८ वैशाख २०८१ शनिबार
समाज

ठेकदारसँगै हरायो उज्यालो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका १ नेपालेडाडाँका उषा थापा गाउँमा विद्युत विस्तारको लागि पोल गाडिदा धेरै खुसी थिइन। रात परेपछि कुपिको सहरा अब लिनु पर्दैन भन्ने आसामा रहेकी उषाको चाहना अझै पुरा भएको छैन्। पोल गाड्दा गाड्दै ठेकदार हराएपछि ठेकदारसँगै गाउँको उज्यालो पनि हराएको छ। पोल देखाउदै उषाले भनिन, “कहिले तार टागिन्छ कहिले विद्युत आउछ।”

ठेकेदार सम्पर्कविहिन भएपछि ६ वर्ष अघि सुरु गरिएको विद्युत बिस्तारको काम अलपत्र परेको छ। केन्द्रीय योजना अन्तर्गत षडानन्द नगरपालिकाका वडा १ र २ मा केन्द्रीय प्रसारणको लाइन बिस्तारको ठेक्का पारेका ठेकदार भागेपछि काम अलपत्र परेको हो।

६८ सालमा छिमेकी जिल्ला खाँदबारी–तुम्लिङटार हुँदै दिङ्ला ल्याइएको उक्त प्रसारणको लाईन वडा नं १ नेपालेडाँडा र वडा नं २ कुदाककाउलेमा ल्याउने योजना अन्तर्गत ठेक्कामा परेपनि ठेकेदार किशोर शेर्पा बीचैमा काम छोडेर सम्पर्कविहिन भएपछि उक्त योजना अलपत्र बनेको वडा नं १ नेपालेडाँडाका वडाध्यक्ष रामेश्वर भण्डारीको आरोप छ।

तत्कालिन समयमा विद्युत बिस्तारको लागि सहजिकरण गर्न बनेको समितिका अध्यक्ष समेत रहेका भण्डारी आफैले खर्च गरेर विद्युतको पोल गाउँ सम्म ल्याएका थिए। गाउँले मिलेर विद्युतको पोल आफै गाडेपनि ठेकदारको अनुहार अहिले सम्म हेर्न नपाएको स्थानीय रामकुमारी राईले बताइन।

श्रमदान गरेर पोल गाडिसक्दा पनि बाँकी काम अझै हुन सकेन राईले भनिन्। तत्कालिन समयमा बिजुलीको तार टाँग्ने ठेक्का पारेका ठेकेदार शेर्पाले काम त गरेनन् उल्टै ढुवानी खर्च भन्दै २ लाख रुपैयाँ लिएर बीचमै फरार भएको वडा अध्यक्ष रामेश्वर भण्डारीको भनाइ छ।

अघिल्लो वर्ष काठमाडौंमा गएर ठेकदारलाई भेटेर कुरा राख्दा पोल गाडेको विवरण प्रमाणित गरेर पठाइदिनु भनेका भण्डारीले बताए। ठेकदारको लापारबाहीका कारण गाउँमा बिजुली नबलेपछि गाउँलेको बिजुली बत्ती बाल्ने सपना अधुरै रहेको स्थानीय सौगात गौतमले सुनाए। ‘ठेकेदारले काम छोडेपछि आसावादी गाउँले जनताहरुले अझैपनि कुपी बालेरै रात कटाउनु परेको छ’ उनले भने।

०६८ साल फागुनमा सर्वदलिय बैठक बसी विद्युत्त विस्तार समिती गठन गरेर उक्त ठेक्कामार्फत विद्युत विस्तारको काम थालनी गरिएको थियो। तर ठेकेदार काम अलपत्र पारेर भागेपछि ती दुई वडामा गाडिएका बिजुलीका पोलहरू यतिबेला कामै नलाग्ने अवस्थामा पुगेका छन्। कतिपय बिजुलीका पोलहरू पुरानो, खिया लागेको, भाँचिएको, लडेको अवस्थामा अलपत्र छन्।

ठेकेदार भागेपनि अलपत्र अवस्थाको उक्त विद्युत्त विस्तारको कामलाई अगाडी बढाउन जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरी दिँदा समेत कुनै प्रतिक्रिया नआएको स्थानीय गोपाल भण्डारीले बताए। दुई वडामा बिजुलीको पोल मात्र गाडेर फरार भएका ठेकेदार शेर्पाले दिङ्लाका रमेश कटुवालको १ लाख ३० हजार पोल ओसार्दाको ट्रयाक्टर ढुवानी खर्च समेत बुझाएका छैनन। गाउँमा पोल गाड्ने प्राविधिक कर्मचारीले खाना खाएको ७२ हजार रुपैयाँ समेत बाँकी रहेको छ।

ठेकेदार भागेपछि विचविचमा जति सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको वडा नं २ कुदाककाउलेका वडाध्यक्ष बिष्णु प्रसाद घिमिरेले बताए। उनी भन्छन्, ‘काम छाडेर भागेका ठेकेदार शेर्पालाई बीचबीचमा सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहेको थाहा पाइयो। उनको अहिले कुनै अत्तोपत्तो नै छैन।’ उक्त केन्द्रीय प्रसारणको लाइनबाट नेपालेडाँडाका ७ सय ८३ र कुदाककाउलेका करिब ५ सय घरधुरीहरू लाभान्वित रहेपनि गाउँलेको बत्ती बाल्ने आसा पुरा हुन् सकेको छैन्।

प्रकाशित: ९ श्रावण २०७५ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App