coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पुराना दुईटा हुँदा हुँदै किन नयाँ राहदानी बनाए उपप्रधानमन्त्री यादवले?

फाइल तस्बिर

काठमाडौंः सत्ताको प्रभाव सदुपयोग गर्दै मंगलवार थाइ एयरवेजको उडान रोक्न लगाएर बैंकक उडेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निकै हतार गरेर नयाँ राहदानी बनाएको पाइएको छ।

मंगलवार अपरान्ह साढे १२ बजे मन्त्री यादवले राहदानी विभागमा फोन गरेर नयाँ राहदानी बनाइदिन आग्रह गरेका थिए। राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले ‘मन्त्री ज्यू स्वयं विभागमा आएमा राहदानी तयार गर्न सहज हुन्छ’ भन्ने जवाफ दिएपछि मन्त्री यादव एक बजे राहदानी विभाग पुगे। करिव दश मिनेटमा अर्को राहदानी लिएर उनी एयरपोर्ट लागे।

विभागको रेकर्ड अनुसार उपप्रधानमन्त्री यादवले यसअघि दुईटा राहदानी लिएका छन्। परराष्ट्रमन्त्रीसमेत रहिसकेका यादवको पुरानो कुटनीतिक राहदानी दुरुपयोग हुनसक्ने भएकोले दुई मध्ये एउटालाई इन्टरपोलको ‘स्टोलन एण्ड लष्ट’ (हराएको वा चोरी भएको) सूचीमा राखेर नयाँ जारी गरिएको महानिर्देशक खड्काले जानकारी दिए।  

विदेश भ्रमण प्रयोजनार्थ नयाँ कुटनीतिक राहदानी लिनु अघि मन्त्रीपरिषदको निर्णय आवश्यक पर्छ। तर उपप्रधानमन्त्री यादवले आवश्यक प्रक्रिया र कागजात पछि मिलाउने गरि नयाँ राहदानी लिएर निस्के। किनकी उनलाई एयरपोर्ट पुग्न हतार भइसकेको थियो। यसको अर्थ हो उनको थाइल्याण्ड भ्रमणलाई मन्त्रीपरिषदले अनुमोदन गर्न बाँकी छ।

भिसा नभएको पासपोर्ट लिएर कसरी उडे?
नेपाल र केही मुलुकहरुबीच कुटनीतिक कर्मचारी र कुटनीतिक राहदानी बाहकलाई ‘अनअराइभल’ भिसा उपलब्ध गराउने सहमति छ। त्यस्ता मुलुकमा थाइल्याण्ड पनि पर्छ।

नयाँ राहदानीमा भिसा नभएपनि सरकारी सेवाका कर्मचारी र कुटनीतिक राहदानी भएका नेपालीलाई थाइल्याण्डमा अनअराइभल भिसा (आगमनमा प्राप्त हुने निशुल्क भिसा) ९० दिन सम्मका लागि प्राप्त हुन्छ। यही सुविधा प्रयोग गरेर उपप्रधानमन्त्री यादव बैंकक उडेका हुन्।

प्रकाशित: ९ श्रावण २०७५ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App