७ वैशाख २०८१ शुक्रबार
समाज

उपचार गराउन ऋण काढेर अस्पताल

बाटोमा लत्रिएका तारका कारण करेन्ट लागेर घाइते भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउँदै रुकुमकी १४ वर्षीया मंजिता रोक्का । तस्बिर : नागरिक

काठमाडौं - रुकुमकी १४ वर्षीया मंजिता रोक्का यतिखेर त्रिवि शिक्षण अस्पतालको बर्न वार्डमा छिन् । उनलाई गाउँदेखि माथि खावाङ जाँदा बाटोमा करेन्ट लाग्यो, जसका कारण पेट र हातमा गम्भीर चोट लागेको छ।

उनी एक महिनादेखि यो अस्पतालमा उपचार गराउँदै छिन् । घटना विवरणअनुसार उनी घरबाट हिँडेर एक घण्टामा पुगिने ठाउँमा घाँस काट्न जाँदै थिइन् । बाटोमा बिजुलीका पोल ढलेर नांगो तार छिरलिएका थिए । विकल्प नभएपछि उनी त्यही बाटोबाट अघि बढिन्।

गत असार पहिलो साता आएको हावाहुरीका कारण पोल ढलेका थिए । पोल ढलेको दुईतीन दिनसम्म पनि प्राधिकरणले मर्मत गरेको थिएन । त्यो दिन गाउँमा बिजुलीको लाइन बन्द भएकाले मंजितालाई करेन्ट लाग्दैन भन्ने लाग्यो । उनी बिजुलीको पोल ढलेकै बाटो अघि बढ्दै थिइन् ।

एक्कासि करेन्ट लाग्यो । उनी बेहोस भएर ढलिन् । ‘बाटो अर्को थिएन, त्यो दिन बिजुली आएको पनि थिएन, त्यही भएर त्यही बाटो हिंडें’, उनले भनिन् ।खुट्टामा लगाएको प्लास्टिकको जुत्ता बिजुलीको तारमा परेपछि उनलाई करेन्टले छोडेको थियो । घटनापछि उनलाई सीधै शिक्षण अस्पताल ल्याइएको हो । मंजिताका अनुसार काठका पुराना पोल भएकाले ढलेका हुन् । विद्युत् प्राधिकरणले पोल ढलेको धैरै दिनसम्म मर्मत गरेको थिएन ।

रोक्का परिवार सामान्य खेतीपातीको भरमा जीविका चलाउँछन् । मंजिताको उपचारका लागि रोक्का परिवारले ऋण खोज्नुप¥यो । एक लाख १० हजार रुपैयाँ क्रण खोजेर अस्पताल ल्याएको परिवारले बताएको छ । पूर्ण उपचारका लागि अझै समय लाग्ने चिकित्सकले बताएका छन् ।विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेका कारण मंजितालाई करेन्ट लागेको आरोप गाउँलेको छ । प्राधिकरणको लापरबाहीका कारण मंजितालाई करेन्ट लागेको भए पनि रोक्का परिवारलाई कसरी क्षतिपूर्ति लिने भन्नेबारे जानकारी छैन । ‘कहाँ गएर पैसा माग्ने, केही थाहा छैन’, मंजिताकी आमा सन्पता रोक्काले मंगलबार नागरिकसित भनिन् ।

विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेका कारण मंजितालाई करेन्ट लागेको आरोप गाउँलेको छ । प्राधिकरणको लापरबाहीका कारण मंजितालाई करेन्ट लागेको भए पनि रोक्का परिवारलाई कसरी क्षतिपूर्ति लिने भन्नेबारे जानकारी छैन ।

नाङ्गो तारकै कारण करेन्ट लागेका तनहुँ, दमौलीका १७ वर्षीय रोशन गुरुङ पनि सोही वार्डमा उपचार गराइरहेका छन् । उनलाई साउनको २ गते करेन्ट लागेको हो । गुरुङका अनुसार गत साउन २ उनी घरको दोस्रो तलामा पुगेका थिए । गर्मीका कारण शीतल खोज्न उनी बरन्डामा पुगेका थिए । बरन्डामा अडेस लगाएर उभिँदै थिए । त्यहींनिर फलामे डन्डीसहितको कुचो थियो । उनले त्यो कुचो छोए । कुचोले घरसँगै जोडिएको ट्रान्समिटरको तार छोयो अनि उनलाई करेन्ट लाग्यो।

घटनालगत्तै पोखरा मणिपाल अस्पताल हुँदै उनलाई त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको हो । रोशनकी आमा मनुका अनुसार पहिलादेखि नै बिजुलीको ट्रान्समिटरको तार घरको एकदमै नजिक थियो । प्राधिकरणलाई भनेपछि त्यहाँका कर्मचारीले थोरै पर पोल सारेका थिए । ट्रान्समिटर बेलाबेलामा पड्किरहन्थ्यो । पोल यति नजिक थियो कि सजिलै छुन सकिन्थ्यो । पोल नजिकै भएकै कारण रोसनलाई करेन्ट लागेको मनुको दाबी छ । ‘यसको क्षतिपूर्ति प्राधिकरणले दिनुपर्छ’, उनले मंगलबार नागरिकसित भनिन् ।

यस्तै स्याङ्जाका ११ वर्षीय बालक धर्मगत भुसाल पनि सोही वार्डमा उपचार गराउँदै छन् । उनको परिवार केही वर्षदेखि नेपालगन्जको कोहलपुरमा बसोवास गर्थे । गत असार ३१ गते साँझ उनी घर परिसरमै फुटबल खेलिरहेका थिए । फुटबल उफ्रेर घरको छानामा पुग्यो । त्यो लिन उनी भर्याङ चढेर छानामा पुगे । बल भुइँमा खसाएर फर्किंदा छानामै उनको खुट्टा चिप्लियो । पल्लो घरमा रहेको गुराँस सोयाबिन फ्याक्ट्रीमा जडान गरेको तारले छोयो । उनी छानामै ढले । एक जना दाजु पुगेर उनलाई तल झारे ।

करेन्टका कारण उनले एउटा हातै गुमाएका छन् । खुट्टामा पनि असर परेको छ । घटनालगत्तै उनलाई स्थानीय अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो ।उनी घरिघरि आफ्नो गुमेको हात हेर्दै टोलाइरहेका हुन्छन् । भुसाल परिवार कारखानाको सामान्य जागिरको भरमा जीविका चलाउँथे । उनी घाइते भएपछि परिबारका सबै सदस्य ऋण खोजेर काठमाडौं आएका छन् । ‘सम्पत्ति पनि छैन, कमाइ पनि छैन, अब उपचार कसरी गर्नु,’ यो उनीहरुको चिन्ता हो ।

अस्पतालको बर्न तथा प्लास्टिक सर्जरी विभागका अनुसार करेन्ट लागेर प्रतिवर्ष १५ देखि २० जना उपचारका लागि आउँछन् ।ग्रामीण क्षेत्रमा नाङ्गो तारका कारण करेन्ट लागेर अस्पताल आउने बढी रहेको सम्बन्धित चिकित्सकले बताएका छन् । कीर्तिपुर अस्पतालका बर्न प्लास्टिक सर्जन शंकरमान राईका अनुसार करेन्ट लागेपछि बाहिर घाउ कम देखिन्छ तर भित्र गम्भीर असर पुर्याएको हुन्छ ।

 

 

 

प्रकाशित: ९ श्रावण २०७५ ०१:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App