coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गर्मी बढेपछि जापानमा राष्ट्रिय प्रकाेप घाेषणा

तस्बिर : एजेन्सी

टोकियो – एक साताको अन्तरमा प्रचण्ड गर्मीका कारण कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम विभागले ‘ग्रीस्म लहर’ लाई राष्ट्रिय प्रकोप घोषणा गरेको छ।

मौसम विभागका प्रवक्ताले देशको केही भागमा अझै ‘अप्रत्याशित गर्मीको तह’ बढ्न सक्ने चेतावनीसमेत दिएको बिबिसीले जनाएको छ । राष्ट्रिय रकेर्ड तोडेको गर्मीका कारण २२ हजारभन्दा बढी मानिसलाई अस्पताल पु¥याइएको र त्यसमा अधिकांश ज्येष्ठ नागरिक रहेको जापानी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सोमबार राजधानी टोकियो नजिकको कुमागयामा तापक्रम बढेर ४१.१ डिग्री सेल्सियससम्म पुगेको थियो । सो रेकर्ड सन् २०१३ मा मापन गरिएको ४१ डिग्री सेल्सियसभन्दा बढी भएको जापानी अधिकारीहरुले बताएका छन्।

सोमबार जापानका दर्जन बढी सहरको तापक्रम ४० डिग्री मापन गरिएको थियो । जल तथा मौसम विभागका मौसमविद्ले तत्काल तापक्रम घट्ने कुनै संकेत नदेखिएको बताएका छन् । राजधानी टोकियोको मुख्य भागमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको यो पहिलो घटना भएको बिबिसीले उल्लेख गरेको छ । यसैबीच क्योतो सहरमा लगातार एक साता भन्दा बढी समयदेखि ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ ।
जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

अत्यधिक गर्मीका कारण हालसम्म कम्तीमा ६५ जनाको मृत्यु भएको बताइएको छ । मृतकमध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी विद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले र उपचारार्थ अस्पतालमा रहँदा मृत्यु भएको जापानी अधिकारीले बताएका छन् । केही दिनयता जापानको तापक्रम अनायासै बढेपछि सरकारले जनतालाई अनावश्क रूपमा घाममा ननिस्कन सूचना जारी गरेको छ ।    जापानको शिक्षा मन्त्रालयले विद्यालयलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ । त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयको पठनपाठन पनि बन्द गराइएको छ।

अरु एक दुई दिनसम्म यस्तो गर्मीको मौसम रह्यो भने अन्य विद्यालय बन्द गर्ने बारेमा पनि सोच्न सकिने अधिकारीले बताउँदै आएका छन् । जापानमा यसै महिनाको सुरुमा भएको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोले दुई सयभन्दा धेरैको ज्यान गएको थियो । सो बाढी र वर्षा पनि जापानमा गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भएको बताइन्छ ।  जापानमा बाढीको प्रकोप घटेलगत्तै तातो हावा चल्न थालेको छ । यसलाई कतिपय मौसमविद्ले जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा जापानी अधिकारीले भने केही बताएका छैनन् ।

 

 

प्रकाशित: ९ श्रावण २०७५ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App