काठमाडौं - कानुन, न्याय तथा संसदीय मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्साशास्त्र पढ्न जाने छात्राले सर्टिफिकेट पाउनकै लागि कतै न कतै आफूलाई बेचेकै हुन्छन् भन्ने दिएको अभिव्यक्तिप्रति त्यहाँ अध्ययनरत छात्राहरूले गम्भीर आपत्ति व्यक्त गरेका छन्। मन्त्री तामाङले शुक्रबार उपत्यकामा आयोजित इक कार्यक्रममा सो अभिव्यक्ति दिएका थिए। बंंगलादेशमा चिकित्साशास्त्र पढिरहेका छात्रामात्र होइन, त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थी कानुनमन्त्री तामाङ र सोही आशयको अभिव्यक्ति दिने झापाका व्यवसायी दुर्गा प्रसाईंलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बि एन्ड सी मेडिकल कलेजका सञ्चालकसमेत रहेका प्रसाईंले नेपाली छात्राले चिकित्साशास्त्रको प्रमाणपत्र लिन आफ्ना कलेजका शिक्षकसँग शारीरिक सम्बन्ध राख्ने गरेको टिप्पणी गरेका थिए। बंगलादेशको एक कलेजमा डेन्टल तेस्रो वर्षमा अध्ययनरत स्वेशता मेघा खत्रीले आफूहरू डाक्टर बन्ने सपना बोकेर नेपालबाट आएकाले निकै मिहिनेतका साथ पढाइ गरिरहेको बताइन्। उनीलगायत बंगालदेशमा मेडिकल शिक्षा हासिल गरिरहेका छात्राले कानुनको रक्षक हुनुपर्ने कानुनमन्त्रीले नारीको अस्मितामा दाग लगाउने गरी दिएको अभिव्यक्ति क्षमायोग्य नरहेको भन्दै कानूनमन्त्री तामाङलाई कडा कार्बाही हुनुपर्ने माग गरेका छन्। ‘विदेशी भूमिमा रातदिन मिहिनेत गरेर चिकित्साशास्त्र अध्ययन गरिरहेका नेपाली चेलीलाई देशका कानुनमन्त्रीले सेक्स वर्कर भन्ने आरोप लगाउनु निकृष्ट मनोवृत्तिको परिणाम हो,’ ढाका विश्वविद्यालयको सिटी कलेजमा डेन्टल अध्ययन गरिरहेकी मेघाले नागरिकसँग भनिन्, ‘सरकारले कारबाही नगरे हामी मन्त्रीविरुद्ध अदालत जान्छौं।’ उनले बंगलादेशका विभिन्न मेडिकल कलेजमा नेपाली छात्राछात्रा नै अब्बल हुने गरेको बताइन्। उनले मर्यादा नाघेर नारी अस्मितामा दाग लगाउने मन्त्रीलाई सरकारले क्षमा दिन नमिल्ने चेतावनी दिइन्।
छोरीचेलीको अपमान, तिरस्कार र मानमर्दन हुने गरी अयर्मादित र अराजक शैलीमा दिइएको अभिव्यक्ति एउटा जघन्य अपराधभन्दा कम छैन। यसले सामाजिक र छात्रहरूको व्यक्तिगत जीवनमा समेत दीर्घकालीन असर पु-याउने हुँदा कानुनी कार्बाहीको विकल्प छैन।
ढाका विश्वविद्यालयमा यस वर्ष उत्कृष्ट भएकी नेपाली चेली जेनिया राईले आफू आमाबुवाको प्रतिष्ठा बनाउन र डाक्टरी पेसामा भविष्य बनाउन बंगलादेश आएको बताइन्। उनले निकै आँट, संकल्प र साहसका साथ बंगलादेशमा पढिरहेका नेपाली चेलीमा गलत व्यक्तिको सशक्त प्रतिकार गर्ने क्षमता भएको बताइन्। ‘आमाबुवाले हामीलाई आत्मसम्मानका साथ बाँच्न सिकाउनु भएको छ,’ उनले भनिन्, ‘आफ्नै देशका चेलीका लागि तुच्छ टिप्पणी गर्ने दोषीलाई क्षमा गर्ने काम हामीलाई सह्य हुँदैन।’
अर्की छात्रा स्वेता शर्र्माले विदेशी भूमिमा नेपाली चेलीहरू मिहिनेत गरेर देशको शिर उँचो पार्ने काम गर्दै आएको र त्यसबापत राज्यले सम्मान गर्नुपर्नेमा उल्टो मन्त्रीजस्ताले गालीबेइज्जती गर्दा पनि प्रधानमन्त्री चुप लागेर बस्नु दुखद भएको बताइन्। उनले बंगलादेशमा उच्च शिक्षा हासिल गरिरहेका करिब ४४ हजार विद्यार्थीमा ५० प्रतिशत छात्रा रहेको जानकारी दिइन् । ‘मेडिकल अध्ययन गर्ने इच्छा भएका विद्यार्थी हरेक वर्ष निकै मिहिनेत गरी तयारी गर्छन् तर नेपालमा सीमित सिट भएकाले विदेशिने अवस्था छ,’ उनले भनिन्, ‘कानुनमन्त्री र व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले कडा कारबाही गर्नुपर्छ।’ मन्त्री तामाङ र दुर्गा प्रसाईंका अभिव्यक्तिलाई लिएर बंगलादेशका कलेजमा नेपाली छात्राबारे नकारात्मक सन्देश फैलिएको उनले बताइन्।
मन्त्री तामाङ र व्यवसायी प्रसाईंका अभिव्यक्ति आइरहँदा संयोगले नेपालमै रहेका नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका अध्यक्ष नवीन यादवले दुवैजनाको अभिव्यक्ति संविधान र कानुनविपरीत रहेकाले दुवैजनामाथि कानुनी कार्बाही अघि बढाउने अभियानमा लागेका छन्। बंगलादेशमा अध्ययनरत छात्रका अन्य संगठन र नेपालकै विभिन्न संगठनसँग सहकार्य गरेर नेपाली चेलीविरुद्ध अत्यन्त निम्नकोटिको टिप्पणी गर्नेविरुद्ध कार्बाहीका लागि दबाब दिने कार्यमा लागेका उनले संवेदनहीन तरिकाले नारीको अस्तित्व र गरिमालाई अस्वीकार गर्ने गरी तामाङ र प्रसाईंले दिएका अभिव्यक्ति कुनै पनि हालतमा क्षमायोग्य नरहेको बताए।‘ छोरीचेलीको अपमान, तिरस्कार र मानमर्दन हुने गरी अयर्मादित र अराजक शैलीमा दिइएको अभिव्यक्ति एउटा जघन्य अपराधभन्दा कम छैन। यसले सामाजिक र छात्रहरूको व्यक्तिगत जीवनमा समेत दीर्घकालीन असर पु-याउने हुँदा कानुनी कार्बाहीको विकल्प छैन,’ शिक्षाका लागि राष्ट्रिय अभियानका संयोजकसमेत रहेका यादवले भने। उनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तामाङ र प्रसाईंका अभिव्यक्तिका कारण इज्जत, मानप्रतिष्ठा र मर्यादाका साथ बाँच्ने छोरीचेलीको नैसर्गिक र कानुनी अधिकारमाथि आघात पुगेकाले उनीहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताए।
यसैबीच मन्त्री तामाङ र व्यवसायी प्रसाईंलाई कार्बाही नगरिए आफूहरू सडकदेखि सदन तताउने कांग्रेसका महिला सभासदहरूले चेतावनी दिएका छन्। कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डिला संग्रौलाले मन्त्री र व्यवसायीले नेपाली छात्रामाथि लगाएको आरोप क्षमायोग्य नभएको बताइन्। सांसद संग्रालाले पत्रकार सम्मेलन गरी मन्त्री तामाङको अभिव्यक्तिको आधार पुष्टि गर्न सरकारलाई चुनौती दिएकी छिन्। ‘मन्त्रीको यो भनाइले बंगलादेशमा चिकित्साशिक्षा पढ्न जाने चेलीमा मनोवैज्ञानिक प्रभाव परेको छ भने यसले समाजमा नकारात्मक सन्देश प्रवाहित भएको छ।’
उनले यस्ता भनाइ र आरोपले नेपाली चेलीको अस्मितामाथि मात्र नभएर सम्पूर्ण, नेपालीको स्वाभिमानमाथि नै प्रश्नचिह्न खडा गरेको बताइन्। उनले भनिन्, ‘मन्त्री तामाङको आरोपका कारण छात्राको भावनामा चोट पुगेको छ। नेपाली महिलाको अस्मितामाथि ठेस पुगेको छ। अब नेपाल सरकारले यसको क्षतिपूर्ति कसरी गर्छ भन्नेबारे प्रधानमन्त्रीको धारणा सार्वजनिक हुनुपर्छ।’
मेडिकल छात्राको परिवारजन, नेपाली समाज, बंगलादेशी प्राध्यापकको मानहानीप्रति विश्वसमुदायको ध्यानाकृष्ट गर्न मंगलबार मानवअधिकार आयोगमा उजुरी दर्ता गर्ने उनले बताइन्।
प्रकाशित: ८ श्रावण २०७५ ०१:५२ मंगलबार