coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिक्टा नहरको गुणस्तर छानबिन गर्न माग

फाइल फाेटाे

नेपालगन्ज - राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटक–पटक भत्किएपछि कामको गुणस्तरबारे छानबिन गर्न माग गरिएको छ । सिक्टाको पश्चिम (दायाँ) मूल नहर परीक्षण गर्ने क्रममा सोमबार राप्तीसोनारी–८ र ९ ढकेरीमा पर्ने चंगाई खोलानजिक भत्किएको थियो।

त्यसअघि २०७३ असार १४ मा पनि ढकेरीस्थित झिझरी खोलाछेउमा उक्त नहर परीक्षणकै क्रममा भत्किएको थियो । सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना सम्पन्न नहुँदै पटक–पटक भत्किन थालेपछि स्थानीय स्तरबाट गुणस्तर छानबिन गर्नुपर्ने माग उठेको हो।

राप्तीसोनारी–९, ढकेरीका अगुवा श्रीधर उपाध्यायले सिक्टाको मूल नहरमा कमसल माटो र अन्य निर्माण सामग्री प्रयोग भएको जिकिर गरेका छन् । ‘सिक्टाको मूल नहर भत्किनुको एउटै कारण घुलनशील माटो र कमसल निर्माण सामग्रीको प्रयोग हो, सरकारले चाँडै उच्चस्तरको विज्ञ टोली पठाएर छानबिन गरोस् ।’ नहर निर्माण गर्ने क्रममै आफूहरुले खराब माटो प्रयोग नगर्न ठेकेदार र आयोजना कार्यालयलाई आग्रह गरेको स्मरण गर्दै उपाध्यायले नागरिकसँग बुधबार भने, ‘त्यतिबेला पनि हामीले यो माटो ठिक छैन, मानव बस्ती भएको क्षेत्र आसपास कम्तीमा तीन किलोमिटरसम्म घुलनशील माटो पटान नगर्न अनुरोध गर्दा बेवास्ता भयो, अहिले पटक–पटक नहरको गुणस्तरमाथि प्रश्न चिह्न खडा भएको छ ।’ नहरको अवस्था दिन प्रतिदिन खस्किँदो अवस्थामा रहेकाले यही अवस्थामा सिक्टा आयोजना सफल नहुने उनले ठोकुवा गरेका छन् । सरकारले समयमै गुणस्तर सुधार गर्नतर्फ ध्यान दिनुपर्ने उपाध्यायको सुझाव छ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ ढकेरीका वडाअध्यक्ष महावीर ओलीले सरकारले सिक्टा सिँचाइमा देखिएको कमजोरीको तत्काल छानबिन गर्नुपर्ने बताए । ‘आयोजना निर्माण हुँदा गुणस्तरीय काम भएन, कमसल निर्माण गर्ने र गराउने व्यक्तिलाई कारबाही हुनुपर्छ,’ उनले भने । छानबिन समितिमा स्थानीय जनप्रतिनिधि समावेश गराउनुपर्ने वडाअध्यक्ष ओलीले माग गरेका छन्।  

आयोजना कार्यालयले ‘आइसिपी–टू’ ठेक्का अन्तर्गत ठेकेदार कालिका कन्सट्रक्सन कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । कालिकाले नहर आफूले नबनाएर पेटी ठेकेदारलाई जिम्मा दिएपछि गुणस्तर खस्किएको ढकेरी गाउँका प्रत्यक्षदर्शी बताउँछन् । यद्यपि कालिका कन्सट्रक्सन कम्पनीका महाप्रबन्धक युवराज क्षेत्रीले उक्त खण्डको सम्पूर्ण काम आफूहरुले नै गरेको दाबी गरेका छन् । ‘त्यो ठाउँमा सबै काम हामीले गरेका हौं, पेटी ठेकेदारलाई दिएका होइनौं,’ उनले भने।

मूल नहरको १७.७ किलोमिटरदेखि ३५ किलोमिटर अन्तर्गत पर्ने उक्त खण्डको अझै पनि ‘मर्मतसम्भार अवधि’ चलिरहेको र ठेकेदारले नहर हस्तान्तरण नगरेको आयोजना निर्देशक रमेश बस्नेतले बताएका छन् । मूल नहरको १७ सात किलोमिटरदेखि ३५ किलोमिटर खण्डको बीचमा पर्ने उक्त खण्डमा घुलनशील माटो (डिसपर्सिभ सोयल) प्रयोग भएका कारण पटक–पटक भत्किने गरेको उनले प्रस्ट्याए ।

‘जुन ठाउँमा घुलनशील माटो प्रयोग भएको छ, त्यो ठाउँमा करिब दुई मिटरजति माटो काटेर फिलिङ माटो हालेपछि मात्र यो समस्या समाधान हुन्छ, यसको लागि छुट्टै इस्टिमेट बनाउनुपर्ने हुन्छ,’ बस्नेतले नागरिकसँग भने । एकातिर मर्मत गर्दा अर्कोतिर नहर भत्केको उनले बताए । मूल नहर भत्किएपछि आफूले छानबिनका लागि प्राविधिक समिति गठन गरेको बस्नेतले जनाए । उनका अनुसार उक्त समितिले तीन दिनभित्र प्रारम्भिक र १० दिनमा विस्तृत प्रतिवेदन पेस गर्ने जिम्मा पाएको छ ।दुई वर्षअघि पनि मूल नहर भत्किएपछि सिक्टाको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठेको थियो । संसदबाट समेत गुणस्तर छानबिन गर्न माग गरिएको थियो । तर, सरकारले औपचारिकता निभाउने उद्देश्यले विभाग र मन्त्रालयमा समिति बनायो । उक्त समितिले प्रतिवेदन तयार गरे पनि सार्वजनिक भएन ।

२०६३ सालबाट निर्माण सुरु भएको आयोजनाको ४२ किलोमिटर दुई सय ५० मिटर लामो पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किलोमिटर पूर्वी (बायाँ) मूल नहरमार्फत राप्तीपारिको कुल नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ । पश्चिम मूल नहरको क्षमता ५० क्युमेक्स भए पनि सामान्य पानीले भत्काउने गरेको छ । यसपटक भने सरकारले उच्च स्तरको निष्पक्ष समिति बनाएर गुणस्तर छानबिन गरी यर्थात प्रतिवेदन बाहिर ल्याउनुपर्ने स्थानीय बासिन्दाको माग छ ।

प्रकाशित: १० श्रावण २०७५ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App