८ वैशाख २०८१ शनिबार
समाज

बाढीले सडक बगाएपछि मनाङको यातायात सेवा अवरुद्ध

लमजुङ- अविरल वर्षासँगै आएको वाढीले सडकखण्ड बगाएपछि जिल्लाको उत्तरीभेग हुँदै हिमालपारीको जिल्ला मनाङसम्मको यातयात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ।

            सदरमुकाम नजिकैको पुमाखोलामा आएको वाढीले मनाङतर्फ जाने झण्डै ३० मिटर सडकखण्डमा क्षति पर्याएपछि शुक्रबार विहान देखि यातायात सेवा ठप्प भएको हो । बाढीले बेसीशहर–चामे सडकखण्डमा पर्ने पुमाखोलाको कजवे छेउमै सडक खोलेर गहिरोकुलो बनाएपछि सवारी साधन गुड्न सकेका छैनन् । सडकका क्षति पुगेका कारण लमजुङको उत्तरी भेगको खुदी, भुलुभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङसम्मको यातायात सेवा अवरुद्ध भएपछि यात्रु, पर्यटक तथा व्यवसायीलाई असुविधा भएको छ। वर्खा सकिनै लाग्दा अचानक परेको वर्षाका कारण आएको बाढीले पुमाखोलाको सडकखण्ड, लमजुङ र मनाङको सीमावर्ती म्यार्दीखोला, स्याल्क्यु छहरा, तिमाङ छहरा लगायतका खोलाहरुमा क्षति पुगेको मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमजीले बताए।

दैनिक ४० वढी जीप गुड्ने सो सडकखण्डमा बाढीले क्षति पुर्याएपछि जिल्लामा आवश्यक पर्ने खाद्यन्न लगायतका अन्य सामानको अभाव झेल्नु पर्ने त्रास बढेको मनाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठले बताए। यसवर्ष बैशाख देखि नै वर्षा सुरु भएकाले यातायात सेवा निकै जोखिमपूर्ण बन्दै आएको र अहिले सो समस्या झनै बढेको तालबजार स्थानीय मिनरासी गुरुङ बताउँछन्। म्यार्दीखोला, म्यार्दीभीर, तिमाङ ओरालो नजिकै स्याल्क्यु छहरा र लमजुङ तर्फ स्याँगे, जगतको उकालो, श्रीचौर लगायतका क्षेत्रमा सडकको अवस्था निकै जोखिमपूर्ण बनेको उनको भनाई छ।

वाढीकै कारण डुम्रे–बेसीशहर सडकखण्डको रानीकुवा, भकुण्डे, गैरी, उदीपुर, भोटेओडार लगायतका स्थानमा पनि सडकमा क्षति पुगेकाले सवारी आवागमनमा समस्या भएको पृथ्वी राजमार्ग यातायात व्यवसायी समितिका प्रमुख राजेन्द्र श्रेष्ठले बताए। 

बर्षा सँगै आएको बाढीले बेसीशहर नगरपालिका १३ चनौटेका स्थानीय अर्जुन बहादुर आलेको २ र भक्तबहादुर राउतको २ रोपनी खेतबारी बगाएको स्थानिय कृष्ण बहादुर आलेले बताए। त्यस्तै उनका अनुसार तिर्थलाल श्रेष्ठले बनाएको पुमाखोलाको पैदल यात्रु हिड्ने पुल दायाँ बायाँको भाग भत्काएको छ । बेसीशहर १२ सहजी निरको दिपक श्रेष्ठको ब्लक कारखानामा पनि क्षति पुगेको छ । उक्त कारखानामा रहेको २ हजार थान ब्लक बाढीले बगाएको कारखाना सञ्चालक दिपक श्रेष्ठले बताए । यस्तै खानेपानीको मुहान तथा पाइपहरुमा क्षति पुगेको छ । बाढीकै कारण बेसीशहरको सुयलथोक नजिकैको खानेपानीको ट्याङकी छेउमा पहिरो जाँदा वितरण लाइनमा समस्या आउनुका साथै महभिर, लब्लेखोला, डुँडखोला, फुर्केभिर, पुमाखोलाको मुहानमा पनि क्षति पुग्दा करिब ५ लाख क्षेति भएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यालय प्रमुख प्राविधिक तिलोचन पौडेलले बताए।

 

प्रकाशित: २५ भाद्र २०७३ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App