७ वैशाख २०८१ शुक्रबार
खेल

चेल्सीमा सारीको सफल सुरुआत

लन्डन – पेड्रो रोड्रिग्वेजले गरेको गोलमा चेल्सीले सोमबार पर्थ ग्लोरीलाई १–० ले पराजित गरेको छ । अस्ट्रेलिया भ्रमणमा पाएको सफलतासँगै चेल्सीमा नयाँ प्रशिक्षक माउरिसियो सारीले राम्रो सुरुआत गरेका छन्। 

बार्सिलोनाका पूर्वफरवार्ड पेड्रोले पहिलो मिनेटमै गरेको गोल चेल्सीको जितमा पर्याप्त बन्यो । पेड्रोको गोलमा १७ वर्षे कालुम हड्सन–ओडोईले अवसर सिर्जना गरिदिएका थिए । सारीको टोलीमा रहेका तीन युवा खेलाडीमध्ये हड्सन ओडोई एक हुन् । चेल्सीले हड्सन ओडोईसँगै  पोल्यान्डका १८ वर्षे गोलकिपर मार्सिन बुल्का र वेल्सका १७ वर्षे रक्षक इथान अम्पाडुलाई मैदान उतारेको थियो। 

भर्खरै क्लबसँग अनुबन्धित भएका जर्जिन्होलाई पनि चेल्सीले अस्ट्रेलियाको ‘ए’ लिगको टोली पर्थ ग्लोरीविरुद्ध खेलाएको थियो । नयाँ सिजनका लागि नेपोलीबाट ५ करोड पाउन्डमा लन्डन पुगेका जर्जिन्होको चेल्सीबाट यो पहिलो खेल हो । रोस बार्कली, सेस फाब्रिगास र मार्कुस एलोन्सोले गोलका लागि गरेका प्रयास सफल भएनन्। 

चेल्सी अब इन्टरनेसनल च्याम्पियन्स कपका लागि फ्रान्स भ्रमणमा निस्कनेछ । जहाँ प्रिमियर लिगको क्लबले शनिबार इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि चेल्सीले डब्लिनमा आर्सनलसँग अगस्ट १ मा प्रतिस्पर्धा गर्नेछ । सारीको चेल्सीले अगस्ट ५ मा कम्युनिटी सिल्डका लागि म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ । त्यसको दुई दिनपछि चेल्सीले लियोनसँग घरेलु मैदानमा खेल्नेछ । अगस्ट ११ मा चेल्सीले हडर्सफिल्डविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ।

प्रिसिजनमा जोजे माउरिन्होको खराब प्रदर्शनले आइतबार राति पनि निरन्तरता पायो । एलेक्सिस सान्चेज टोलीमा फर्किए पनि म्यानचेस्टर युनाइटेड सान जोस अर्थक्विकसँग गोलरहित बराबरीमा रोकिएको छ । यसअघि युनाइटेड मेक्सिकोको क्लब अमेरिकासँग १–१ को बराबरीमा रोकिएको थियो । पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा युनाइटेडले बराबरीमा रोकिनुपर्याे । त्योभन्दा एन्टोनियो भ्यालेन्सियाको चोट युनाइटेडका लागि चिन्ताको विषय बनेको छ । पिडाैंलामा चोट लागेपछि भ्यालेन्सियाले १० मिनेट नबित्दै मैदान छाडेका थिए। 

‘सान्चेजले आज राम्रो खेले,’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, ‘थोरै अभ्यासपछि पहिलो पटक उनी टोलीमा खेलेका हुन् । उनले मिहिनेत गरेका छन् । यो अर्को एउटा अभ्यास खेल हो । यो पहिलो रोजाइको टोली होइन । यो टोलीमा कोही यु–२३ का, कोही यु–१८ का खेलाडी छन् भने कोही पहिलो रोजाइका छन्।’

युनाइटेडले अब इन्टरनेसनल च्याम्पयन्स कपमा एसी मिलान, लिभरपुल र रियाल मड्रिडविरुद्ध खेल्नेछ । सिजनपूर्वका अन्य मैत्रीपूर्ण खेलमा नेपोलीले कार्पीलाई ५–१ ले हराउँदा एभर्टन एफसी पोर्टोसँग १–० ले पराजित भयो।

 

प्रकाशित: ८ श्रावण २०७५ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App