सुर्खेत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा निगरानी बढाएको बताएको छ। पछिल्लो समय स्थानीय तहमा हुने भ्रष्टाचारहरुका उजुरीहरु आउनेक्रम बढेको अख्तियारले जनाएकोे छ। ‘एक वर्षसम्म हामी सुशासन, सदाचार र आर्थिक पारदर्शिताका विषयमा सिकाउने काम ग¥यौं, अब एक्सनमा जान्छौं’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयका प्रमुख रविलाल पन्थले भने, ‘कार्यक्षेत्रमा रहेका ११ वटै जिल्लाका स्थानीय तहलाई अहिले सुक्ष्म निगरानीमा राखेका छौं।’ उनले उजुरी छानविनका लागि स्थलगत अनुगमनलाई पनि तिब्रता दिइएको बताए।
अख्तियारको सुर्खेतस्थित कार्यालयले अघिल्लो आर्थिक वर्ष परेका सात सय ५१ उजुरीमध्ये दुई सय ९४ उजुरीको स्थलगत अनुगमन गरेको छ। ‘अनुसन्धानलाई प्रभावकारी बनाउन र तथ्य संकलनका लागि स्थलगत अनुगमनमा जोड दिएका छौं’ पन्थले भने, ‘चालू आर्थिक वर्षमा यसलाई अझ तिव्रता दिन्छौं।’ अख्तियारको सुर्खेतस्थित कार्यालयले कर्णाली प्रदेशका १० जिल्लासहित ५ नम्वर प्रदेशको पूर्वी रुकुम पनि हेर्ने गरेको छ।
अख्तियारका अनुसार सबैभन्दा धेरै उजुरी शिक्षासँग सम्वन्धित हुन्छन्। गत आर्थिक वर्षमा परेका उजुरीमध्ये दुई सय २७ शिक्षासँग सम्वन्धित छन्। ‘विद्यालय भवन निर्माणमा अनियमितता, छात्रवृत्तिको रकममा दुरुपयोग, विद्यालय कोषको रकम हिनामिना, शिक्षक–कर्मचारी नियुक्तीमा अनियमिताता लगायतका उजुरी धेरै पर्ने गरेका छन्’, उनले भने, ‘परेका उजुरी मध्ये एक सय ७६ फछ्र्यौट गर्न सफल भएका छौं।’
दोस्रोमा संघीय मामिला तथा स्थानीय विकाससँग सम्वन्धीत उजुरीहरु पर्ने गरेका छन्। गत आर्थिक वर्षमा यस्ता उजुरी दुई सय १९ परेका थिए। ‘सामाजिक सुरक्षा भत्तामा अनियमितता, उपभोक्ता समितिमार्फत हुने काममा भ्रष्टाचार, भवन, सडक, पुल निर्माणमा अनियमिततालगायताका उजुरीहरु पर्ने गरेका छन्’ पन्थले भने, ‘स्थानीय विकाससँग सम्वन्धीत एक सय ७४ उजुरी फछ्र्यौट गरेका छौं।’ कार्यालयका अनुसार वन तथा भू–संरक्षण सम्बन्धी ८२, स्वास्थ्य सम्बन्धी ३६, उर्जा सम्बन्धी २६, खानेपानी सम्बन्धी २४ उजुरी अघिल्लो आर्थिक वर्षमा दर्ता भएको उनले जानकारी दिए।
अख्तियारका अनुसार सबैभन्दा धेरै उजुरी सुर्खेत र दैलेख जिल्लाका छन्। गत आर्थिक वर्ष सुर्खेतबाट १६४, दैलेखबाट १४७ उजुरी परेको कार्यालयले जनाएको छ। यस्तै जाजरकोटबाट ९७, कालिकोटबाट ९५, हुम्लाबाट ५८, सल्यानबाट ४९, रुकुम (पश्चिम) बाट ४४, जुम्लाबाट ३८, मुगुबाट ३२, डोल्पाबाट २२ र पूर्वी रुकुमबाट ५ वटा भ्रष्टाचारसम्बन्धी उजुरीहरु परेको अख्तियारले जनाएको छ।
अख्तियारको सुर्खेतस्थित कार्यालयमा आर्थिक वर्ष ०७४/०७५ मा परेका भ्रष्टाचार सम्वन्धी उजुरीहरुमध्ये ५७१ उजुरी फछ्र्यौट भएका छन्। तीमध्ये ३३९ मुद्दा तामेली गरिएको छ भने १०१ उजुरी एकीकरणका आधारमा फछ्र्यौट गरिएका छन्। यस्तै, विस्तृत अनुसन्धानको माध्यमबाट ३९ उजुरी फछ्र्यौट गरिएका छन् भने ३१ उजुरी अनुसन्धान सकेर केन्द्रमा पठाइएको र सातवटा उजुरी अन्य निकायमा पठाइएको कार्यालयले जनाएको छ।
कार्यालयबाट सुर्खेतका १४०, दैलेखका १२३, जाजरकोटका ५७, कालिकोटका ६५, हुम्लाका ४२, सल्यानका ४१, रुकुम (पश्चिम) का ३४, जुम्लाका २७, मुगुका २१, डोल्पाका १८ र रुकुम (पूर्व) का तीनवटा उजुरी फछ्र्यौट भएका छन्।
आर्थिक वर्ष २०७४/०७५ मा छ जनालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। ईलाका वन कार्यालय मेहलकुना सुर्खेतमा कार्यरत वन रक्षक हरिलाल राना, मालपोत कार्यालय सुर्खेतमा कार्यरत खरिदारद्वय धर्मराज सुवेदी र ओमबहादुर सुनार, जिल्ला वन कार्यालय रुकुम (पश्चिम) मा कार्यरत सहायक वन अधिकृत रोहितकुमार साह, ग्रामिण वित्त सहायक सन्दीप अधिकारी र जिल्ला प्राविधि कार्यालय जाजरकोटमा कार्यरत ईन्जिनियर अजयकुमार देवलाई अख्यिारको सुर्खेतस्थित कार्यालयले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।
हरिलाल राना, धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई आर्थिक वर्ष ०७४÷०७५ मा पक्राउ गरिएको हो भने रोहितकुमार साह, सन्दीप अधिकारी र अजयकुमार देवलाई चालू आर्थिक वर्षमा पक्राउ गरिएको कार्यालयले जनाएको छ। उनीहरुबाट ४ लाख १ हजार रुपैयाँ नगद घुस रकम वरामद गरिएको छ।
प्रकाशित: ८ श्रावण २०७५ १३:०१ मंगलबार