८ वैशाख २०८१ शनिबार
विचार

प्रम ओलीको बोली र छवि

दुई दशकअगाडि पूर्वी एशियाको बर्मा र थाइल्यान्ड सीमामा गैरकानुनी कामगरेर‘अपराधी घोषित’ एकजना व्राह्मण भागेर नेपाल आउँछन् । ब्राह्मणको नेपालमा सत्तासँग पहुँच भएका प्रभावशाली परिवार थिए । उनले तिकडमगरी सरकारी सेवाबाट रिटायर्ड सचिवदेखि नेताहरूलाई आफ्नो पछि लगाउँछन् । मेडिकल कलेज खोल्न शासक र प्रशासकको नेटवर्किङ बन्छ । मोटो कमिसनको लेनदेनबाट ब्राह्मणले बैंकबाट ऋण सहजै पाउँछन् । उप्रान्त उनी मेडिकल माफियाको सरगाना बन्छन र काठमाडौँदेखि तराई सम्म मेडिकल कलेज ‘खोल्ने/बेच्ने धन्दा’ मा अझै संलग्न छन्।

मध्य पश्चिम नेपालमा तराईमूलका एउटा प्रभावशाली परिवार चिनी उत्पादनमा लागेका थियो ।बैंकको डिफल्टर भएका कारण राजनीतिक संरक्षणमा बैंक ऋण मिनाहा प्रक्रिया अगाडि बढ्यो, भयो पनि । यही क्रममा परिवारले मेडिकल कलेज खोल्ने सोच बनाए। अहिले मेडिकल कलेज खोली ती समृद्धिको उकालो लागेका छन् । राजनीतिक हैसियत पनि बढाएका छन्।

काठमाडौँ बस्ने पूर्वी पहाडका केही ठिटाहरू सानातिना सप्लाइको काम गर्थे सिंहदरवारभित्र । यसैक्रममा केही उच्च प्रशासकसँग लेनदेनका कारण तिनको हिमचिम हुन्छ । उच्च प्रशासकले दिव्य ज्ञान दिन्छन्–‘निजी विद्यालयमा फाइदा छ, रातारात धनी हुन सकिन्छ’ भनी । बानेश्वरमा ठिटाहरूले निजी स्कुल खोल्छन् । स्कुलबाट शासक र प्रशासकसँग हिमचिम बढ्यो । ठिटाहरू मेडिकल कलेजबाट हुने फाइदाको हिसाबकिताब गरी सधँै बेचैन रहन्थे । अन्ततः ठिटाहरू सफल हुन्छन् र पूर्वी नेपालमा निजी मेडिकल कलेज खुल्छ।

एक्काइसौँ शताब्दीको नेपालमा राज्य रूपान्तरणको अनेकन् अवसर हुँदाहुँदै पनि किन प्रम ओली खुद्रा मसिना काममा लागेर देश, जनता र आफ्नै इमेज पनि रसातलमा पुगाउँदैछन्? आश्चर्य छ।

नेपालमा निजी मेडिकल कलेज समाजका प्रतिष्ठित व्यापारी, उद्योगपति वा समाजसेवीले नभई सत्ताका दलालहरूले खोलेका दृष्टान्त हुन माथिका उदाहरण । तिनको एकमात्र ध्येय कसैगरी उच्च नाफा कमाउनु नै रहेको छ । तिनै मेडिकल माफियाले शासक र प्रशासकसँग लेनदेनबाट हैसियत बढाएर पछिल्ला दिनहरूमा अपराधी, अपरहरण र बलजफ्ती गरेका घटना पनि सामान्यझैँ भएर आएका छन् । त्यस्तै निजी शैक्षिक संस्था चलाएर अकुत नाफाबाट नेतालाई नजराना चढाएर शिक्षाप्रेमीको आवरणमा सांसद भएका कैयन् उदाहरणपनि छन् । नेपालमा मेडिकल कलेज खोल्ने सोच, उद्देश्य र सञ्जाल बुझ्न माथि मैले तीनवटा उदाहरण अगाडि सारे । यसका भित्री पाटा यति विकृत र लालचले भरिएका छन् कि गौरीबहादुर कार्कीको एउटै वाक्य ‘सुन तस्करीभन्दा मेडिकल माफिया चाँडै धनी हुन्छन्’ भन्ने शब्दले छर्लंग पार्छ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले मेडिकल माफिया सत्ताकोविरासतमै पाएका हुन् भनी अहिले उम्कन सक्ने वातावरण छैन । निसन्देह नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा जरा गाडेको विकृत रूपलाई सामान्य उपचारले मात्र अबकम गर्न सम्भव छैन । सामान्य उपचार ‘मूतको न्यानो’ जस्तो हुन्छ । देशलाई दिगो समृद्धिको बाटोमा लिएर जाने हो भने सबैभन्दा पहिले शिक्षा र स्वास्थ्यमा देशले अब कस्तो नीति अगाडि बढाउने भनी गम्भीर बहस, छलफल र निर्णयमा पुग्ने समय भयो । तर यसका लागि सबैभन्दा पहिले नेपालका ‘तथाकथित कामरेड’ हरूलेशिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने ठाउँ होइन भनी प्रण गर्नुपर्छ, पार्टी निर्णय गरी यो क्षेत्रमा लगानी गर्नबाट हट्नुपर्छ।

नेपालका कम्युनिस्टहरूमा एउटा रोग छ– हिजो कांग्रेसले ग-यो, अहिले हामीले किन गर्न नहुने भनेर । कम्युनिस्टहरू किन कांग्रेसको खराव पक्षको नक्क्ल गर्न तम्सन्छन् भन्ने बुझिनसक्नु छ । कांग्रेस जनतासँग चँुडिएकै कारण कम्युनिस्टहरूले ठाउँ पाएका हुन् र कम्युनिस्टले केही फरक गर्छन् भनी जनताले पत्याएका हुन् नेपालमा । एकपटक दक्षिण एशियाको राजनीति मुन्टो घुमाएर नेपालका कम्युनिस्टले हेरुन् त, छ कहीँ कम्युनिस्ट सत्ता दक्षिण एशियामा नेपालबाहेक?

नेपालका कम्युनिस्टहरूलाई सामाजिक न्याय, लोककल्याणकारी राज्य र समनतामुखी समाजका लागि आकर्षक र भरोसायोग्य पार्टी हो भनी विश्वास गर्थे आमनेपाली । नेपालका कम्युनिस्टहरूले यही शक्तिमा आफूलाई नउभ्याएर कांग्रेसको भद्धा नक्कल किन गर्नुपरेको हो? बुझिनसक्नु छ।

डा. गोविन्द केसीको १५औँ पटकको आमरण अनशन नेपालको कम्युनिस्ट सरकारका लागि ठूलो अवसर भएर आएको थियो यो पटक । कम्तीमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसंगतिलाई सम्बोधन गर्नका लागि, हस्तक्षेप गर्नका लागि । तर ओली सरकार मनमोहनको नाममा खोलिएको अस्पताल र झापाको कुनै प्रसाईको मेडिकल कलेजलाई सम्बोधन गर्ने नाममा देश र देशबासीको सामाजिक न्याय र समाजवादतर्फको यात्रालाई चटक्क बिर्सन पुगेको छ।

किन उपकुलपतिलाई प्रहरी दौडाएर अन्तर्राष्ट्रिय विमानस्थलमै समात्न पठाएको? किन ‘असारे विकास’ गरेर राष्ट्रिय ढुकुटी समाप्त गरी आफ्ना कार्यकर्ता र लठैतहरूको भरणपोषणमा लाग्नुपरेका होला प्रमलाई?

कुनै समय नेपालको पहिलो कम्युनिस्ट पुस्ता सहर र गाउँका गरिबलाई आफ्नै खर्चमा रात्रि र दिवा पाठशाला सञ्चालन गरेर पढाउँथै । सहर र गाउँका गरिब जनतालाई सामाजिक न्याय, राष्ट्रवाद, मुक्ति आन्दोलन र अनेकन् सिपमात्र होइन, राजनीतिक चेतना वृद्धि गर्न पनि व्यक्तिगत र पारिवारिक जीवनलाई पर्वाह गर्दैनथे । विराटनगरको रात्रि विद्यालय होस् वा वीरगन्जको, त्यहाँ समाज र देश परिवर्तन गर्ने प्रेरणाले शिक्षित मध्यमवर्गीय कम्युनिस्टयुवाहरू पढाउन पुग्थे । तिनै आदर्श पुरुषहरूको त्याग र निस्वार्थ भावले दक्षिण एशियामा नेपाल कम्युनिस्ट आन्दोलनको केन्द्र भयो, अझै छ।

डा. गोविन्द केसी नाफाखोर मेडिकल शिक्षाविरुद्ध सत्याग्रही हुन रुचाए, अब त हठयोगी नै भइसके ।  उनलाई राजनीतिक रंग दिने र विदेशी मेडिकल कलेजलाई प्रोत्साहन दिन अनशन बसेको भनी लाञ्छित गरिन्छ सरकारका प्रवक्ताबाट । योभन्दा निर्लज्ज कम्युनिस्ट सरकारको उदाहरण अरु के नै हुनसक्छ र? कम्युनिस्टसरकारले गोविन्द केसीको अनशनलाई कुनै पार्टीविशेषको रंग दिएर चोखो हुन चाहेको छ भने ठोकुवा गरेर भन्न सकिन्छ, यीभन्दा महामूर्ख नेपालमा अब कोही रहेनन् ।यो ज्ञानेन्द्रपथतिर लागेको संकेत हो । गोविन्द केसी प्रतीक हुन् नेपाली समाजको गर्भगृहमा सामाजिक न्याय र समानतामूलक आन्दोलनको ज्वालामुखी दन्किरहेको । यो ज्वालमुखी फुट्छ र त्यो लावाले बेपर्वाह सत्तालाई मात्र होइन, यस्ता सोच भएकालाई पनि भष्मभूत पार्छ।

म यहाँ गतअमेरिकी निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार क्याम्पेनमा बर्नी सेन्डरले बोेलेका शब्द सापटी लिन चाहन्छु– हामी समस्यामा छौँ, समाधानका उपाय छन् । यतिखेर लाखौँ केटाकेटी अभावमा छन् अमेरिकामा । तिनीहरूसँग सन्तुलित खाना छैन, औषधि छैन, घर छैन । तर रुलिङ वर्ग सुधारलाई विरोध गर्छ । किनकि तिनलाई सबैथोक पुगेको छ । हामीले अब नयाँ लोकतन्त्रको यस्तो परिभाषा खोज्नु छ जसमा अभाव र वञ्चनामा परेका अमेरिकी जनताको मात्र होइन, विश्वका ती तमाम गरिब र अभावमा परेका पीडित सम्बोधन हुन सकून् । समृद्ध अमेरिका बनाउन अहिलेको रुलिङ वर्गलाई ‘डिस्ट्राव’ गर्न सक्नुपर्छ जसले हाम्रो देशलाई बर्बाद पारेको छ।

बर्नी सेन्डरका अभिव्यक्तिलाई समाजवादी दृष्टिकोण भनी डेमोक्रेटिक पार्टीकै गोरे जनताले हाँसोमा उडाए । सेन्डर हार्दा विश्वमा समाजवाद र समानतामूलक समाज निर्माणको मिसन भाँचियो । तर पनि उनी र उनी जस्तै ओज र जोशले इग्ल्यान्डमा जर्मी कोर्वे सामाजिक न्यायका लागि लेबर पार्टीका तर्फबाट लड्दैछन् । सामाजिक न्यायकालागि लड्ने अमेरिकी र बेलायती नेता कम्युनिस्ट होइनन् तर नेपालका कम्युनिस्टभन्दा कैयन् गुना कम्युुनिस्ट छन्, समाजवादी छन्।

नेपालमा शासकीय सुधार गर्ने काम सजिलो छैन । त्यसका लागि इमान भएको नेता चाहिन्छ । राजनीतिक इच्छाशक्ति चाहिन्छ । जस्तो बिपी कोइरालाले गरेका थिए ६ दशक अगाडि । बिपी प्रतिपक्षी नेताको विश्वास र भरोसा जितेर सामाजिक सुधार, कानुनी शासन, पारदर्शी शासन शैली, भूराजनीतिको सन्तुलन र राष्ट्रिय विकास नीतिको ढाँचा तयार पार्न सफल भएका थिए । एक्काइसौँ शताब्दीको नेपालमा राज्य रूपान्तरणको अनेकन् अवसर हुँदाहुँदै पनि किन प्रम ओली खुद्रा मसिना काममा लागेर देश, जनता र आफ्नै इमेज पनि रसातलमा पुगाउँदैछन् ? आश्चर्य छ।

केदारभक्त माथेमा आयोगको रिपोर्टअनुसार चिकित्सा विधेयक ल्याउँदा के ओली सरकार कम्युनिस्टबाट कांग्रेस हुन्छ ? किन माइतिघर मण्डला यतिखेर निषेधित क्षेत्र घोषणा गर्नुप¥यो ? के बिग्रन्थ्यो त्यहाँ असहमत पक्षले शान्तिपूर्वक भेला भएर सरकारलाई खबरदारी गर्दा ? किन उपकुलपतिलाई प्रहरी दौडाएर अन्तर्राष्ट्रिय विमानस्थलमै समात्न पठाएको ?किन ‘असारे विकास’ गरेर राष्ट्रिय ढुकुटी समाप्त गरी आफ्ना कार्यकर्ता र लठैतहरूको भरणपोषणमा लाग्नुपरेका होला प्रमलाई ?कानुनमन्त्री र प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीको अभिव्यक्तिले कस्तो समाज र कस्तो लोकतान्त्रिक संस्कार विकास गर्न खोजेको हो? आश्चर्य छ।

के संसद्मा भएको दुईतिहाइ शक्तिको प्रयोग यस्तै नचाहिने ठाउँमा खर्चिने हो ? बेकारको काममा प्रम ओली फसेर अपजस कमाउँदैछन् र आफ्नो ओज र तेज पनि गुमाउँदैछन् । अब डा. केसीको मागलाई सम्बोधन गरी आफ्ना सहयोगी टिम र मन्त्रिमण्डलका निकम्मा सदस्यहरूलाई घरको बाटो नदेखाइ दुईतिहाई सरकारले जनताबीच गुमेको साख पुनस्र्थापित गर्न सक्ला ? शंका छ । सत्तामा बस्नुअघि नेताहरू क्रान्तिकारी हुन्छन्, जनताको दुःखहरण गर्ने अवतार भएर प्रकट हुन्छन् नेपालमा । प्रम ओली पनि त्यस्तै थिए । सत्तामा बसेपछि नेताको रेटिङ घट्छ, व्यक्तित्व खुम्चन्छ र सत्तास्वार्थमा लिप्त भएर धृतराष्ट आचरण बल्झन्छ । प्रम ओली यतिखेर त्यस्तै उदाहरण पेश गर्दैछन्।

प्रम ओलीले संसद्को रोस्टममा उभिएर मेरो निष्ठा एकलव्यको जस्तो छ भनेको सुनियो । एकलव्य आदिवासी भिल्ल थिए, गरिब र वञ्चनामा परेको समुदायका थिए । पाण्डवहरूका गुरु द्रोणाचार्यले उनलाई शिक्षा दिन मानेनन् । तर एकलव्यको औँला भने काटेर गुरु दक्षिण मागे । एकलव्य अन्यायमा परेका पात्र हुन् महाभारतमा ।  तर यहाँ त  डा. केसीको माग एकलव्यले पनि न्याय पाओस् भनी केन्द्रित छ । खोइ बुझेको प्रम ओलीले?

प्रम ओली अब‘बोली वाणको प्रतियोगिता’ नगरौँ भन्छन् रोस्टममा उभिएर ।तर बोलीवाणमा उनीसँग प्रतियोगितामा उत्रन सक्ने प्रतिस्पर्धी नै को छ र नेपालमा ? प्रम एक्लैनागरिकका असहमतिलाई व्यङ्ग वाणबाट तह लगाउन अग्रसर भएको जगजाहेर छ ।कांग्रेस नेतृत्वमा त व्यङ्गवाणको प्रतियोगतिामा भाग लिने कुनै नेता पनि देखिँदैन । सम्पूर्ण भौतिक शरीर गलेर हाड छालाको अस्थिपञ्जर भएका डा. केसी मुढाझैँ ढलेका छन् अस्पतालमा । वाणी हराएको डा. केसीको नैतिक ओजले नेपालको दुईतिहाइ कम्युनिस्ट शक्ति त्रसित छ यतिखेर।

दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहँदा २१ औँ शताब्दीका नेपालीहरूले प्रम ओलीमा अनुकरणीय व्यक्तित्वको अपेक्षा गरेका थिए । बीसौँ शताब्दीको उत्तरार्धमा शीतयुद्धले सिर्जित त्यो कालखण्डमा नेपालीले अनेकन् अनुकरणीय राजनीतिक व्यक्तित्व पाए । बिपी कोइराला, पुष्पलाल, मनमोहन, गणेशमान, कृष्णप्रसाद भट्टराई, पुष्पकमल दाहाललगायत कैयन् व्यक्तित्व उदाए । जसले नेपाली राजनीतिलाई आजको आकार ग्रहण गर्न सघाए । तर एक्काइसौँ शताब्दीमा नेपाली समाजलाई नयाँ दिशा दिन युवाबीच हिरो भने कोही देखिँदैन।

सम्भवतः देश र नेतृत्वप्रतिको चरम निराशा र अविश्वासले नेपाली युवाहरू आफ्नो हिरो कहिले अर्जेन्टिनाको मेसी, कहिले रोनाल्डो, कहिले सन्दीप लामिछानेमा खोज्छन् । कैयन् युवा गोविन्द केसीको हिरो व्यक्तित्वबाट आकर्षित हुन्छन्, भएका छन् । प्रम ओली नेपाली युवाबीचमात्र होइन, आफैँलाई भोट दिने कम्युनिस्ट मतदाताबीच पनि जिरो हुँदैजानु दुःखदायी कुरा हो । प्रम ओली चौबाटोमा छन् यतिखेर । धेरै ढिलो हुनुभन्दा अगाडि देश निर्माणको महान् उद्देश्यमा अगाडि बढ्ने बाटो रोज्ने कि केही स्वार्थी समूहको प्रभावमा मेडिकल माफियालाई आफ्नो ध्येय बनाउने ? प्रम ओलीसामु यी दुई विकल्प खुला छन्।

प्रकाशित: ८ श्रावण २०७५ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App