coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठेकेदारका कारण सकसमा स्थानीय सरकार

तस्बिर : सुनिलस्मृती गाउँपालिका ५ गजुलको अलपत्र भवन ।तस्बिर /दिनेश सुवेदी

रोल्पा – सुनिलस्मृती गाउँपालिका ५ गजुलको वडा कार्यालय भवनमा सेवाग्राहीको भीड हुन्छ , तर सेवा प्रवाहलाई सहज बनाउन बनाइएको उक्त भवनले सकसमात्रै थपेको छ।

भवनका झ्याल ढोकामा पल्ला हालिएको छैन । यसले गर्दा सामान तथा कागजात सुरक्षाको चिन्ता वडा कार्यालयलाई छ । वर्षात्को पानी भित्र कोठाभित्रै पुग्छ । बतीका लागि वायरिङ पनि भएको छैन । ‘शौचालयसमेत नहुँदा झनै सकस छ,’ वडा अध्यक्ष अर्जुन सुवेदी भन्छन्, सांसद, संघ र प्रदेशका सांसद, जिल्ला समन्वय समिति, गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सबैसँग हार गुहार गरिरहेका छौं तर समस्या टरेको छैन।’

निर्माणको जिम्मेवारी पाएका ठेकेदार वीरेन्द्र खड्काले सर्तअनुसार २०७० सालमै निर्माण सकेर भवन बुझाउनु पर्ने थियो तर उनले काम अपुरो त छाडे नै त्यसकोे अनुगमनको जिम्मेवारी पाएको जिल्ला प्राविधिक कार्यालय पनि उदासिन हुँदा भवन निर्माण अलपत्र रहेको हो । जिल्ला प्राविधिक कार्यालय रोल्पामार्फत् शान्ति तथा पुर्न निर्माण मन्त्रालयले ठेकेदारलाई २५ लाख रुपैयाँमा निर्माण जिम्मा दिएको यो भवन निर्माण अब कसले टुङग्याउने भन्ने अन्योल छ।

 संघीय संरचना अनुसार जिल्ला प्राविधिक कार्यालयले पनि सबैखाले कागजात र जिम्मेवारी स्थानीय निकायलाई हस्तान्तरण गरिसकेको छ । समयसीमा गुज्रिएको ४ वर्षसम्म कुनै ताकेता नगरेको उक्त कार्यालयका प्रमूख गोपिराज पुन भन्छन्,‘ठेकेदारले समयमा बनाएनन् । हामीले पनि सबै फाईलहरू र अधिकार गाउँपालिकालाई बुझाएका छौ । अब जे गर्छ स्थानीय सरकारले गर्छ।’

अपुरो भवन र सो सम्बन्धी कागज पत्र सबै जिम्मा लिएको गाउँपालिका पनि अब के गर्ने भन्ने अन्योलमा छ । ‘ठेकेदारसँग कुरा गरेको बनाउँछु त भनेका छन्,’ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भने, ‘ तर विश्वास भने लागेको छैन।’ठेकेदार खड्काले गरेको कामको भुक्तानी जिल्ला विकास समितिले नदिएको बताए।वडा सचिव मेघबहादुर थापाका अनुसार खड्काले काम छल्न खोजिरहेका छन्।रोल्पामा शान्ति तथा पुन निर्माण मन्त्रालयले निर्माण सुरू गरेका एक दर्जनभन्दा बढी योजनाहरू अलपत्र छन् ।
                         

प्रकाशित: ७ श्रावण २०७५ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App