८ वैशाख २०८१ शनिबार
समाज

तमलाेपा अध्यक्ष महन्थ ठाकुरको घरमा चाेरी, ठाकुरकाे ब्रिफकेस गायव

काठमाडौं–शुक्रबार साँझ प्रधानमन्त्री  निवासमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका दुई नेताबीच छलफल चलिरहेको थियो।  प्रधानमन्त्रीको भारत भ्रमण तथा संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटार बोलाएका थिए।

डिनरसहितको छलफलमा उपस्थित भएका नेताहरु विषयमा प्रवेश नगर्दै तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा एकजना नकाव लगाएको व्यक्ति छिरेर ठाकुरको ब्रिफकेस लिएर गएको समाचार बालुवाटार पुग्यो ।

प्रधानमन्त्री र गृहमन्त्रीसमेत उपस्थिति भएको बैठकमा मधेसी मोर्चाका शीर्ष नेताको घरमा चोरी भएको खबर पुगेपछि बैठकबीचैमा रोकियो । बैठकस्थलबाट गृहमन्त्री निधिले प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललाई घटनाबारे जानकारी गराएका थिए।
 

घरमा रहेकी ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरले बुवा आउनु भएको होला भन्दै हेर्न बाहिर निस्किन्। जतिबेला नकावधारी व्यक्ति ब्रिफकेस बोकेर भर्याङ झर्दै थियो।

के भएको थियो महन्थको घरमा ?
साँझ ७ः३० बजे एक जना नकाव लगाएको व्यक्ति सानोठिमीस्थित ठाकुरको घरमा प्रवेश गर्यो। सो व्यक्ति सिधै ठाकुरको बेडरुपमा पुगेर ठाकुरले प्रयोग गर्दै आएको ब्रिफकेस बोकेर हिँड्यो । घरमा रहेकी ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरले बुवा आउनु भएको होला भन्दै हेर्न बाहिर निस्किन्। जतिबेला नकावधारी व्यक्ति ब्रिफकेस बोकेर भर्याङ झर्दै थियो।

तमलोपा प्रवक्ता विमल श्रीवास्तवका अनुसार बुवाको ब्रिफकेस बोकेर झर्दै गरेको व्यक्तिलाई डा. ठाकुरले बुवाको ब्रिफकेस किन लगेको भन्दै खोस्ने प्रयास गरिन्। उनले प्रतिवाद गरेपछि नकावधारीले डा. ठाकुरको आँखामा आफ्नो हातमा रहेको खुर्सानीको धुलो हालिदियो। ‘अब पनि बढ्दा बोलिस भने तपाइँलाई बाँकी राख्दिन भन्दै अर्को हातमा रहेको छुरी देखाएछ,’ श्रीवास्तवले नागरिकन्युजसँग भने,‘अध्यक्षज्युको छोरीले फेरि पनि ब्रिफकेस खोस्न खोज्दा छुरीले प्रहार गरेछ।’

नकावधारीको छुरी प्रहारबाट ठाकुरकी छोरीको हातमा गम्भीर चोट लागेको छ। नकावधारीले ठेल्दा लडेर उनको टाउकोमासमेत गम्भीर चोट लागेको छ। दुईजनाबीच घम्साघम्सी हुँदा ठाकुरको घरमा सहयोगीको काम गर्ने रमेश नामका व्यक्तिमाथिपनि नकावधारीले आक्रमण गरेको थियो। रमेशमाथि नकावधारीले छुरा प्रहार गरेको थियो। छुरा प्रहारबाट रमेशकाे हातमा गम्भीर चाेट लागेकाे छ।

घरमा भएको घटनापछि ठाकुर घर पुगेका थिए। पछि उनले छोरी मिनाक्षी र सहयोगी रमेशलाई नयाँ बानेश्वारस्थित एभरेष्ट अस्तपाल पुर्याएका थिए। जहाँ डा. रामप्रसाद पोखरेलले ठाकुरकी छोरी मिनाक्षीको आँखा जाँच गरेका थिए। आँखाको उपचारपछि दुवै जनालाई ग्रयाण्डी अस्पताल पुर्याएको थियो। ठाकुरकी छोरी मिनाक्षीको हातमा ६ टाँका र टाउकोमा पाँच टाँका लगाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए। हाल उनीहरुको अवस्था समान्य रहेको बताइएको छ। चाेरले लगेकाे  ब्रिफकेसभित्र ५० हजार नगद, पार्टी महाधिवशनका महत्वपूर्ण दस्तावेज रहेकाे बताइएकाे छ।

 

प्रकाशित: २५ भाद्र २०७३ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App