काठमाडौं – आगामी भदौ ८ मा रिलिज हुने फिल्म ‘नाइ नभन्नू ल ५’को शीर्ष गीत ‘तिम्रो आँखामा आँखा जुधाइ’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार फिल्म युनिट र पत्रकारमाझ गीत सार्वजनिक गरियो।
गीतमा मेलिना राईको स्वर, वसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द रहेको छ । गीतमा स्वस्तिमा खड्का र अभिषेक नेपालले फिचरिङ गरेका छन् । विकासराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिषेकको डेब्यु अभिनय छ।
निर्देशक विकासले फिल्मका अघिल्ला संस्करण जस्तै नयाँ संस्करणमा पनि गीत सरल र सुमधुर बनेको बताए । ‘फिल्मको शीर्ष गीतसँगै अन्य गीतलाई पनि दर्शकले ‘नाइ नभन्नू ल’देखि नै मनपराइदिनुभएको छ । यसपटक पनि त्यस्तै माया पाउनेमा हामी विश्वस्त छौं,’ निर्देशक आचार्यले भने।
गीतका संगीतकार सापकोटाले यसपटक गीतको संगीतमा केही फरकपना दिन खोजेको बताए । ‘अघिल्ला गीतमा भन्दा यो गीतको सांगीतिक पाटोमा केही परिवर्तन दिएको छु । संगीतमा केही फरकपना दर्शकले अवश्य पाउनुहुनेछ,’ उनले भने, ‘इलाम, सिन्धुली बर्दिवास सडक, गोदावरीलगायतका स्थानमा खिचिएको गीतमा स्वस्तिमाले प्रेमी अभिषेकलाई फकाउँदै गरेको देख्न सकिन्छ।’
वान टाइम सिनेमाको ब्यानरमा निर्माण गरिएको फिल्ममा दिलीप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, उत्तम केसी आदि कलाकारको अभिनय रहेको छ ।
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ ।फिल्ममा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल कार्यकारी निर्माता तथा हरिबोल भण्डारी र गौरीराज जोशी निर्माता छन् ।
प्रकाशित: ९ श्रावण २०७५ ०२:२५ बुधबार