१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

किन समयमै बोल्दैनौँ हामी ?

असार लागेपछि अधिकांश नेपाली नागरिकका दैनिक जीवन कष्टकर बन्ने गर्छ । हिमाल, पहाड र तराई सबै क्षेत्रमा प्राकृतिक प्रकोपले जोखिम बढ्छ । विकासका नाममा भइरहेको विनाशका कारण घरभित्र र बाहिर असुरक्षित भई कष्टकर जीवनयापन गर्नुपर्ने अधिकांश नेपालीको दैनिकी हो।

सहरी जीवन सुखी हुने सामान्य धारणा विपरीत बेथिति र बेवास्ताका कारण झन् कष्टकर छ । वर्षायाममा भ्वाङ परेको हिलाम्मे सडकको यात्रा गर्नुपर्ने बाध्यता छँदै छ घाम लागे धुलोले हैरान पार्छ । हाम्रा सडकले हाम्रो हैसियत झल्काउँछ । जसको नियति हामी आफैँले भोग्दै आएका छौँ । व्यक्तिपिच्छे मोबाइल र मोटरसाइकल भइसक्दा हामी आफैँले पाइताला राख्ने ठाउँहरू गतिलो छैन । तैपनि, हामी यसबारे समयमै आवाज उठाउँदैनौँ । सम्बन्धित निकायलाई झक्झक्याउन प्रयास गर्दैनौँ । ‘जसरी पनि चलेकै छ’ भनेर जिम्मेवारीबाट पन्छिरहेका छौँ।

हामी नागरिकको कर्तव्य पालना गरिरहेका छैनौँ या त गैरजिम्मेवार बन्दैछौँ । जसको दुःखद परिणाम हामी आफैँले भोगिरहेका छौँ । समयमा नबोल्ने र सही ठाउँमा नबोल्ने हुँदा हामी अस्तव्यस्त जस्तै भएका छौँ । हाम्रा सुन्दर गाउँ सहरहरू कुरूप बनाइएका छन् । नैतिकता, मूल्य र मान्यतामा ह्रास आइरहेको छ । समाज यति धेरै बिरामी बन्दै गएको छ कि समय बित्दै जाँदा यसको उपचार कठिन हुनसक्छ । तैपनि, हामीलाई कोही आइदेओस् बोलिदेओस्, गरिदेओस् र समस्याबाट पार पाऔँला भन्ने खोक्रो सपनाले छाडेको छैन । हाम्रो समस्याले हामीलाई पिरोल्ने भएकाले समाधान हामी आफैंले गर्नुपर्छ भन्ने यथार्थ समयमै बोध नहुँदा पूर्वाधार विकास र सामाजिक विकास दुवैमा चुनौतीको पहाड तेर्सिएको छ।

मुख ताक्ने
हाम्रा गाउँ र सहरहरू स्रोत र साधनको अभावमा होइन, नागरिकको बेवास्तापनले बनिरहेको छैन । यही बेवास्तापनका कारण सरकारको सम्बन्धित निकायका मानिसहरू हाइसन्चो मानेर बसेका छन् ।

उनीहरूमाथि काम समयमै ठीक तरिकाले गर्ने दबाब पर्न सकेको छैन । हामीसँग स्रोत र साधनको कमी हुँदो हो त वार्षिक अर्बाैंको बजेट फ्रिज हुने थिएन । बजेटको सही सदुपयोग नभई सबैले देखिने गरी भएका अनियमितताका घटना ढिलोगरी सार्वजनिक हुने र सेलाएर जाने हुँदैनथियो । तैँ चुप मैँ चुपको अवस्था किन भइरहेको छ ? यसप्रति गम्भीर हुन जरुरी छ।

शासकहरू सकेसम्म नागरिकहरू आफ्ना जस्तोसुकै कामको समर्थक भइदिऊन् जस्तो गर्छन् । क्रुर शासकहरू नागरिकलाई दबाएर शासन गर्न खोज्छन् भने लोकतान्त्रिक व्यवस्थामा शासकहरू जनताप्रति बढी उत्तरदायी हुनुपर्ने भएकाले सकेसम्म मन जित्ने, नभए भ्रम फैलाएर भए पनि अलमलाएर चुप लगाउने रणनीति अपनाउँछन् ।
 

बोलेर झमेलामा पर्नुभन्दा आफ्ना लागि अरूले बोलिदेओस् भनेर मुख ताक्ने बानी हामीमा बढ्दै छ । सञ्चार र प्रविधिको विकासले हामी समस्याहरूबारे जानकार हुँदै गएका छौँ । हामीलाई धेरै जानकारी छ तर गलत क्रियाकलापविरुद्ध सार्थक ढंगले एक्लै वा संगठित भएर बोल्ने स्वभाव विकास हुन सकिरहेको छैन । जताततै मिसावट, जताततै नाफाखोरी, जताततै ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण गतिविधिहरू व्याप्त हुँदा नागरिकको स्वास्थ्यदेखि सुरक्षामा समेत चुनौतीहरू तेर्सिएका छन् । तैपनि, समग्र समाजलाई नोक्सान पुगिरहेको विषयमा अरूले बोलिदेओस् अरूले गरिदेओस् जस्तो प्रवृत्तिले जरो गाडेको छ।

सत्तामा पुगेका हरेकले साधन र स्रोतको उचित परिचालन गर्न नसकेको कथा व्यथाहरू छन् । कुनै पनि समाजमा नागरिक सक्रिय हुँदा त्यो समाजले भौतिक एवं सामाजिक विकासमा निकै गति लिएको छ । नेपालमा त्यस्तो समाज नभएका होइनन् तर थोरै छन् । सहरमा त्यस्ता नागरिकहरूको संख्या कमै छ । हामी सिंगापुरको विकासे मोडलको कुरा गर्छौं । त्यहाँको हरेक नागरिकले आफूलाई समाजप्रति अति उत्तरदायी बनाएको छ ।

हरेक नागरिकले आफूलाई देशको प्रहरी सम्झन्छ । फोहोर फाल्दैन, कसैले फाल्यो भने तत्काल त्यसविरुद्ध बोल्छ र उजुरी गरेर कारबाहीको दायरामा ल्याइदिन्छ । कुकुर बीच सडकमा म¥यो भने नगरपालिकामा खबरसमेत पु¥याउने दायित्वसमेत सम्झदैनौँ । उसले नगरपालिकाले किन ढिलो उठायो मात्र भन्छौँ । झकझक्याउने त परै जाओस् जानकारी गराउनुपर्ने कर्तव्यबाट समेत पन्छिन खोज्ने प्रवृत्तिले जरो गाडिसक्यो । आफूले कर्तव्य बिर्सने अनि अरू कसैले आफ्ना लागि गरिदेओस् जस्तो गर्ने !समयमा बन्नुपर्ने सडकहरू हिमाम्मे छन् । किन र के कारणले ढिलाइ भयो ? यो प्रश्न कुनै पनि नागरिकले सम्बन्धित निकायलाई सोधेको घटना कमै छ । पंक्तिकार जब सरकारी कार्यालयहरूमा जान्छ तब नागरिकबाट जानकारी आउनुपर्ने सामान्य विषयबारे समेत जानकारी नआउने गरेको गुनासो सुनिन्छ ।

सरकारका सम्बन्धित अधिकारीहरू टेबुल र कोठाभन्दा बाहिर जान गाह्रो मान्ने छँदै छ । घचघच्याउनुपर्ने निकायमा रहेका जनप्रतिनिधिहरू पनि बेमतलबी छन् । मत दिएर जिताएपछि नागरिकहरू आफूले निर्वाह गर्नुपर्ने कतिपय जिम्मेवारी पनि जनप्रतिनिधिको काँधमा मात्र हुन्छ भनेजसरी चुप बसिदिन्छन् । जब सबै बिग्रिसक्छ अनि त्यही जनप्रतिनिधिले गाली खान्छ । जनता र जनजीविकाको सवालमा केन्द्रित भएर काम गर्नुपर्ने जनप्रतिनिधि व्यक्तिविशेषको स्वार्थसँग आफ्नो स्वार्थ जोडेर हिँड्दा हुनुपर्ने काम केही भएको हुँदैन।

अर्कोतर्फ नागरिकले समयमा नघच्घच्याउने व्यवहारले धेरै समस्या आउने गरेको छ ।आफ्नो व्यक्तिगत समस्या कसरी पार लगाउनेबारे मात्र अधिकांशको चिन्ता छ । त्यसैले कुनै सरकारी कार्यालयबाट काम गराउनु छ भने तत्काल काम गराउन कतिपयले घूसको भर पर्छन् । घूस नदिई सबै कागजपत्र पूरा गरेर काम गराउनेतर्फ थोरैको ध्यान जान्छ । भ्रष्टाचारी हामी आफैँले बनाइरहेका छौँ।

नागरिकको दायित्व
नागरिकले समाजमा वैधानिक मान्यता पाएको हुन्छ । यो आफैँमा स्वायत्त विषय हो, जसले निश्चित दायित्व बोकेर निश्चित अधिकार पाएको हुन्छ । निश्चित कामकर्तव्यका लागि उसको पनि सीमा हुन्छ । त्यही सीमाभित्र रहेर नागरिकले समाज र राष्ट्रप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्छ । लोकतान्त्रिक व्यवस्थामा नागरिकले स्वतन्त्रता, समानता र सार्वभौमिकतासहितको मान्यता पाएको हुन्छ ।

यसकारण पनि नागरिकको दायरा फराकिलो हुन गई कर्तव्य पनि बढ्छ । समाजमा नागरिकले सम्मानित स्थान पाएर स्वतन्त्रताको भरपूर उपभोग गर्न पाउँछ भने उसको समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी पनि बढ्न जान्छ । नागरिकले पाएको स्वतन्त्रताअनुसार उसले समयमै सही ठाउँमा नबोलिदिँदा र नगरिदिँदा बेथिति आउन सक्छ । अहिले हाम्रो समाजले भोगिरहेको चुनौतीमध्ये एउटा यही हो । नागरिकले स्वतन्त्रताको अभ्यास गर्न पाइरहेका छन् तर त्यसबापत आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गरिरहेका छैनन् । नागरिक हुनुको दायित्व हामी आफैँले कत्तिको निर्वाह गरेका छौँ या छैनौँ छातीमा हात राखेर सोध्नुपर्ने बेला आएको छ।

क्षमतावान् नागरिक निर्माण
शासकहरू सकेसम्म नागरिकहरू आफ्ना जस्तोसुकै कामको समर्थक भइदिऊन् जस्तो गर्छन् । क्रुर शासकहरू नागरिकलाई दबाएर शासन गर्न खोज्छन् भने लोकतान्त्रिक व्यवस्थामा शासकहरू जनताप्रति बढी उत्तरदायी हुनुपर्ने भएकाले सकेसम्म मन जित्ने, नभए भ्रम फैलाएर भए पनि अलमलाएर चुप लगाउने रणनीति अपनाउँछन् । लोकतन्त्रमा शासकहरूलाई सही ठाउँमा राख्ने र कर्तव्य निर्वाह गर्ने बाध्यकारी अवस्था बनाउने भूमिका नागरिकमा उत्तिकै निर्भर हुन्छ ।

त्यसका लागि सशक्त र जिम्मेवार नागरिकको निर्माण आवश्यक हुन्छ । राज्यको राजनीतिक, आर्थिक र सामाजिक विषयमा जानकार रही सशक्त, क्षमतावान् र सहभागितामूलक भावना रहेको नागरिक निर्माण गर्न सक्नुपर्छ । यसको अर्थ सही समय र ठाउँमा सही तरिकाले बोल्ने नागरिक निर्माण अनिवार्य रहन्छ । यस्तो नागरिक निर्माण गर्ने दायित्व घर, पाठशाला, समाज र राज्यको जिम्मेवार निकायहरूको पनि हो ।लोकतान्त्रिक मुलुकमा नागरिकले मतदानको अधिकारबारे मात्र जानकारी राख्दैन, राज्यको शक्ति र काम–कर्तव्यका अलावा आफ्नो अधिकार र काम–कर्तव्यसमेत बुझ्नुपर्छ ।

आफ्नो प्रतिनिधिबारे जानकारी राख्दै राज्यलाई प्रत्यक्ष असर पार्ने विषयबारे जानकार रहनुपर्छ । आफ्नो अधिकारबारे चनाखो हुँदै गर्दा उत्तरदायित्व बुझेर तदनुरूपको कामसमेत गर्नुपर्छ । राज्यको नीतिनियमलाई सघाउ पुर्याउने र बचाउ गर्नुको अलावा स्थानीय समुदायका रचनात्मक कामहरूमा सहभागी हुनुपर्छ । नागरिकले रचनात्मक काममा सहभागी हुने र समस्या आउँदा तत्काल सम्बन्धित निकायमा जानकारी गराएर घच्घचाउने मात्र हो भने धेरै समस्याको हल हुन्छ । यी विषयमा नागरिक निष्क्रिय भइदिँदा समयमै समस्याको जानकारी नहुने र त्यस्तो समस्याको जानकारी भए पनि समाधानका लागि तत्काल कार्य अगाडि नबढ्ने हुँदा समस्या बल्झिन्छ ।

हामी लोकतान्त्रिक राज्य व्यवस्थाका नागरिक हौँ । हामी बोल्न स्वतन्त्र छौँ । कम्तीमा आफ्नो नजिकको समस्याबारे तत्काल बोल्ने र समाधानका लागि घचघच्याउने गर्नुपर्छ । एउटा भनाइ छ, ‘आज नबोले भोलिसम्म सन्नाटा छाइसक्छ ।’ बोल्न ढिलो हुँदा हाम्रा आवाजहरू व्यर्थ भइरहेका छन् । हाम्रा समस्याहरू बल्झिएर हामीलाई पिरोलिइरहेका छन् । त्यसैले, समयमा बोलौँ र हाम्रा आवाजहरू सही तरिकाले सही ठाउँसम्म पु¥याऔँ । नागरिक हुनुको कर्तव्य निर्वाह गरौँ।

प्रकाशित: ९ श्रावण २०७५ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App