८ वैशाख २०८१ शनिबार
समाज

खड्काका वारेसद्वारा नागरिकविरुद्ध अवहेलना मुद्दा

काठमाडौं - नागरिक दैनिकविरुद्ध असी करोड क्षतिपूर्तिको दाबीसहित गालीबेइज्जती मुद्दा दायर गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्काका वारेस मोतीलाल तामाङले उक्त मुद्दाको विषयमा समाचार प्रकाशित गर्दा नागरिक दैनिकले अदालतको अवहेलना गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा अवहेलनाको मुद्दा दायर गरेका छन्।

गालीबेइज्जती मुद्दाको सुनुवाइ प्रक्रिया चलिरहँदा न्यायाधीश कैलासप्रसाद सुवेदीको इजलासबाट सो मुद्दा नहेर्न माग गरेका खड्काका वारेस तामाङको निवेदन, अदालतको आदेशका विषयमा नागरिक दैनिकमा समाचार प्रकाशित हुँदा अदालतको अवहेलना भएको दाबी गर्दै सो मुद्दा दायर गरिएको छ।

नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेल र संवाददाता दिलिप पौडेललाई विपक्षी बनाइएको उक्त मुद्दामा न्यायाधीशसँग नाता पर्ने उल्लेख गरी सो इजलासबाट मुद्दा हटाउन दिएको खड्काको निवेदन र अदालतको आदेशको समाचार प्रकाशित गर्दा अदालतको अवहेलना भएको जिकिर गरिएको छ।

असार १५ मा दायर भएको उक्त मुद्दामा नागरिकलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न दिइएको न्यायाधीश राजेन्द्र नेपालको इजलासको आदेशसहितको म्याद नागरिकको कार्यालयमा अदालतका कर्मचारीले बुझाएका छन्।

गत जेठ २२ मा न्यायाधीश सुवेदीले खड्कातर्फबाट नाताको विवाद उठाई आफ्नो इजलासबाट नहेरी पाऊँ भनी निवेदन दिएकोमा नाता पुष्टि गर्न नसके तापनि आफूले सो मुद्दा नहेर्ने आदेश गरेका थिए। न्यायाधीशसँग नाता पर्ने हो भने कुन कस्तो प्रकृतिको नाता हो पुष्टि गर्नु भनी खड्कालाई दिएको आदेशमा नाता पुष्टि गर्न असफल भएको भनी खड्काका वारेसले अदालतमा निवेदन दिएपछि उक्त मुद्दा पेसीमा चढेकोे थियो।

खड्काका वारेस तामाङले जेठ १४ मा पेस गरेको निवेदनमा उल्लेख छ, ‘यसमा मेरो सहीसाँचो व्योहोरा के छ भने सम्मानित अदालतसमक्ष मिति २०७५ जेठ ७ गते पेस गरेको निवेदनमा माननीय न्यायाधीशसँग विपक्षीको नाता पर्ने भनी उल्लेख गरेकोमा सम्मानित इजलासबाट भएको आदेशमा विपक्षीको माननीय न्यायाधीशसँग के कुन प्रकारको, प्रकृतिको र के कति पुस्ताभित्रको नाता बारेमा खुलाउन आदेश भएको सन्दर्भमा नाता खुलाउन नसक्ने व्योहोरा सादर निवेदन गर्दछु भनी भएको सहीसाँचो व्योहोरा लेखीलेखाई श्री काठमाडौं जिल्ला अदालतमा चढाएँ।’

न्यायाधीश सुवेदी र पत्रिकाबीच नाता पर्ने भएकाले सुवेदीको इजलासबाट मुद्दा हेर्दा निष्पक्षताको अभाव हुने भएकाले न्यायाधीश सुवेदीरहितको इजलासबाट सुनुवाइ गरीपाऊँ भन्ने माग पनि खड्काले आफ्नो निवेदनमा गरेका थिए।

आफ्ना वारेस तामाङमार्फत अदालतमा दर्ता गराएको निवेदनमा खड्काले ‘विपक्षीहरूसँग श्रीमान् माननीय न्यायाधीश श्री कैलासप्रसाद सुवेदीज्यूसँग नाता रहेको बुझिन आएको छ। आफ्नो नाता पर्ने व्यक्तिको मुद्दा सुनुवाइ गर्दा मुद्दामा निष्पक्षताको अभाव हुने हुँदा माननीय न्यायाधीश श्री कैलासप्रसाद सुवेदीज्यू बाहेकको इजलासबाट मुद्दा सुनुवाइ गरी पाउन सादर निवेदन गर्दछु’ भन्ने व्योहोरा उल्लेख गरेका थिए।

मुलुकी ऐन अदालती बन्दोबस्तको महलको ३० नं ले आफ्नो हाडमा अपुताली परे खान पाउने नाता र मामामाइजु, सानीठूली आमा सानोठूलो बाबु, सासुससुरा फुफुफुपाजु, जेठुसाला मित आफ्ना दिदीबहिनी र छोरी र यिनै दिएका ज्वाइँ भानिज भान्जी, भान्जीबुहारी, आमाका बाबु वा आमा, मन्त्र सुनाउने गुरु गुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका र नोकरचाकर र लेखिएका मानिसको एकाघरसँग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुँदैन भन्ने व्यवस्था छ।

असी करोडको क्षतिपूर्तिको मागदाबीसहित नागरिक दैनिकविरुद्ध दायर गालीबेइज्जती मुद्दा विचाराधीन छ भने गलत मुद्दा दायर गरी आफूलाई क्षति पु-याएकाले एक अर्ब पचास करोडबराबरको क्षति खड्काबाट भराउन पनि नागरिकले प्रतिदाबी गरेको छ। नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक ज्ञवालीले खड्का विरुद्ध पचास करोडको मागदाबीसहित दायर गरेको अर्काे गालीबेइज्जती मुद्दासमेत लगाउमा राखिएको छ।

प्रकाशित: ८ श्रावण २०७५ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App