८ वैशाख २०८१ शनिबार
अर्थ

‘मकै जोन’ले किसानमा परिवर्तन

‘मकै जोन’ कार्यक्रम लागू भएको धादिङको नीलकण्ठ नगरपालिकामा लगाइएको मकैखेती। तस्बिर : नागरिक

धादिङ – दुई वर्षअघिसम्म धादिङको नीलकण्ठ नगरपालिका १३ मधुवनका किसान होमकुमारी गुरुङ बारीमा लगाएको मकै नफलेर हैरान थिइन्। मेहनत गरेर लगाएको मकै घोगा नलागेपछि प्रत्येक वर्ष गरेको मेहनत खेर जाने गरथ्यो। गाउँमा मकै जोन कार्यक्रम लागू भएपछि मेहनतको फल पाउन थालेको गुरुङले बताइन्।

‘परम्परागत प्रविधिबाट गरिँदै आएको खेतीमा प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन पनि बढेको छ’, गुरुङले भनिन्, ‘उत्पादन पनि बढेको र काम गर्न पनि सजिलो भएको छ।’ परम्परागत प्रविधिबाट गरिँदै आएको खेतीमा प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन पनि बढेको उनले बताइन्।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकैजोन विकास कार्यक्रम लागू भएपछि धादिङको ज्वालामुखी गाउँपालिका र नीलकण्ठ नगरपालिकाका किसानलाई फाइदा पुगेको छ। कार्यक्रम अन्तर्गत मकैको बीउ हेरचाह, तरिका, गोडमेलबारे सिकेपछि खेती गर्ने तरिकामा समेत परिवर्तन आएको गुरुङले बताए।

‘मकैजोन कार्यक्रम हाम्रो गाउँमापनि लागू भएपछि मकैको उत्पादन पनि राम्रो भएको छ’, गुरुङले भनिन्, ‘हामीले समुह पनि बनाएका छौँ, समुहलाई ट्याक्टर, मकै छोडाउने मेसिन पनि अनुदानमा प्राप्त भएको छ। प्राविधिक सरसल्लाह नियमित रुपमा लिन पाइएको छ।’

नेपाल सरकारले आर्थिक वर्ष २०७३–०७४ सालदेखि १० वर्षको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना संचालन गरेपछि धादिङका २ वटा स्थानीय तहमा मकैबालीको जोन विकास कार्यक्रम लागू भएको हो। मकैजोन विकास कार्यक्रम अन्तर्गत ७८ कृषक समुह तथा सहकारी र एउटा कम्पनी गरी ७९ वटा सस्थाहरु जोन विकास कार्यक्रममा सुचिकृत भई २ हजार ७ सय ७२ जना कृषकहले प्रत्यक्ष रुपमा विभिन्न कृषि अनुदान र सेवा लिदै आएका छन्।

नीलकण्ठ नगरपालिकामा कुल ७ हजार ८ सय ४० हेक्टर जमिन मात्रै खेतीयोग्य रहेको र त्यो मध्ये ३ हजार ४ हेक्टर जमिनमा मकैजोनको कार्यक्रम लागू भएको छ। त्यस्तै ज्वालामुखी गाउँपालिकामा ४ हजार ४ सय १ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २ हजार १ सय ४६ हेक्टर जमिनमा मकैजोन कार्यक्रम लागू गरिएको छ।

उन्नत बीउ उत्पादन गरी बिक्री वितरण गर्ने सहकारी र समुहहरुलाई पोष्ट हार्भेष्ट सेन्टर (बीउ भण्डार गृह) निर्माणको लागि परियोजनाले ८५ प्रतिशत अनुदानमा भण्डार गृह बनाइदिएको छ। नीलकण्ठ नगरपालिको वडा नं ७ तारुखर्क, वडा नं ८ ससाह, वडा नं १२ साँकोष, वडा नं ४ पौवा र ज्वालामुखी गाउँपालिकाको वडा नं ३ अमराइमा गाउँमै उत्पादित उन्नत बीउको भण्डारण कक्ष निर्माण गरिएको छ।

भण्डार गृह निर्माण भएपश्चात बीउको सुरक्षा गर्न र बिक्री वितरण गर्न पनि सजिलो भएको नीलकण्ठ –८ का किसान किसान सुपसिंह तामाङले बताए। अरुको जग्गा भाडा लिएर मकैखेती गर्दै आएका तामाङले गत वर्षको उत्पादनबाट साढे १५ मेट्रिक टन मकैको उन्नत बीउ बिक्री गरेर ७५ लाख रुपैयाँ आम्दानी गरेका थिए।

मकैबालीको उत्पादन वृद्धि गराउनको लागि प्रधानन्त्री कृषि आधुनिकिकरण परियोजनाको परियोजना कार्यन्वयन इकाइ धादिङवेशीले जिल्लामा सुचिकृत भएका विभिन्न ७९ वटा समुहको मागको आधारमा बीउ विजन, मलखाद, कृषि औजार र उपकरणहरु अनुदानमा उपलब्ध गराउदै आएको छ। त्यस्तै उन्नत बीउ उत्पादन गर्ने कृषक समुह र सहकारीलाई पनि ५० प्रतिशत अनुदानमा मुल बीउ सहयोग दिने गरेको छ।

प्रकाशित: ९ श्रावण २०७५ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App