८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जापानको गर्मीले राष्ट्रिय रेकर्ड तोड्यो

अत्यधिक गर्मी भएपछि चिसोमा रमाउँदै बालबालिका । तस्बिर : एजेन्सी

टोकियाे– जापानमा केही दिनदेखि जारी रहेको अत्यधिक गर्मीले राष्ट्रिय रेकर्ड तोडेको छ।

राष्ट्रिय रेकर्ड तोड्ने गरी देशमा गर्मी भएपछि मौसमसम्बन्धी काम गर्ने निकायका कर्मचारीले सर्वसाधारणलाई सुरक्षित रहन फेरि चेतावनी जारी गरेको बिबिसीले जनाएको छ । केही दिनयता जापानको तापक्रम अनायासै बढिरहेको छ । हालसम्म अत्यधिक गर्मीका कारण कम्तीमा ३० जनाको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् ।

सोमबार राजधानी टोकियो नजिकको कुमागयामा तापक्रम बढेर ४१.१ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ । यो रेकर्ड सन् २०१३ मा मापन गरिएको ४१ डिग्री सेल्सियसभन्दा बढी हो । सोमबार जापानका दर्जन बढी सहरको तापक्रम ४० डिग्री मापन गरिएको बिबिसीले उल्लेख गरेको छ ।देशमा अत्यधिक गर्मी बढेपछि जापानको प्रकोष व्यवस्थापन एजेन्सीले सर्वसाधारणलाई एसी भएको ठाउँमा बस्न, पर्याप्त पानी पिउन र गर्मीबाट बचेर आराम गर्न आग्रह गरेको छ।

‘३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको क्षेत्रका मानिसहरु अत्यन्तै सजग हुनुपर्छ,’ देशको जल तथा मौसम विभागलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । त्यसैगरी ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम भएको क्षेत्रमा पनि साना बालबालिका र जेष्ठ नागरिकलाई ठाउँ हेरेर तापक्रमले असर गर्न सक्ने भन्दै विभागले सजग रहन आग्रह गरेको बिबिसीले जनाएको छ ।टोकियोबाट दक्षिणी क्षेत्रमा रहेको योकोहामा सहरमा मानिसहरुले पानी छर्कने कार्यक्रम ‘उचिमिजू’ आयोजना गरेका छन् । तातो क्षेत्रमा चिसो बनाउन यस्तो अभियान चलाइएको बताइएको छ।

तातो हावा र गर्मीका कारण यस वर्ष मात्रै १० हजारभन्दा बढी मानिस अस्पताल पुर्याइएको देशको क्योडो समाचार एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । टोकियो आसपासका जिल्लाम अत्यधिक गर्मीका कारण सोमबार केही ज्येष्ठ नागरिकको मृत्यु भएको स्थानीय प्रशासनले बिबिसीलाई जानकारी दिएको छ । सन् १९३६ पछि पहिलो पटक आइतबार राजधानी टोकियोभित्र तीन हजार एक सयभन्दा बढी एम्बुलेन्स खटाइएको टोकियो अग्नि नियन्त्रण विभागले  दिएको  जानकारी उल्लेख गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । जापानमा यसअघि सबैभन्दा धेरै सन् २०१३ को अगस्टमा पश्चिमी कोची जिल्लामा ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

 

प्रकाशित: ८ श्रावण २०७५ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App