६ वैशाख २०८१ बिहीबार
समाज

हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

अंकितका आफन्तहरुले दोषीलाई कारवाहीको माग गर्दै जितपुरमा गरेको बिरोधमा प्रदर्शन। तस्बिर : नागरिक

बारा-  ९ वर्षिय बालकलाई अपहरण गरी हत्या गरेको विरोधमा स्थानीयले जितपुर बजार बन्द गरेका छन्। जितपुरसिमरा नगर उधोग बाणिज्य संघ, विभिन्न राजनीतिक दल, संस्थागत तथा सामुदायिक विद्यालय, गैर सरकारी संस्था लगाएतकाले संयुक्त रुपमा दोषीलाई कारवाही गर्न माग गर्दे विरोध प्रदर्शन गरेका हुन्।

जितपुरसिमरा उपमहानगरपालिका ७ का ९ वर्षिय बालक अंकित गुप्तालाई अपहरण गरी फिरौती रकम समेत बुझेर अपहरणकारीले हत्या गरे पछि बिरोध शुरु भएको बताइएको छ। अंकितको बुवा ललन प्रसाद गुप्ता जितपुर बजारका गल्लाको व्यवसायी गर्दै आएका छन्।

जेठ २२ गते जितपुरबाट गुप्ताको अपहरण गरीएको थियो भने साउन ३ गते निजको शव पर्सा जिल्लामा पर्ने गण्डक नगरमा फेला परेको बारा प्रहरीले जनाएको छ। गुप्ताको अपहरण गरी हत्या गरीएको अभियोगमा वीरगन्ज महानगरपालिका २४ का रामप्रवेश साह गोढलाई प्रहरीले पक्राउ गरेको छ।

बाराका प्रहरी नायब उपरीक्षक रन्जित सिँह राठौरले पक्राउ परेका साहले नै अंकित गुप्तालाई जितपुरबाट अपहरण गरी मोटरसाईकलमा राखेर भारतसम्म पुर्याएको अनुसन्धानबाट खुलेको बताए।

अंकित गुप्ताको  जेठ २२ गते साँझ साथीको घरमा खेल्न गएको बेलामा अपहरण गरी अपहरणकारीहरुले भारत समेत पुर्याउन सफल भएको बारा प्रहरीले जनाएको छ।

अंकित गुप्तालाई अपहरण गरी भारत पुर्याएपछि पक्राउ परेको साहका समूहले अंकितलाई छोडनको लागि फिरौती रकम माग्न शुरु गरेका थिए।

फिरौती रकम लिनका लागि अपहरणकारी समूहले फोनमा निरन्तरको धम्की दिन थाले पछि अंकितका परिवारले फिरौती बापत  २५ लाख नेपाली रुपैयाँमा समेत अपहरणकारीलाई बुझाउन बाध्य भएका थिए।

असार ३२ गते अंकितका आमा संगीता देवी सहित अन्य आफन्तहरु भारत, बिहार मोतिहारीमा गएर २५ लाख रुपैयाँ बुझाउँदा समेत अपहरणकारीले अंकितलाई अपहरणमुक्त नगरेको बारा प्रहरीले बताएको छ।

घटनाबारे परिवारले जेठ २३ गते नै इलाका प्रहरी कार्यालय जितपुर, सिमरामा उजुरी दिएका थिए। परिवारले छोरो अपहरण गरेको बारेमा बारा प्रहरीलाई जानकारी गराए पनि प्रहरीले घटनालाई गम्भीरताको साथ नलिएको कारण नै अंकित गुप्ताको ज्यान गएको परिवारले आरोप लगाएका छन।

गण्डक नहरको रघुनाथपुर क्षेत्रबाट पर्सा प्रहरीले साउन ३ गते नै एक बालकको शव फेला पारेको प्रहरी नायब उपरीक्षक राठौरले बताए। शवमा रहेको लकेटको अधारमा मृत्यक अंकित नै भएको अनुमान गरीएको र शवको डिएनए टेष्ट गर्ने कार्य शुरु समेत गरीएको उनले बताए।

 

 

प्रकाशित: ९ श्रावण २०७५ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App