coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सफलताको पथमा बायोपिक फिल्म

मुम्बई– बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सन्जू’ले बायोपिक फिल्मको इतिहासमा सफलताको नयाँ अध्याय कोरेको छ।

बलिउडमा हालसम्म बनेका बायोपिक फिल्ममा यति धेरै सफल फिल्म यसअघि कुनै फिल्ममा देखिएको थिएन । ‘सन्जु’ कुनै बलिउड कलाकारमाथि बनेको पहिलो बायोपिक फिल्म हो । गत जुन २९ मा रिलिज भएको राजकुमार हिरानी निर्देशित फिल्मले चौथो हप्तामा ३ सय ३५ करोड रुपैयाँको कलेक्सन गरिसकेको छ।

हिन्दी फिल्ममा बनेका बायोपिक फिल्ममा यो अहिलेसम्मको पाँचौं सफल फिल्म हो । सञ्जयको ‘सन्जू’को अभूतपूर्व सफलता शाहरुख खान र रितिक रोशनजस्ता सुपरस्टारका लागि एउटा चुनौती बनेको छ । किनकी यी कलाकार पनि हालसम्म जीवित चर्चित व्यक्तिको बायोपिकमा अभिनय गर्न योग्य भइसकेका छन् । पछिल्लो पाँच वर्षमा ‘सन्जू’ पाँचौं बायोपिक फिल्म हो, जुन कुनै जीवित व्यक्तिको बारेमा बनाइएको छ।

बलिउडमा जीवित व्यक्तिको जीवनीमा आधारित रहेर बायोपिक बन्ने सिलसिला सन् २०१३ मा निर्माण भएको राकेश ओमप्रकाश मेहराको फिल्म ‘भाग मिल्खा भाग’बाट सुरु भएको हो । जसले बक्स अफिसमा १ सय ३ दशमलब ५० करोडको कलेक्सन गरेर हिट बनेको थियो । भारतका प्रख्यात धावत फ्लाइङ सिख मिल्खा सिंहको जीवनीमा आधारित यो फिल्ममा अभिनेता फरहान अख्तरले फ्लाइंग सिख मिल्खा सिंहको भूमिका निर्वाह गरेका थिए।

‘सन्जू’मा रणवीर कपुरको जस्तै फरहानले पर्दामा तन्दुरुस्त देखिनका लागि निकै मेहनत गरेका थिए । रणवीरले सञ्जय दत्तको विभिन्न लुक्समा देखिनका लागि प्रोस्थेटिक मेकअपको सहारा लिए पनि फरहानले भने कुनै पनि मेकअप प्रयोग गर्नु परेन।

फिल्म ‘भाग मिल्खा भाग’ रिलिजको वर्षदिन पछि सन् २०१४ मा उमंग कुमारको फिल्म ‘मेरी कोम’ प्रदर्शनमा आयो । यो फिल्म भारतीय बक्सिङ च्याम्पियन मेरी कोमको जिन्दगीको संघर्षमा आधारित थियो । बलिउडकी ‘देशी गर्ल’का रुपमा परिचित प्रियंका चोपडाले फिल्ममा शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् । यो फिल्मले बक्स अफिसमा ६४ करोड रुपैंयाँको कलेक्सन गरेको थियो।

सन् २०१६ मा निर्देशक नीरज पाण्डेले भारतीय क्रिकेटर क्रिकेटर एमएस धोनीको जीवनीलाई फिल्म ‘एमएस धोनी – द अनटोल्ड स्टोरी’ बनाए । फिल्ममा सुशांत सिंह राजपूत शीर्ष भूमिकामा थिए । यो फिल्मले १ सय ३३ करोड रुपैंयाँ कलेक्सन गरेको थियो । यति धेरै पैसा कमाएर पनि फिल्म हिट त भएन तर यसले घाटा पनि सहनु परेन । केही समयदेखि यो फिल्मको सिक्वेलको चर्चा पनि बलिउडमा चलिरहेको छ।

यही वर्ष अर्का एक क्रिकेटर मोहम्मद अजहरूद्दीनको बायोपिक फिल्म ‘अजहर’ निर्माण भयो । टोनी डिसूजा निर्देशित फिल्ममा इमरान हाशमीले अजहरको भूमिका निभाएका थिए । फिल्मले बक्स अफिसमा ३३ करोड रुपैंयाँ कलेक्सन गरेर आफूलाई औसत हिट फिल्मको रुपमा नाम दर्ता गरायो।

गत जुलाई १३ मा रिलिज फिल्म ‘सूरमा’ले पनि सोचेअनुरुप व्यापार गर्न सकेन । फिल्मले २५ करोडभन्दा बढी मात्र पैसा कलेक्सन गर्न सक्यो । यो फिल्म अहिले पनि फिल्म हलमा प्रदर्शनरत छ । यो फिल्म हकी खेलाडी सन्दिप सिंहको बायोपिक फिल्म हो । सन् २००६ मा सन्दिपलाई रेल यात्राका क्रममा गल्तीबस गोली लागेको थियो । यो घटनाको दुई दिनपछि उनी हकीको वल्र्डकप खेल्नका लागि विदेश जाने तयारीमा थिए । फिल्ममा दिलजीत दोसांझ शाद अली र तापसी पन्नुको अभिनय छ।

फिल्म ‘सूरमा’बाहेक जीवित व्यक्तिको जीवनमा रहेर बनेका पाँच बायोपिक फिल्मको बक्स अफिस नतिजा शतप्रतिशत हिट छ । बलिउडमा बनिरहेका बायोपिक फिल्मले पाँच फिल्म जस्तै सफलताको स्वाद चाख्न पाउलान् कि नपाउलान् भन्ने बहस अहिले चलिरहेको छ । बलिउडमा यस्ता कैयौं बायोपिक फिल्म बनिरहेका छन् । जो कुनै जीवित व्यक्तिको जीवन या जीवनसँग जोडिएका घटनामा आधारित रहेर निर्माण भइरहेका छन् । यी फिल्ममा रितिक रोशनदेखि शाहरुख खानसम्मका स्टार जोडिएका छन्।

भारतीय राजनीतिमा भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह राजनीतिक मौनतालाई लिएर निकै चर्चामा रहे । उनको प्रधानमन्त्रीका रुपमा रहेको कार्यकालमा आधारित रहेर फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ बनिरहेको छ । हन्सल मेहताको लेखन रहेको फिल्ममा विजय गुट्टेको निर्देशन छ । फिल्ममा अनुपम खेर पूर्व प्रधानमन्त्रीको भूमिकामा छन् । फिल्म आगामी डिसेम्बर २१ मा रिलिज हुँदैछ।

रितिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ पटनाका कोचिङ सञ्चालक तथा मैथमेटिशयन आनन्द कुमारको बायोपिक फिल्म हो । फिल्ममा गरीब पृष्ठभूमिबाट आएका मेधावी विद्यार्थीहरुलाई आफ्नो कोचिङमा पढाएर आइटी जस्तो गाह्रो विषयमा सफल बनाउने शिक्षकको कथा समेटिएको छ । फिल्म आगामी वर्ष रिलिज हुँदैछ ।
ओलम्पिक गोल्ड मेडलिष्ट अभिनव विन्द्राको जीवनीमा आधारित फिल्म ‘विन्द्रा’मा अनिल कपुरका छोरा हर्षवर्धन कपुर शीर्ष भूमिकामा देखिँदैछन् । आगामी वर्ष रिलिज हुने यो फिल्मको सुटिङ सुरु भइसकेको छ।

यी फिल्मबाहेक केही फिल्म निर्माणको पाइपलाइनमा छन् । ब्याटमिन्टन खेलाडी सायना नेहवालको बायोपिक फिल्म पनि निर्माणको प्रक्रियामा छ । फिल्ममा नायिका श्रद्धा कपुर सायनाको भूमिकामा देखिँदैछिन् । फिल्मका लागि श्रद्धाले तयारी सुरु गरिसकेकी छन् । अन्तरिक्ष यात्रा गर्ने पहिलो भारतीय र एयरफोर्स अधिकारी राकेश शर्माको बायोपिक फिल्म ‘स्याल्युट’ पनि निर्माणको चरणमा छ ।  फिल्ममा शाहरुख खान राकेश शर्माको भूमिकामा देखिनेछन् । शाहरुख यतिबेला फिल्म ‘जिरो’को सुटिङमा व्यस्त छन् । यो फिल्मको काम सकिएपछि उनी ‘स्याल्युट’लाई समय दिनेछन्।

अभिनेता सोनु सूद यतिबेला ब्याटमिन्टन खेलाडी सपवी सिन्धूमा आधारित बायोपिक फिल्मको योजना बनाइरहेका छन् । यो फिल्म अहिले प्रिप्रोडक्सन चरणमा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म पनि बन्ने तयारीमा छ । जसमा अभिनेता परेश रावल शीर्ष भूमिकामा देखिनेछन् ।
 

प्रकाशित: १० श्रावण २०७५ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App