७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

जानकी मेडिकल कलेजको अवस्था दयनीय

तीन महिनादेखि पठनपाठन ठप्प रहेको सुनसान जानकी मेडिकल कलेज। तस्बिरः सुरेश/नागरिक

जनकपुरधाम - चार वर्षमा पाँचपटक सञ्चालक फेरेको धनुषास्थित जानकी मेडिकल कलेजको अवस्था दयनीय छ। अन्य मेडिकल कलेजमा निर्धारित समयअगावै तोकिएको कोटा पूरा भएर विद्यार्थी फर्काउन हम्मे परिरहेका बेला यस कलेजमा भने विद्यार्थी भर्नाका लागि तीनपटक म्याद थप्दा पनि कक्षाकोठा रित्तै छ। वर्षैपिच्छे सञ्चालक समिति फेरिने विकृतीले कलेजको पठनपाठन स्तरहिन हुनुको साथै शिक्षण अस्पतालको बेथितिको कारण उक्त कलेजमा विद्यार्थी भर्ना हुन नमानेको त्यहाँका कर्मचारीहरु बताउँछन्।

‘चार वर्ष अगाडिसम्म तोकिएको भन्दा बढी शुल्क तिरेर पनि यहाँ एमबिबिएस गर्न आउने विद्यार्थीको चाप थामिनसक्नु हुन्थ्यो’ कलेजको प्रशासन फाँटका एक कर्मचारीले नागरिकसँग भने, ‘यस वर्ष उपलब्ध कोटा बमोजिम पनि विद्यार्थीको दरखास्त आइपुगेन।’ चार वर्षयता निरन्तर खस्किरहेको कलेजको स्तर सुधार्न भन्दै वर्षैपिच्छे सञ्चालक समिति फेरिइरहयो। तर, जति पटक सञ्चालक फेरिए त्यति नै कलेज व्यवस्थापन जर्जर हुँदै गएको ती कर्मचारीले बताए।

‘चार वर्ष अगाडिसम्म तोकिएको भन्दा बढी शुल्क तिरेर पनि यहाँ एमबिबिएस गर्न आउने विद्यार्थीको चाप थामिनसक्नु हुन्थ्यो । यस वर्ष उपलब्ध कोटा बमोजिम पनि विद्यार्थीको दरखास्त आइपुगेन।’

जनकपुरका प्रसिद्ध डाक्टर रामानन्दन सिन्हाको नेतृत्वमा वि.सं. २०६० सालमा सञ्चालन गरिएको कलेजमा चार वर्ष अघि पठनपाठन नभएको भन्दै विद्यार्थीले सामूहिक रूपमै सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गरेका थिए। कलेजले अग्रिम शुल्क लिएर शर्तबमोजिम चिकित्सा विद्यार्थीलाई पठनपाठनको बन्दोबस्त मिलाउन नसकेपछि उनीहरू महिनौसम्म आन्दोन गरे। अन्त्यमा सञ्चालक समितिका सदस्यलाई स्थानीय प्रशासनले थुनेर विद्यार्थीलाई क्षतिपूर्ति उपलब्ध गराएको थियो।

ठगी मुद्दामा मुख्य नाइकेको आरोपमा जिल्ला प्रहरी कार्यालयको थुनामै बसेर कारबाही भोगेका तत्कालीन जानकी मेडिकल कलेजका प्रबन्ध निर्देशक उपेन्द्रप्रसाद (ओपी) पाण्डे चार वर्षपछि फेरि फर्केका छन् । ठगी मुद्दा खेप्नुपरेपछि तत्कालीन अवस्थामा उनको नाउँमा रहेको ५० प्रतिशत सेयरसमेत बेचेर कलेजबाट बाहिरिएका उनले अहिले सिंगो कलेज आफ्नै नाउँमा फर्काएको दाबी गरेका छन्। यसबीचमा पछिल्लो तीन महिनादेखि पठनपाठनसहित शिक्षण अस्पतालको आकस्मिक सेवासमेत बन्द गरी निरन्तर आन्दोलनमा उत्रेका कर्मचारीलाई काममा लगाइएको छ।

१५ महिनादेखि तलब पाउन नसकेका कर्मचारीले तलब, भत्ता माग्दै चरणबद्ध आन्दोलनमा उत्रेपछि सामना गर्न नसकेको तत्कालीन सञ्चालक हरिमान लामासहितका सञ्चालक समितिले एक वर्ष नपुग्दै कलेज बेचेको छ। सिन्हाको निधनपछि टुहुरो भएको कलेजमा पछि सञ्चालक भएर आउने सबैले विद्यार्थीसँग शुल्क मात्रै उठाउने, व्यवस्थापनमा कुनै ध्यान नदिने प्रवृतिको कारण कलेजको अवस्था दैयनिय भएको पाण्डेले स्वीकारे। उनले कलेजलाई पहिलेको भन्दा अझ उत्कृष्ट ढंगले सञ्चालन गर्न आफु फर्केर आएको जिकिर गरेका छन्।

‘सुरुवाती अवस्थामा कलेजको पहिचान निकै राम्रो बन्यो। बीचमा प्राविधिक समस्याको कारण धरापमा परेकै हो,’ पाण्डेले नागरिकसँग भने, ‘यतिका दिन बाहिर बसेर हेरिरहँदा निकै दुःख गरी जन्माएको कलेज आफ्नै कारण यस्तो अवस्थामा पुगेको विश्वास लागेन। सहनै नसकिने पीडाको बोध भएर म फर्केर आएको छु। अबका केही महिनामै कलेजको पहिचान पुनः प्रकाशमा ल्याउने आत्मविश्वास छ।’

स्थापना कालदेखि कलेजमा रहेको आफ्नो ५० प्रतिशत सेयर तीन वर्ष अघि विश्वासकै भरमा उधारो बेचेको बताउने पाण्डेले अहिले बाँकी ५० प्रतिशत सेयर बराबरको रकम तिरेर पूरै कलेज आफ्नो नाउँमा ल्याएको दाबी गरेका छन्। सुरुमै कर्मचारीको वक्यौता तलब भुक्तान गर्न थालेको बताउँदै उनले अब विद्यार्थीको स्तरीय पठनपाठन, फ्याकल्टी र शिक्षण अस्पतालको अवस्थामा सुधार ल्याउँदै कलेजको गरिमा पुरानो अवस्थामा फर्काउने योजना रहेको उनले बताए।

कलेजको बेथितिकै कारण कारबाहीस्वरूप नेपाल मेडिकल काउन्सिलले दुई वर्षसम्म शून्य कोटामा झारेको थियो। चालु शैक्षिक सत्रमा ८० वटा कोटा उपलब्ध गराइएकोमा अहिलेसम्म जम्मा ५७ जना विद्यार्थी भर्ना भएका छन्। ती मध्ये पनि आधाभन्दा बढी भारतीय विद्यार्थी रहेका छन्। कलेजले अहिले पनि भारतीय विद्यार्थीलाई भर्ना गरिरहेको स्रोतले जनाएको छ।

वक्यौता तलबको माग तथा कलेजको पठनपाठन, फ्याकल्टी र शिक्षण अस्पतालको स्तर सुधारका लागि तीन महिनादेखि आन्दोलनको अगुवाइ गरिरहेका संघर्ष समितिका संयोजक उमेश यादवले पाण्डेको पुनर्आगमनले कलेजमा सुधार हुने विश्वास व्यक्त गरेका छन्। विगतमा उनको स्वभाव र कलेजको व्यवस्थापन सम्बन्धी ज्ञानको आधारमा उनको पुनः आगमनले सुधार हुने उनले आशा देखाए।

‘सञ्चालक समितिमा को आए र को गए भन्दा पनि जेएमसी (जानकी मेडिकल कलेज) हरेक दृष्टिकोणले स्तरीय हुनुपर्ने हाम्रो धारणा हो’ उनले भने, ‘हाम्रो जेएमसी, राम्रो जेएमसी नाराको साथ अघि बढेका हामीले सञ्चालको राम्रो साथ पाए मुलुककै नमूना कलेज बनाउने अठोट लिएका छौं।’ पाण्डे कलेजमा फर्केको हप्ता दिनमै दुई किस्तामा अधिकांश वक्यौता तलब भुक्तान गरिसकेको बताउँदै यादवले पाण्डेको व्यवहारमा सकारात्मक परिवर्तन भए कलेजको अवस्था फेरिने दाबी गरे।

प्रकाशित: ८ श्रावण २०७५ ०१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App