प्रदर्शन गरिरहनु भएको छ । “म १४ वर्षसम्म जेल जीवन बिताएको व्यक्ति हो, म कोहीसँग डराउँदिनँ” प्रधानमन्त्रीको यस वाक्यले आफ्नै जनताका लागि धम्कीपूर्ण चेतावनीको परिस्थितिको निर्माण गरेको छ । लोकतान्त्रिक विधिअनुसार एउटा सरकार जस्तोसुकै बहुमत प्राप्त गरेको किन नहोस् आफ्नै जनताको शक्तिबाट डराउनु नै पर्छ।

एक जना सत्याग्रहीलाई तानाशाहीको संज्ञा दिइन्छ, त्यो पनि गृहमन्त्रीबाट। १५ औँ पटक अनशन बसेका डाक्टर कसरी तानाशाही?

“सत्य”का लागि प्रेमपूर्वक गरिएको “आग्रह” लाई सत्याग्रह भनिन्छ । सन् १९०६ तिर भारत वर्षका सन्त नेता महात्मा गान्धीले आफ्नो दक्षिण अफ्रिकाको ट्रान्सभाल भन्ने प्रान्तको बसाइमा सबभन्दा पहिले यसको प्रयोग गर्नुभएको हो । महात्मा गान्धीले दक्षिण अफ्रिकामा भारतीय मूलका नागरिकहरूप्रति त्यहाँका अल्पसंख्यक श्वेत शासकले गरेको विभेद एवम् शोषणको अहिंस्रक विरोध गर्ने संकल्प गरे । बलियो राज्य सत्ताले दक्षिण अफ्रिकामा बसोबास गरेका भारतीय नागरिकहरूप्रतिको अत्याचारलाई शान्तिपूर्ण सशक्त चुनौतीको खोजीमा गान्धीले ट्रान्सभालमा भारतीयहरूको बीचमा एउटा प्रतिस्पर्धाको आयोजना गरे । गान्धीका भतिजा मगनलाल गान्धीले यस प्रतिस्पर्धामा “सदाग्रह” भन्ने शब्दको सल्लाह दिए । महात्मा गान्धीले यसै सदाग्रह शब्दलाई सुधारेर सत्याग्रह शब्दको नाउँ दिनुभयो । सत्याग्रही आफ्ना विरोधीप्रति कुनै ईष्या, द्वेष, वैर–भाव नराखेर आफूलाई कष्ट दिँदै आफ्नो लक्ष्य प्राप्तिको उद्देश्य राख्छ । यसका विभिन्न रूप भए पनि “मृत्युपर्यन्त स्वयंप्रतिको कष्ट वा मृत्युपर्यन्त उपवास सत्याग्रहीको शस्त्रगारमा सबैभन्दा शक्तिशाली एवम् अन्तिम शस्त्र मानिन्छ। “अहिंसा” सत्याग्रहको सबैभन्दा प्रमुख पक्ष हो । विरोधीले जतिसुकै हिंसाको बाटो समाते पनि सत्याग्रहीले यसको सहारा लिनु हुँदैन।

नेपाली समाजले आज डा. केसीको रूपमा एक जना असीम आत्मविश्वास भएका गान्धीका सच्चा अनुयायी पाएको छ । उहाँको जीवनको रक्षा राष्ट्रको दायित्व हुन जान्छ । उहाँको अतुलनीय निष्ठावान् व्यक्तित्वलाई अरु कुनै राजनीतिक पार्टीसँग जोडेर उहाँलाई बदनाम गर्ने सरकारको कुचाल मात्र हो भन्न सकिन्छ । सत्याग्रह मानवीय भावनाको एउटा स्वच्छ एवं पवित्र प्रकटीकरण हो । यो कुनै “हठ वा जिद्दी” भावले मात्र सम्भव छैन । यसको धरातल भने “सत्य” मात्र हो । सयौँ वर्षदेखि कब्जा गरेर बसेको अंग्रेजी शासकलाई भारतीय भूमिबाट धपाउन सक्नु, त्यस्तै सयौँ वर्षदेखि नेपाली जनताले बुझाएको करमा विलासी जीवन व्यतीत गरिरहेका राणाहरूलाई विस्थापित गर्नु, काला र गोरा बीचको रंगभेदी विभेदको अन्त्य गर्नु, केही वर्ष अगाडि भारतको नयाँ दिल्लीमा भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलन एवं हाम्रै देशमा छविलाल पौडेलको न्यायालयको अगाडि आत्मसर्मपणलाई क्रमशः भारतका महात्मा गान्धी, नेपालका बिपी कोइराला, अमेरिकाका मार्टिन लुथर किङ जुनियर एवम् दक्षिण अफ्रिकाका नेल्सन मन्डेला, भारतका अन्ना हजारे एवं हाम्रै देशमा महिला नागरिक गंगामाया अधिकारीले गरेको सत्याग्रहका प्रभावको असर हुन्, नेपाल सरकारले यो कुरा बुझ्न सक्नुपर्छ।   

हाम्रा प्रधानमन्त्री आफ्नै नागरिकलाई घुर्की र धम्कीको भयमा राख्न चाहनुहुन्छ। उहाँमा मन्डेलाझैँ उदार सोचसहितको ‘‘उबुन्तु भाव’’ कहिले पलाउला?

हाम्रै देशको इतिहासको पाना पल्टाएर हेरौँ । २०१५ सालमा एकजना सामान्य नेपाली भन्दा अग्लो एवम् दुब्लो पातलो मानव बिपी कोइरालाका कारणले प्रथम प्रजातान्त्रिक आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो । त्यस बेलाका १८ महिने अल्पकालीन सरकारले गरेका काम कारबाहीको बारेमा सम्पूर्ण देशवासीले अहिले पनि गुणगान गरिरहेका हुन्छन् । त्यस बेला बिपी नेतृत्वको सरकारले १०० को पूर्णांकमा सायद ८० अंक प्राप्त गरेको थियो होला । ६० वर्षको अन्तरालमा आम नागरिक एवम् बहुसंख्यक राजनीतिक पण्डितहरूको बुझाइ विपरीत आज फेरि दुई तिहाइ बहुमतको सरकार बनेको छ । देशवासीले ठूलो आशा एवम् सपनाका साथ आफ्ना मताधिकार प्रयोग गरेका हुन् । तर सरकारका क्रियाकलापहरू जनताको तत्कालीन हितमा मात्र नभई सिंगो लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध देखिन्छ।

हाम्रा प्रधानमन्त्रीले प्रायः भ्रष्टाचारप्रतिको आफ्नो असहिष्णुता एवम् सुशासनका कुरा गरिरहेका हुन्छन्। तर अहिलेसम्म यस सरकारका गतिविधिहरू उनका वक्तव्य विपरीत देखिन्छन् । यस सरकारका ५–६ महिनाकै अवधिमा यस्ता अनेकौँ उदाहरणहरू हामीले लिन सक्छौँ :

१) बालकृष्ण ढुङ्गेलको रिहाइ : राज्य (न्यायालय) ले यिनले गरेको अमानवीय एवम् जघन्य अपराधलाई प्रमाणित गरिसकेपछि पनि यिनी वर्षांैसम्म राजनीतिक संरक्षणमा न्यायालयलाई धोखा दिँदै रहे । न्यायालयको गिरफ्तारीमा आए पनि केही महिनाभित्रै उनी एक दिन फुत्त कारागारबाहिर आए । केही महिनाको जेल जीवनले यिनको व्यवहारमा अनुकरणीय परिवर्तन ल्याएकाले यिनको बाँकी सजाय राष्ट्रपतिबाट माफी गरियो । यिनको रहस्यमय रिहाइले सम्पूर्ण देशवासीलाई अचम्मित पारेको छ।

२) विश्वविद्यालयका एकजना उपकुलपति एउटा प्राज्ञिक सम्मेलनमा भाग लिन विदेश भ्रमण गइरहँदा एयरपोर्टबाट अपमानजनक शैलीमा भ्रमणमा जानबाट रोकिन्छ । यसले सम्पूर्ण विश्वजगत्मा हाम्रो राष्ट्रको छविलाई धुमिल पारेको अवस्था छ । भनिन्छ, जुन राष्ट्रले प्राज्ञिक व्यक्तिको सम्मान गर्न सक्दैन त्यो राष्ट्रले गति लिन सक्दैन।

३) एक जना डाक्टरलाई आफ्ना ड्युटीबाट अग्रिम सूचना दिन हुकुमी पारामा गृह मन्त्रालयले बोलाई अनैतिक कार्य गर्न दबाब दिइन्छ । डा. पेसाको संवेदनशीलताप्रति गृह मन्त्रीलाई कुनै बोध नभएको बुझिन्छ।

४) एक जना सत्याग्रहीलाई तानाशाहको संज्ञा दिइन्छ, गृहमन्त्रीबाट । १५ औँ पटक अनशन बसेका डाक्टर कसरी तानाशाह भयो?

५) एक जना टिभी पत्रकारले कुनै मन्त्रीलाई प्रश्न गरेको आधारमा उनलाई कारबाही गरिन्छ ? जागिरबाट बर्खास्त गरिन्छ?

६) गृहमन्त्री भन्छन, “भ्रष्ट ठेकेदारहरूमाथि कारबाही गरिनुपर्छ” जवाफमा कुबेर उपनाम पाएका मन्त्री भन्छन्, “तँ भ्रष्ट, म भ्रष्ट; ठेकेदार भ्रष्ट भए कुन नौलो कुरो भयो ? कारबाही गर्न पाउँदैनौँ ।” र, कारबाही पनि रोकिन्छ।

७) सरकारको काम कारबाहीप्रति शान्तिपूर्ण ढंगले कुनै ठाउँमा विरोध प्रदर्शन गर्दा अनाहक त्यस्ता ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिन्छ।

८) नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका कार्यकर्ताहरूले निकालेको शान्तिपूर्ण जुलुसमाथि पूर्ण दमन गर्ने नियतसाथ लाठी चार्ज गरिन्छ।

९) २० औँ दिनसम्म जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. केसी सत्याग्रह गरिरहँदा उनका समर्थकहरू लगायत उपस्थित स्वास्थ्यकर्मीहरू माथि बर्बरतापूर्ण व्यवहार गरिन्छ।

आवधिक आम निर्वाचन लोकतान्त्रिक व्यवस्थाको एउटा प्रमुख विशेषता हो । आम निर्वाचनमा विभिन्न दलहरू देशवासीका सामुन्ने मत माग्ने क्रममा अनेकौँ तर्क पेस गर्ने गर्छन् । विरोधी दल एवम् उम्मेदवारलाई दोषारोपणसमेत गर्ने गरिन्छ । मतदाता सामुन्ने आ–आफ्ना घोषणापत्र प्रस्तुत गर्ने गर्छन् । निर्वाचन परिणामपश्चात् जुन कुनै पार्टीले बहुमतको आधारमा सरकार निर्माण गर्ने मौका पाउँछन् । उनीहरूले राज्य संचालनको क्रममा सरकार वा प्रधानमन्त्री सम्पूर्ण देशवासीको प्रतिनिधि हो भन्ने बुझ्नुपर्छ । प्रधानमन्त्री भइसकेपछि तपाईं कुनै पार्टी विशेषको सदस्य मात्र होइन, नेपाली नागरिक लोकतन्त्रका विशेषताहरूको बारेमा परिचित भइसकेको अवस्था छ, अर्काे खाले सोचले राष्ट्रलाई भलो गर्दैन।

दक्षिण अफ्रिकामा “उबुन्तु” भन्ने शब्द प्रचलनमा छ। दक्षिण अफ्रिकाको समाजमा यस शब्दको बुहआयामिक अर्थ लाग्छ । यसले मानवीय मूल्य–मान्यता, संवेदनशीलता र सम्बन्धलाई उजागर गर्छ । नेल्सन मन्डेलालाई यस शब्दको “मूर्त रूप” मानिन्छ। उनले जेलमा २७ वर्षसम्म कैदीका रूपमा बस्नुप¥यो, त्यसै जेलका हाकिमलाई एवं उनलाई जुन अभियोजकले राजद्रोही भनेर मृत्युदण्डको सजाय दिनुपर्छ भन्ने माग राखेका थिए, ती व्यक्तिहरूलाई आफू राष्ट्रपति हुँदा माफी दिएको तथ्यबाट उनीसँगको मानवीय संवेदनशीलताका बारेमा बुझ्न सकिन्छ । नेल्सन मन्डेलाले आफ्नो नागरिकलाई सम्बोधन गर्दा भन्ने गर्थे, “उबुन्तु (म जो हुँ, तपार्इंको कारणले हुँ) ।” सायद त्यसैले होला, आज उनलाई विश्वभरि मानवताको पर्यायवाचीको रूपमा लिइन्छ । तर दुर्भाग्यवश हाम्रा प्रधानमन्त्री आफ्नै नागरिकलाई घुर्की र धम्कीको भयमा राख्न चाहनुहुन्छ । उहाँमा मन्डेलाझैँ उदार सोचसहितको ‘‘उबुन्तु भाव’’ कहिले पलाउला?
(पूर्वसांसद, नेपाली कांग्रेस)

प्रकाशित: १० श्रावण २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App