मन्त्रीले ‘यौनकर्मी’ भन्दा पनि चुप बस्ने?

मङ्गलबार, ०८ साउन २०७५, ०८ : ०८ रामेश्वरी पन्त

2088


बङ्गलादेशमा डाक्टर पढ्न गएका छोरीहरूप्रति एकजना अस्पताल सञ्चालक र एकजना राज्यको जिम्मेवार बहालवाला कानुनमन्त्रीले लगाएको संगीन आरोप सुनेर अपमान, लज्जा र आक्रोशको पसिनाले निथ्रुक्क भिज्दै यो लेख लेख्न खोज्दै छु। “बङ्गलादेशमा डाक्टर पढ्न गएका केटाहरू ५ वर्षमा डाक्टर बनेर फर्कन्छन् तर केटीहरू ९ वर्ष लगाउँछन् किनकि त्यहाँ उनीहरूलाई प्रोफेसरले करणी गरेर राख्छन्” भन्ने दुर्गा प्रसाईंको अभिव्यक्तिलाई पागल–प्रलाप ठान्दै सर्वत्र लिन्दा भइरहेकै बेला प्रसाईंकै बोलीमा लोली मिलाएर “बङ्गलादेशमा डाक्टर पढ्न गएका हाम्रा छोरीहरूले डाक्टरको सर्टिफिकेट लिन आफूलाई नसुम्पी हुँदैन। त्यहाँ उनीहरूले आफूलाई बेच्नैपर्ने हुन्छ” भनेर कानुनमन्त्री शेरबहादुर तामाङले एउटा सार्वजनिक कार्यक्रममा उक्त अभिव्यक्तिमाथि ‘लालमोहर’ लगाइदिए। प्रसाईंको आरोपलाई कसैले विश्वास गर्नसक्ने कुरै थिएन किनकि उनी आफूले अर्बाैँ रुपियाँ लगाएर सञ्चालन गरेको बी एन्ड सी अस्पताललाई जसरी पनि मेडिकल कलेजको सम्बन्धन प्राप्त गर्न तल्लीन छन् र यसका लागि उनले जुनसुकै हत्कण्डा पनि अपनाउन पछि पर्दैनन्। त्यसैले पछिल्लो समयमा उनले आफ्नो परम शत्रु डाक्टर गोविन्द केसीलाई मात्र सरापेर नपुगेर आफ्नै छोरी समानका नेपाली छोरीहरूको अस्मितामाथि हिलो छ्यापे । उनको यो निराधार घृणित आरोपको सर्वत्र निन्दा भइरहँदै गर्दा स्वयं सरकारका कानुनमत्रीले नै ‘आफूले कतै सुनेको’ भन्दै प्रसाईंको आरोपलाई थप मलजल मात्र गरेका छैनन्, उनले एउटा गम्भीर प्रश्न पनि खडा गरिदिएका छन्।

वर्षौंदेखि नेपाल सरकारको अनुमतिमा बङ्गलादेशमा सयौँ विद्यार्थी चिकित्साशिक्षा अध्ययन गर्न गइरहेका छन् र तीमध्ये धरैजना अब्बल डाक्टर बनेर नेपालका नाम चलेका अस्पतालमा सेवा दिइरहेका छन्। नेपाल सरकारको अनुमतिमा बङ्गलादेशमा डाक्टर पढ्न जानेहरू सबै छोरा (पुरुष) मात्र छैनन्, छोरी (महिला) को संख्या पनि उत्तिकै छ र उनीहरू पनि छोरासरह नै सफल भएर फर्की नेपालका विभिन्न अस्पतालमा सेवा दिइरहेका छन्। यदि प्रसाईं र कानुनमन्त्रीले लगाएको आरोप सही हो भने यसअघि यस्तो गम्भीर कुरा बाहिर किन आएन? गोविन्द केसीले मेडिकल शिक्षाको बेथितिविरुद्ध यसअघि चौध–चौध पटक अनशन बस्दा यो कुरा किन बाहिर आएन? किन आज केही सीमित व्यापारीको हातमा मेडिकल शिक्षालाई बेच्ने तयारी गरेर संशोधन गरेको विधेयक पास गराउन नपाएको झोँकमा हाम्रा छोरी चेलीहरूको चरित्रहत्या गरिँदैछ? त्यो पनि सरकारका जिम्मेवार मन्त्रीले नै?

कानुन मन्त्री शेरबहादुर तामाङले ‘बंगलादेशमा डाक्टर पढ्न गएका छोरीहरूले डाक्टरी सर्टिफिकेटका लागि त्यहाँका प्रोफेसरलाई आफ्नो शरीर बेच्न बाध्य हुन्छन्’ भन्ने कुरा कहाँ र कोबाट सुनेका हुन्? मञ्चबाट फलाकेको उनको यो अभिव्यक्तिलाई अब कसैले पनि ‘केवल भाषण’का रूपमा लिने छैनन्। यसको प्रमाण उनले दिनैपर्छ आम नेपालीलाई। उनले यो कुराको सप्रमाण साक्षीसहित खुलासा गर्न सकेनन् भने उनी गम्भीर प्रकृतिका अपराधी हुनेछन् र उनलाई कानुन मन्त्रीको कुर्सीमा रहने अधिकार हुनेछैन। माफी मागेर उनी उम्कन सक्दैनन्, उनी सजायको भागिदार बन्नैपर्छ किनकि कानुनमन्त्रीले लगाएको आरोप सामान्य रूपले लिनै सकिँदैन। उनको कुरा सुन्दा त हाम्रा छोरीहरूलाई सरकारले हरेक वर्ष बङ्गलादेशमा डाक्टर पढ्न होइन, शरीर बेच्न पठाएको पो रहेछ! सर्टिफिकेटकै लागि प्रोफेसरलाई शरीर बेच्न छोरीहरू बाध्य हुनुपर्ने तर उही कलेजमा एउटै क्लासमा पढ्ने छोराहरू चाहिँ खुरुखुरु पास हुने?

यो लेख तयार पार्दै गर्दा एकजना परिचितले मलाई सुनाउनुभयो, ‘प्रसाईं र कानुन मन्त्रीको अभिव्यक्ति बाहिर आएपछि बङ्गलादेशमा पढेर आएकी एकजना डाक्टर छोरीसँग हुनलागेको विवाह नै टुट्न पुग्यो, हेर्नुस् त कस्तो दुर्भाग्य!’ यो दूर्भाग्यपूर्ण स्थितिको सिर्जना अब एक ठाउँमा मात्र होइन, अनेक ठाउँमा पर्नेछ। हाम्रा ती छोरीहरूप्रति हाम्रो समाजले हेर्ने दृष्टिकोण कस्तो रहला अबका दिनमा? यसै विषयलाई लिएर अहिले बङ्गलादेशमा डाक्टर पढ्दै गरेकी एकजना छात्राले मलाई फोनमा भनिन्, ‘आन्टी ! यहाँ हामी प्रोफेसर र विद्यार्थीको सम्बन्ध बाबुछोरीको जस्तो छ। त्यता त्यस्तो हल्ला चलेछ। अब हाम्राबारे हाम्रो परिवार, नातेदार र हाम्रो समाजले के सोच्ला? हामीलाई कसरी हेर्लान्? अनि यो कुरा हाम्रा गुरुहरूले सुने भने हामी नेपालीबारे उनीहरूको दृष्टिकोण कस्तो रहला?’ ती छोरीलाई दिने जवाफ मसँग केही थिएन किनकि म स्वयं नै स्तब्ध थिएँ।   

आज हाम्रा छोरीहरूमाथि यति गम्भीर आरोप लाग्दा हामी केवल सामाजिक सञ्जालमा मात्रै केही महिलाले विरोधका शब्द खर्चेर चुप लाग्ने कि सम्पूर्ण महिलाहरू (यो बेइज्जती केवल छोरीहरूको मात्र होइन, सम्पूर्ण नारीजातिकै हो) सडकमा आउने? नारी अस्मितामाथिको यो हमलाविरुद्ध, दुर्गा प्रसाईं र कानुनमन्त्रीका अभिव्यक्तिविरुद्ध हरेक आमाले सडकमा निस्कने हिम्मत गर्नुपर्छ। यदि यो कुरालाई हल्का रूपमा लिएर त्यसै छोडियो भने यो भन्दा दुर्भाग्य अरु हुनै सक्दैन। त्यसैले आशा गर्छु, यो जघन्य अपराधविरुद्ध यदि राज्यको कानुनले सक्रियता देखाएन भने, आफ्नो सरकारका जिम्मेवार मन्त्रीले गरेको यो अपराधविरुद्ध स्वयं प्रधानमन्त्री ओलीले कुनै कदम चालेनन् भने एकमात्र विकल्प हुनुपर्छ– सडकमा आमाहरूको विद्रोह। आज महिलामाथि जेजति हिंसा भइरहेछन् ती सबको एउटा कारण महिलाहरूकै मौनता र सहनशीलता हो। सहनुको पनि सीमा हुन्छ। प्रसाईं र कानुनमन्त्रीको भनाइमा सरकारले छानबिन गर्नैपर्छ। फेरि यो बेइज्जती आमाहरूको वा छोरीहरूको मात्र होइन, सम्पूर्ण बाबु, दाजु र भाइहरूको हो। यसर्थ यो अपराधपूर्ण अभिव्यक्तिविरुद्ध सबैका आवाज समेटिनु जरुरी छ।

दुर्गा प्रसाईं एउटा सामान्य नागरिक हुन्, उनले बोलेको दुर्भाग्यपूर्ण अभिव्यक्ति नैतिक र कानुनी रुपले पनि जघन्य अपराध हो। अझ बहालवाला मन्त्रीले नै भन्नु कहाँसम्मको अपराध हो! यिनका विरुद्ध जो कसैले पनि अदालत जान तयार हुनुपर्छ। ती सम्पूर्ण छोरीहरूले जसलाई प्रसाईं र बहालवाला कानुनमन्त्रीले ‘यौनकर्मी’ महिला देखे, उनीहरूविरुद्ध चरित्रहत्या गरेको आरोपमा मुद्दा दर्ता गर्न ढिला नगरून् र तिनका आमाहरू चूप लागेर नबसून्। अझ महत्वपूर्ण कुरा के हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको मन्त्रीले बोलेको अभिव्यक्तिको जिम्मा लिनुपर्छ र यसको जवाफ आम नागरिकलाई दिनैपर्छ।

यदि कानुन मन्त्री र प्रसाईंको अभिव्यक्ति निराधार छ भने तिनलाई कानुनको कठघरामा ल्याउन ढिला नगरून्। नत्र यी दुईजना उनी र उनको सरकारप्रति महँगा साबित हुनेछन्। सरकारको एउटा जिम्मेवार मन्त्रीले बोलेको कुराले सारा नेपालीको शिर त लज्जाले झुकाएको छ नै अन्तर्राष्ट्रिय रुपमा पनि नेपाल सरकारको छवि धमिलो बनाएको छ। यसबाट बङ्गलादेश र नेपालबीचको सुमधूर कूटनैतिक सम्बन्धमा पनि आँच आउने पक्का छ। किनकि अहिलेको युग भनेको सूचना र प्रविधिको युग हो । यो कुरालाई आम सञ्चारले विश्वव्यापी बनाएको छ। त्यसैले बेलैमा प्रमले आफ्ना ‘पागल’ मन्त्रीलाई तिनको ठेगाना देखाउनु जरुरी छ। कानुन मन्त्रीले भनेको कुरामा सत्यता छ भने बङ्गलादेश सरकारको ध्यानाकर्ष गराइयोस् र बङ्गलादेशमा पढिरहेका तर यौनशोषणमा परिरहेका सम्पूर्ण छोरीहरूलाई ‘रेस्क्यू’ गरियोस्। यो जिम्मेवारी प्रधानमन्त्री र शिक्षामन्त्री गिरिराजमणि पोखरेल दुवैको हो। अन्यथा यो घटनाले अकल्पनीय परिणामको सिर्जना गर्नेछ।







यसमा तपाईको मत


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...