coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तटबन्ध भत्किँदा सयौं बेपत्ता

तटबन्ध भत्किएर आएको बाढीबाट बच्न घरको छतमा बसिरहेका लाओसको अट्टापेऊ प्रान्तका स्थानीय । तस्बिर : एजेन्सी

लन्डन – लाओसको दक्षिणपूर्वी क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाको एउटा तटबन्ध भत्किँदा सयौं हराइरहेको र अज्ञात संख्यामा मानिसको मृत्यु भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन्।

लाओसको अट्टापेऊ प्रान्तमा सोमबार अबेर निर्माणाधीन जलविद्युत आयोजनाको तटबन्ध भत्किएपछि आएको बाढीले नजिकैको छ वटा गाउँलाई प्रभावित पारेको लाओ समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तटबन्ध भत्किएर आएको बाढीका कारण छ हजार छ सयभन्दा बढी मानिस घरबारबिहीन भएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । गाउँलेहरु बाढीले आधा डुबाएको घरको छतमा बसिरहेको र उनीहरुलाई सुरक्षित स्थानतर्फ लानका लागि डुंगाहरु आइरहेको तस्बिर सार्वजनिक भएका छन् । ‘प्रकोपले कैयौंको ज्यान लिएको छ र सयौं हराइरहेका छन्,’ लाओ समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

भत्किएको से–पियान से–नामनो तटबन्धको निर्माण सन् २०१३ मा सुरु भएको थियो । उक्त तटबन्ध अर्को वर्षबाट सञ्चालनमा ल्याइने बताइएको थियो । तटबन्धको सात सय ७० मिटर लामो र १६ मिटर उचाँइ रहेको ‘स्याडल ड्याम बी’ भत्किएको सूचना तटबन्ध अपरेटरबाट पाइएको जलविद्युत आयोजनाको प्रमुख सरोकारवाला पक्ष रात्चाबुरी विद्युत उत्पादन होल्डिङ कम्पनीले बिबिसीसँग बताएको छ ।

लगातारको वर्षाका कारण तटबन्धमा पानीको सतह बढेर रिजर्भरबाट आउटफ्लो भएको उक्त कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘हाल से–पियान से–नामनो कम्पनी लिमिटेड र सम्बन्धित निकायका अधिकारीहरुबीच सो क्षेत्रमा प्रभावित रहेका मानिसलाई कसरी सुरक्षित तरिकाले बाहिर निकाल्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ रात्चाबुरी विद्युत उत्पादन कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

उक्त आयोजनाको अर्को सरोकारवाला दक्षिण कोरियाली कम्पनी एसके इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले पनि समाचार एजेन्सी रोयटर्सलाई आफूहरु पनि सो क्षेत्रका मानिसलाई उद्धार गर्न र बाहिर निकाल्न सहयोग गर्नेबारे सोचिरहेको बताएको छ । ‘अनपेक्षित ठूलो वर्षाका कारण’ मुख्य नभएर सानो आपूर्ति ड्याममा क्षति पुगेको छ,’ एसके इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनीका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।‘वास्तविक कारण हामीलाई अझै थाहा छैन तर हामीलाई लाग्छ तटबन्धको माथिल्लो भाग ध्वस्त भएको छ र त्यहाँबाट आउटफ्लो भएको छ,’ प्रवक्ताको विज्ञप्तिमा भनिएको छ।

तटबन्ध भत्किएपछि प्रधानमन्त्री थोङलोन सिसोलिथले सबै सरकारी बैठक स्थगन गरेका छन् । बैठक स्थगित गरि उनी वरिष्ठ अधिकारीहरुसहित उद्धारकार्यको निरीक्षणका लागि प्रभावित क्षेत्र गएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् । तटबन्ध भत्किएर आएको बाढी प्रभावितका लागि लत्ताकपडा, खाना, पिउने पानी र औषधीलगायतका आपतकालीन सहायताका लागि अन्य समुदायसँग स्थानीय प्रशासन र सरकारी निकायले अपिल गरेको बिबिसीले उल्लेख गरेको छ । तटबन्ध भत्किएर आएको बाढीका कारण मानिसको मृत्यु भएको बताइए पनि कतिको संख्यामा भएको हो भन्नेबारे भने विस्तृत जानकारी आएको छैन ।
 

प्रकाशित: ९ श्रावण २०७५ ०६:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App