coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्युनिष्ट आन्दोलनमाथि षडयन्त्र हुँदै आएको छः दाहाल

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्न इतिहासदेखि नै विभिन्न खाले षड्यन्त्र हुँदै आएको र अहिले पनि त्यो जारी रहेको बताएका छन्।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४० औं स्मृति दिवस कार्यक्रममा बोल्दै दाहालले आदर्श सिद्धान्तनिष्ट पुष्पलाललाई षड्यन्त्रपूर्वक जालझेल गरेर नेतृत्वबाट हटाइएको स्मरण गरे। ‘केशरजंग रायमाझी जस्ता व्यक्ति नेतृत्वमा आउनसक्नु यस्तै प्रवृतिको उपज थियो,’ दाहालले भने।

विसं १९८१ मा जन्मिएका पुष्पलाल श्रेष्ठले राणा विरोधी आन्दोलनमा सकृय हुँदै २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको विधिवत स्थापना गरेका थिए। २५ वर्षे उमेरमै पार्टी स्थापनामा अहं भूमिका खेली महासचिव बनेका श्रेष्ठको ५४ वर्षको उमेरमा निधन भएको थियो ।  

पार्टीका नेता कार्यकर्ताले खचाखच भरिएको काठमाडौस्थित राष्ट्रिय सभागृहमा वक्ताहरूले पुष्पलालको सपना, विगत र पार्टीको वर्तमान अवस्थाबारे चर्चा गरे। पार्टी सचिवालयले गरेको सभामा पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पुष्पलाललाई आदर्श र साहसी नेतृत्वका रूपमा चित्रित गरे  र पार्टी पंक्तीलाई सोहीअनुरूप अगाडि बढ्न निर्देश पनि गरे।

अध्यक्ष दाहालले बलियो कम्युनिष्ट पार्टी स्थापना हुनुमा पुष्पलालको मार्गदर्शन र सिद्दान्तको योगदान रहेको टिप्पणी गरे। ‘इतिहासमा पुष्पलाललाई गद्दार भन्नेहरू पनि थिए। गद्दार सावित गर्न खोजे,’ दाहालले भने, ‘तर गालीले उनको उचाइ घटेन, गद्दार सावित गर्न खोज्नेहरू अहिले महान नेता भन्न थालेका छन्।’ दाहालले पुष्पलालले देखेको एकीकृत र शक्तिशाली कम्युनिष्ट पार्टीको सपना वर्तमान नेपाल कम्युनिष्ट पार्टी स्थापनाले पूरा गरेको टिप्पणी गरे। साना वाम घटकलाई पनि आफ्नो पार्टीमा आबद्ध हुन दाहालको आग्रह थियो । ‘आउनुस् नयाँ शिराबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाऔ,’ दाहालले भने।

नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि प्रतिकृयावादी शक्तिहरू आफूहरूमाथि खनिन थाल्नु बुजुर्वा वर्गको प्रतिक्रान्ती भएको दाहालको भनाइ थियो। ‘क्रान्तिको सफलतापछि बुर्जुवाहरू १०औं गुणा शक्तिशाली भएर आक्रमण गर्छन्। अहिले त्यही भइरहेको छ,’ उनले भने । वैचारिक आस्था र निष्ठाका साथ संकल्प गरेर अगाडि बढ्न कार्यकर्तालाई दाहालले आग्रह गरे। यसैक्रममा पार्टीभित्र निषेधात्मक पद्धतिले टाउको उठाउन खोजेको असन्तुष्टि पोख्दै यसप्रति बेलैमा सचेत हुनुपर्ने उनको भनाई थियो।

कार्यक्रमका अर्का वक्ता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पुष्पलाललाई युगान्तकारी नेताका रूपमा चित्रित गरे। कम्युनिष्ट घोषणा पत्रलाई नेपालीकरण गरेर नेपालमा कम्युनिष्टको विजारोपण गर्नु दूरदृष्टीपूर्ण कार्य भएको उनले बताए । ‘उहाँको विचार प्रवृतिले संमृद्दिको कुरामात्र गरेको छैन, सामाजिक न्याय, स्वतन्त्रता मानव अधिकार विधिको शासन आदि सबैको मार्गनिर्देश गर्दछ,’ ओलीले भने। पुष्पलालका विचार प्रवृति र दृष्टिकोण अहिलेका सरकारका योजनाका मार्गनिर्देशक रहेको उनको भनाई थियो ।विश्वमा पूँजीवादी अर्थ व्यवस्था क्रमशः कमजोर हुँदै गएको तर्क ओलीले गरे । पुष्पलालको समाजवादी दृष्टीकोण दूरगामी रहेको दाबी गर्दै ओलीले भने, ‘विश्वका ठूला पूँजीवादी भनिने देशले आंशिकरुपमा समाजवादी बाटो समाउँदै छन्। समाजवाद र जनचेतनाले पूँजीवादलाई गाँज्दै लगेको छ।’

विसं १९८१ मा जन्मिएका पुष्पलाल श्रेष्ठले राणा विरोधी आन्दोलनमा सकृय हुँदै २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको विधिवत स्थापना गरेका थिए। २५ वर्षे उमेरमै पार्टी स्थापनामा अहं भूमिका खेली महासचिव बनेका श्रेष्ठको ५४ वर्षको उमेरमा निधन भएको थियो ।  

प्रकाशित: ७ श्रावण २०७५ १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App