७ वैशाख २०८१ शुक्रबार
अर्थ

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

काठमाडौं - नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत ८ अर्ब रुपैयाँ जहाज आपूर्तिकर्तालाई पठाएको छ । निगमले यो परिमाणबराबरको रकम सरकारी स्वामित्वको नागरिक लगानी कोषबाट ऋण लिएर पठाएको हो।

निगमले दुइटै वाइड बडी जहाजका लागि भनेर २०७४ असार ३ गते पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाएको थियो । त्यसपछि गत असार १२ गते दोस्रो किस्तावापत ८ अर्ब पठाएको थियो । त्यसपछि पहिलो वाइड बडी जहाज असार १४ मा काठमाडौं आएको थियो।

‘अन्तिम किस्तावापत ८ अर्ब रुपैयाँ मंगलबार पठाएका छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, ‘अब दोस्रो वाइड बडी जहाज बिहीबार (साउन १० गते) बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।’निगमले दुई किस्तामा गरी १६ अर्ब रुपैयाँ पठाइसकेको छ । निगमलाई जहाज आपूर्ति गर्ने अमेरिकाको एएआर कर्पोरेसनले वाइड बडी जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले उपलब्ध गराउने सम्झौता गरेको छ।

निगमले पैसा पठाएको हाइफ्लाई त्यही कम्पनी हो, जसले अमेरिकी कम्पनी एएआर कर्पोरेसनमार्फत जहाज बेच्न प्रस्ताव गरेको थियो । एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । निगमले पठाएको अन्तिम किस्ता रकम हाइफ्लाई एक्स र एएआरको आयरल्यान्डस्थित संयुक्त (एस्क्रो) खातामा गएको छ । यसअघिको १६ अर्ब पनि त्यही खातामा पठाइएको थियो।  

कर्पोरेट डाइरेक्टर श्रेष्ठका अनुसार पहिलो किस्तामा पठाएको ८ अर्ब कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तथा दोस्रो किस्ताको ८ अर्ब सञ्चय कोषबाट लिइएको थियो । अहिले पठाइएको अन्तिम किस्ता ८ अर्ब सबै नागरिक लगानी कोषबाट लिइएको हो । दुवै संस्थासँग १२÷१२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता यसअघि नै भएको थियो।

– २ सय ७४ सिटे दोस्रो वाइड बडी जहाज बिहीबार (साउन ९ गते) बिहान काठमाडौं अवतरण गर्ने

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको बिहीबार ल्याउने दोस्रो वाइड बडीलाई ‘९एन–एएलजेड’ कलसाइन दिएको छ । निगमले यो जहाजको नाम ‘मकालु’ राखेको छ । पहिलो वाइड बडीलाई ‘९एन–एएलवाई’ कलसाइन र नाम ‘अन्नपूर्ण’ दिइएको छ ।निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको वाइड बडी जहाज दुईथान खरिद सम्झौता विगतमै गरेको थियो । यसमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास सिट छन्।

दोस्रो वाइड बडीलाई पहिलो झैं हाइफ्लाई एक्सकै पाइलटले उडाएर काठमाडौं ल्याउनेछन् । फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट जहाज सिधै काठमाडौं आउने छ । त्यहाँबाट यहाँ आइपुग्न ९ घन्टा लाग्छ ।
एउटा वाइड बडी जहाजलाई पूर्णक्षमतामा उडाउन सात सेट (१४ जना) पाइलट चाहिन्छ ।

निगमले भने हालसम्म महेश्वरमान (एमएम) डंगोल र श्रवण रिजालसहित ६ जना पाइलट तयार पारेको छ । ती ६ जनाले अहिले नै वाइड बडी कमान्ड गरेर उडाउन भने पाउँदैनन् । केही सय घन्टासम्म कमान्डर (क्याप्टेन) सँग फस्र्ट अफिसर (कोपाइलट) भएर उडेपछि मात्र क्याप्टेनका रूपमा जहाज कमान्ड गरेर उडाउन पाइन्छ।पहिलो वाइड बडीलाई आगामी बुधबार (साउन १६ गते) बाट नियमित व्यापारिक उडानमा प्रयोग गर्ने निगमले जनाएको छ । पहिलो वाइड बडीको पहिलो उडान कतारको दोहाका लागि हुने तालिका बनाइइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यो जहाजले गत सोमबार काठमाडौंबाट भारतको नयाँदिल्लीका लागि ‘प्रुभिङ’ उडान गरेको थियो।

सम्बद्ध अधिकारीका अनुसार निगमलाई जहाज बेच्ने ग्लोबल टेन्डर जितेको अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसन, पोर्चुगलको हाइफ्लाई एयरलाइन्स र जर्मन क्यापिटलको सहवित्तीयकरणमा खडा भएको कम्पनी ‘हाइफ्लाई एक्स’ को नाममा पहिलो किस्तावापत ८ अर्ब रुपैयाँ पठाइएको थियो । हाइफ्लाईले त्यही रकम एयरबसलाई पठाएर दुइटा ए३३० खरिद अर्डर गरेको थियो ।निगमले दुईथान वाइड बडी जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब सञ्चय कोष र बाँकी १२ अर्ब नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको थियो । सरकारले २०७४ वैशाख ७ गते निगमले खरिद गर्ने दुईथान वाइड बडी जहाजलाई आवश्यक करिब २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेको थियो। 

– जम्बो जेट लिन २५ जनाको जम्बो टोली 

निगमले एएआर कर्पोरेसनसँग २०७३ चैत २५ गते काठमाडौंमा दुइटा वाइड बडी किन्ने सम्झौता गरेको थियो । सम्झौताअुनसार दुई जहाजको मूल्य २० करोड ९६ लाख डलर (त्यसबेलाको २१ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ) पर्ने थियो । यस हिसाबले सञ्चय कोष र लगानी कोष प्रत्येकको भागमा १० करोड ४८ लाख डलर परेको छ ।
निगमका अनुसार पहिलो वाइड बडीको पहिलो लामो दुरी (लङ हल) उडान जापान वा दक्षिण कोरियामध्ये एउटामा हुने छ । यसका लागि तीनदेखि चार महिनासम्म छोटो दुरी (सर्ट हल) का दोहा, दुबई, मेलेसिया, हङकङ, बैंकक, नयाँदिल्ली, मुम्बई र बैंगलोर उडान गरिनेछन् ।जहाज लिन दुई दर्जन कर्मचारी दोस्रो वाइड बडी जहाज लिन वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित २५ जति कर्मचारी फ्रान्स पुगेका छन्।

सम्बद्ध स्रोतका अनुसार वाइड बडी जहाज लिन फ्रान्सको टुलुसस्थित एयरबसको कारखाना पुगेका अधिकांश कर्मचारीको त्यहाँ कुनै काम छैन । ‘वाइड बडी जहाज चढेर आऔं, कति नेपाल बसिरहनु’ भन्दै ती कर्मचारी फ्रान्स पुगेका हुन् ।‘पाइलट, इन्जिनियरलगायत प्राविधिक जानु ठिकै हो तर कर्मचारी संघसंगठन, युनियनका अध्यक्ष, सभापति, कार्यसमितिका सदस्य, वित्त, व्यापारजस्ता विभागका कर्मचारी फ्रान्स जानुको कुनै औचित्य छैन,’ स्रोतले भन्यो, ‘उनीहरूको उद्देश्य घुम्नेबाहेक केही होइन ।’

 

 

 

प्रकाशित: १० श्रावण २०७५ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App