६ वैशाख २०८१ बिहीबार
अर्थ

भैरहवा भन्सारले राजस्व लक्ष्य भेटेन

भैरहवास्थित बेलहिया नाकाबाट नेपाल भित्रिएका मालबाहक गाडी । तस्बिर : रेखा/नागरिक

बुटवल –भैरहवा भन्सारले यसपटक राजस्व संकलनमा लक्ष्य भेटाउन सकेन । गत आर्थिक वर्षमा उसले लक्ष्यभन्दा झन्डै १३ प्रतिशत कम राजस्व असुलेको छ । आर्थिक वर्ष २०७४-७५ मा  भैरहवा भन्सारले ७० अर्ब आठ करोड ३७ लाख राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यभन्दा ११ अर्ब ३५ करोड रुपैयाँले कम हो।

विभागले भैरहवा भन्सारलाई गत आवमा ८१ अर्ब ४३ करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तीन वर्षअघिको मधेस आन्दोलन र नाकाबन्दीमा पूर्वी नाकाहरु ठप्प हुँदा भैरहवा भन्सारले आयात धानेको थियो । त्यतिबेला सवारी साधनका आयातकर्ता पूर्वबाट मोडिएर  भैरहवा आए । त्यसपछिका दुई वर्ष यो नाकबाट सवारी साधनको आयात ह्वात्तै बढ्यो । त्यसले भन्सारको राजस्व उल्लेख्य बढायो । तर यसपालि सवारी साधनको आयात घटेको छ । त्यसको प्रत्यक्ष प्रभाव राजस्व असुलीमा परेको भन्सारका सूचना अधिकृत कलिराम पौडेल बताए । अघिल्लो वर्ष कुल राजस्वमा सवारी साधनको योगदान ४४.७२ प्रतिशत थियो । यो वर्ष  ३७.२२ प्रतिशतमा झरेको छ।

संकटका बेला भैरहवा नाकातर्फ तानिएका आयातकर्ता यो वर्ष सवारी साधन आयातका लागि पायक पर्ने वीरगन्जतर्फै फर्किएका छन् । ‘अघिल्ला वर्षहरुमा सवारी साधनको आयात जुन गतिमा बढ्यो त्यही अनुपातमा विभागले लक्ष्य वृद्धि गरिदियो । तर यो वर्ष सवारी साधनको आयात बढेन बरु घट्यो । त्यसैको असर राजस्व संकलनमा देखिएको हो,’ भन्सारका सूचना अधिकृत पौडेलले भने । यो वर्ष क्लिंकरको आयात पनि केही घटेको छ । आन्तरिक उत्पादन बढेकाले आयात घटेको हो।

एकातिर आयात घट्नु र अर्कोतिर भारतमा लागू भएको अनलाइन सिस्टमका कारण भैरहवास्थित बेलहिया–सुनौली नाकामा लोडेड गाडी घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । भारतीय पक्षले सडकमै चेकजाँच गर्छ । मालबाहक गाडीहरु हप्ता दिनसम्म जाममा पर्न थालेपछि व्यवसायीले तुलनात्मक रुपमा सहज नाका खोज्न थालेका हुन् । भैरहवाबाट आयात हुने, क्लिंकर, खाद्यान्न तथा किराना मालसामानको आयात कपिलवस्तुको कृष्णनगर नाकातर्फ मोडिएकाले पनि राजस्व असुलीमा प्रभाव परेको भन्सार कार्यालयले जनाएको छ।

अघिल्लो वर्षको तुलनामा आयात घटे पनि कुल राजस्व असुलीको एक नम्बरमा सवारी साधन नै छ । यो नाकाबाट आयात भएको सवारी साधनबाट कुल २६ अर्ब आठ करोड ८४ लाख संकलन भएको छ । यो नाकाबाट आयात हुने उत्कृष्ट १० वस्तुमध्ये पहिलो नम्बरमा जिप–कार–भ्यान, दोस्रोमा मोटरसाइकल, तेस्रोमा एमएस बिलेट, चौथोमा डिजेल, पेट्रोल, पाँचौं नम्बरमा क्लिंकर, टायल छन् । खाद्यान्न र आलु–प्याजको आयात पनि उच्च छ।

संकलित कुल राजस्वमा २८ अर्ब ६५ करोड ८८ लाख भन्सार महसुल छ । यो रकम लक्ष्यको ८६.६३ प्रतिशत हो । भन्सारतर्फ ३३ अर्ब आठ करोडको लक्ष्य थियो । मूल्य अभिवृद्धिकर २७ अर्ब १५ करोड ९८ लाख र अन्तः शुल्कबाट १४ अर्ब २६ करोड ३७ लाख संकलन भएको छ । मूल्य अभिवृद्धिकरतर्फ लक्ष्यको जम्मा ७५ प्रतिशत राजस्व असुलेको भन्सारले अन्तः शुल्कमा लक्ष्यभन्दा १५ प्रतिशत बढी संकलन गरेको छ।

विभागले तोकेको लक्ष्य भेट्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व असुली १३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ०७३ - ७४ मा ६१ अर्ब ९८ करोड संकलन भएको थियो । भैरहवा नाकाबाट फेब्रिक सेन्थेटिक, रद्दी कागज, अदुवा सुठो, दालचिनी जस्ता केही जडीबुटीजन्य वस्तु तथा हस्तकलाका सामान जस्ता सीमित वस्तु थोरै परिमाणमा निकासी हुन्छ ।

 

प्रकाशित: ९ श्रावण २०७५ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App