coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. केसीको समर्थनमा विद्यार्थीको पैदल यात्रा

धरान– साउने सोमबारको दिन। धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पैदल जल चढाउन जाने गेरुवस्त्रधारी बोलबम भक्तजनहरुको लर्को थियो। करिब साढे १२ बजेतिर कोशी राजमार्ग हुदै युवाहरुको एक हुल पनि पैदल धरान प्रवेश गर्यो।

अघिअघि एउटा ब्यानर थियो, जसमा लेखिएको थियो सामाजिक बोलबम। युवाहरुको हातमा भने जलको कलश थिएन, केहीले राष्ट्रिय झण्डा बोकेका थिए। तीनकुने हुँदै धरान प्रवेश गरेको उक्त समुह पिण्डेश्वरतिर होइन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन तिर लम्कियो। खासमा त्यो सामाजिक बोलबम इटहरीको कस्तुरी कलेजका विद्यार्थीहरुको थियो। उनीहरु चिकित्सा शिक्षा सुधारको लागि अनसनरत डा.गोविन्द केसीको समर्थनमा पैदल यात्रा गरेर धरान आएका हुन्। बीपी प्रतिष्ठान प्रदेश १ को महत्वपुर्ण एवं रेफरल स्वास्थ्य संस्था हो। यहाँ पुर्वका सबै जिल्लाबाट विरामीहरु रिफर भई उपचारमा आउने गर्छन्। यही संस्थाका जुनियर रेसिडेन्टहरुले पनि पाँच दिनदेखि डा.केसीको मागप्रति समर्थन जनाउँदै ओपिडी बहिष्कार गरिरहेका छन्। यद्यपी, सिनियर डाक्टर तथा फ्याकल्टीहरुले भने विरामीलाई उपचार गरिरहेका छन्। 

प्रतिष्ठानको प्रशासनिक भवन भित्रै जुनियर रेसिडेन्टहरुले सोमबारदेखि सामूहिक सत्याग्रह शुरु गरेका थिए। इटहरीबाट करिब १७ किलोमिटर पैदल यात्रा गरेर आएका विद्यार्थीहरु पनि सत्याग्रहस्थलमा पुगे। करिब साढे ५ घण्टा हिडेका विद्यार्थीहरुले सत्याग्रहमा बसेका डाक्टरहरुसँग भने उपचार सेवा प्रभावित नपार्न आग्रह पनि गरेका थिए। ‘हामी डा.गोविन्द केसीको समर्थनमा छौं, उहाँको माग चाडो पुरा गरियोस् भन्छौं,’सत्याग्रहमा बसेका डाक्टरहरुलाई आग्रह गर्दै विद्यार्थीहरुले हात जोड्दै भने,‘तर, विन्ति छ, सर्वसाधारण विरामीहरुलाई तपाईहरुले पनि विचल्ली नपरिदिनुस्। ओपिडी बन्द नहोस्, डा.केसीले गरिब, निमुखा जनताले राम्रो उपचार पाउन् भनेर त अनसन बसेका हुन् नि।’

विद्यार्थी पुजा खत्रीका अनुसार उनीहरु बिहानै साढे ६ बजे पैदल यात्रा शुरु गरेका थिए। बीपी प्रतिष्ठान आइपुग्दा करिब १ बजेको थियो। सत्याग्रहमा बसेका डाक्टरहरुलाई उपचार सेवा प्रभावित नपार्न आग्रह गरेपछि उनीहरुले उपकुलपति डा.राजकुमार रौनियारलाई ज्ञापन पत्र बुझाएका थिए। ‘डा.केसीको माग र अनसनप्रति हाम्रो समर्थन, ऐक्यवद्धता छ, सरकारले चाडै मागलाई पुरा गर्नुपर्छ’, ज्ञापन पत्र बुझाउदै वादल दाहालले भने, ‘तर,डाक्टरहरुले यसरी उपचार नगरी विरामीहरुलाई समस्यामा पार्नुहुँदैन, उपचार गर्नुपर्छ।’ नेपाल चिकित्सक संघले केसीको समर्थनमा ओपिडी बहिष्कारको आह्वान गरेपछि देशभरका डाक्टरहरुले ओपिडी सेवा बहिष्कार गर्दा उपचार सेवा प्रभावित छ। अस्पतालहरुमा इर्मजेन्सी, आइसियु, सिसियुमा मात्र डाक्टरहरुले सेवा दिइरहेका छन्। 

प्रतिष्ठानस्थित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.डिबि क्षेत्रीले भने तीन सातासम्म पनि सरकारले माग सुनुवाई नगरेको र डा.केसीको ज्यान जोखिममा परेकोले सरकारलाई दबाब दिन आफुहरु पनि आन्दोलनमा उत्रन बाध्य भएको बताएका थिए। ओपिडी सेवा मात्र बहिष्कार गरेको खुलाउँदै उनले आकस्मिक प्रकृतिका विरामीहरुलाई इर्मेजेन्सीमा उपचार सेवा उपलब्ध हुने पनि उनले बताएका थिए।

प्रकाशित: ७ श्रावण २०७५ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App