७ वैशाख २०८१ शुक्रबार
समाज

१५ लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान

सर्लाही - सर्लाहीमा सोमबार करेन्ट लागेर मृत्यु भएका दुई जनाको शव अझै पोस्टमार्टम हुन सकेको छैन।

मृतकका परिवारले सरकारले क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने अडान लिएपछि दुवै शव दुई दिनदेखि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमै थन्किएका हुन् । गर्मी मौसम भएकाले दुई दिनदेखि शव त्यसै राखिँदा दुर्गन्ध फैलन थालेको स्थानीय बासिन्दाले बताएका छन् । सोमबार दिउँसो करेन्ट लाग्दा हरिपूर्वा नगरपालिका–९, वसन्तपुरको बगेबागाउँका ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको थियो । घटनामा २० वर्षीया फूलोदेवी महतो घाइते भएकी छन्।

सोमबार दिउँसो साढे ३ बजे मोबाइल चार्ज गर्न घरमा रहेको स्वीच अन गर्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियोे । ११ हजार भोल्टेज्को हाइटेन्सन लाइनको तार खसेर घरमा वितरण गर्ने २ सय ४० भोल्टेजको तारमा छोएका कारण हाइ भोल्टेज् आउँदा स्वीच अन गर्ने क्रममै उनीहरूलाई करेन्ट लागेको बताइएको छ।

विद्युत् प्राधिकरणको लापरवाहीका कारण उनीहरूको मृत्यु भएको भन्दै मृतकका परिवार एवं स्थानीय बासिन्दाले १५ लाख रुपैयाँका दरले क्षतिपूर्ति तथा पीडित परिवारका एक सदस्यलाई रोजगारको ग्यारेन्टी नभएसम्म शव पोस्टमार्टम गर्न नदिने अडान लिएका छन् । मृतक नरेन्द्र चौधरीका छोरा सुवास चौधरीले परिवारका कमाएर खुवाउने एक मात्र अभिभावकको मृत्युले आफूहरूको विचल्ली भएको गुनासो गरे । ‘घरमा काम गर्ने बुवा मात्र हुनुहुन्थ्यो, अब उहाँको मृत्यु भएपछि हामीहरू कसरी गुजारा गर्नु ?’, उनले भने, ‘क्षतिपूर्ति नपाएसम्म र रोजगारीको ग्यारेन्टी नभएसम्म शव पोस्टमार्टम गरेर मात्र के गर्नु ?’

क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने परिवारको अडानका कारण दुई दिनदेखि अस्पतालमा थन्किएका दुई शव गन्हाउन थालेका छन् ।

राजपाका नेता एवं कविलासी नगरपालिकाका मेयर कौशलकिशोर रायले विद्युत् प्राधिकरणका कर्मचारीको गम्भीर लापरवाहीका कारण उनीहरूको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवारको माग जायज भएको बताए । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय, मेयर राय लगायतको टोलीले मंगलबार पीडित परिवारको माग सम्बोधन नगरेसम्म शव नबुझ्ने व्यहोराको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ।

हावाहुरीका कारण बाँसको झट्काले ११ हजार भोल्टेजकोे हाइटेन्सन पोलको तार चुँडिएर २ सय ४० भोल्टको तारमा खस्न पुग्दा हाइ भोल्टेज् विद्युत् प्रवाह भएको विद्युत् प्राधिकरण मलंगवा शाखाका निमित्त प्रमुख इन्जिनियर विजयकुमार सिंहले बताए । यसमा कर्मचारीको कुनै लापरबाही नभएको उनले दाबी गरे । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले विद्युत् प्राधिकरणको नियमानुसार अधिकतम क्षतिपूर्ति उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइसकिएको बताएका छन्।

प्रकाशित: ९ श्रावण २०७५ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App