८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

म्यानमारलाई सुरक्षा परिषद्को आग्रह

शरणार्थी शिविरमा बाँडिएको खानेकुरा लिन संघर्षरत रोहिन्जा शरणार्थी । फाइल तस्बिर : एजेन्सी

 न्युयोर्क – संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले रोहिन्जा समस्या समाधानका लागि म्यानमार सरकारलाई आग्रह गरेको छ ।

    म्यानमारको सेनाले ज्यादती गरेपछि म्यानमारको अल्पसङ्ख्यक जातीय समूह रोहिन्जा देश छोडेर छिमेकी बंगलादेशको कोक्स बजारस्थित शरणार्थी शिविरमा कष्टप्रद जीवन बिताइरहेका छन् । गत वर्षको अगस्ट २५ का दिन रोहिन्जा विद्रोहीले म्यानमारको उत्तरी राज्य रखाइनमा रहेका प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारी सेनाले गरेको जबाफी कारबाहीका कारण लाखौं रोहिन्जा विस्थापित भएका छन् । हाल सात लाख भन्दा बढी रोहिन्जा बंगलादेशको कोक्स बजारमा शरणार्थीका रूपमा बसिरहेको बताइएको छ ।

आधारभूत मानवीय आवश्यकताबाट पनि बञ्चित हुँदै छिमेकी देशको शरणार्थी शिविरमा बसिरहेका अल्पसंख्यक रोहिन्जा मुसलमानलाई स्वदेश फर्काउन भन्दै बंगलादेश र म्यानमारका सरकारी अधिकारीबीच कैयौं पटक बैठक भएको भए त्यस्ता बैठक सार्थक भने हुन सकिरहेको छैन । पाँच स्थायी र १० अस्थायीसहित कुल १५ सदस्यीय राष्ट्रसंघीय परिषद्को बैठकले म्यानमार सरकारलाई रोहिन्जा शरणार्थीलाई स्वदेश फर्काउनका लागि जतिसक्दो चाँडो प्रयास गर्न आग्रह गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । साथै बंगलादेशमा निकै अप्ठेरो अवस्थामा जीवन गुजारिरहेका शरणार्थीलाई सहायताका लागि पनि राष्ट्रसंघीय सुरक्षा परिषदले आग्रह गरेको एएफपीले उल्लेख गरेको छ ।

उनीहरुलाई आधारभू्त आवश्यकताको प्रबन्धका लागि सहयोग गर्न र बिना शर्त स्वदेश फर्काउने वातावरण निर्माण गर्न पनि सुरक्षा परिषद्ले आग्रह गरेको छ । ‘म्यानमाली सेनाले अल्पसङ्ख्यक नागरिकमाथि गरेको ज्यादतिको बारेमा अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि आग्रह गर्दछौं,’ सुरक्षा परिषदको बैठक सकिएपछि जारी गरिएको एक वक्तव्यमा जनाइएको छ । म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय दूतले म्यानमार सरकार रोहिन्जा मुसलमानलाई स्वदेश फर्काउनका लागि सकारात्मक देखिएको भए पनि उनीहरुको फिर्तीका लागि खासै ठोस पहल नभएको बताएका छन्।

यसअघि दुवै देशका मन्त्रीस्तरमा भएका बैठकमा रोहिन्जा शरणार्थीलाई आफ्नो देश फर्किन भनिएको थियो । यद्यपि अहिले पनि रोहिन्जाको बसोबास रहेको रखाइन राज्यमा सरकारी सेनाको ज्यादति कायमै रहेको भन्दै उनीहरु आफै स्वदेश फर्किन मानिरहेका छैनन्।

ती विशेषदूतले उक्त राज्यमा अहिले पनि रोहिन्जा समुदायमाथि ज्यादति कायमै रहेकाले आगामी दिनमा पनि उनीहरु स्वदेश फर्र्किएर सुरक्षित नै रहने अवस्था नरहेको तर्फ सबैको ध्यान पुग्नुपर्नेमा जोड दिँदै आएका छन् । रोहिन्जा शरणार्थीले भने आफूहरु स्वदेश फर्किन पाउनुपर्ने भन्दै त्यसका लागि विश्वका मानवअधिकारवादीसमक्ष सुरक्षित वातावरण निर्माणका लागि आग्रह गर्दै आएका छन्।
 

प्रकाशित: ९ श्रावण २०७५ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App