७ वैशाख २०८१ शुक्रबार
खेल

फागुन २५ बाटै साग गर्ने अडान, पूर्वाधार निर्माणमा ठोस प्रगति छैन

काठमाडौं – भौतिक पूर्वाधार निर्माणमा कुनै ठोस प्रगति नभए पनि फागुन २५ बाट काठमाडौंमा दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आयोजना गर्ने अडानमा नेपाल कायम छ। 

नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गर्दै निर्धारित समयमै काठमाडौं र पोखरामा साग गर्ने दाबी गर्दै त्यहीअनुसार पूर्वाधार निर्माण कार्य भइरहेको बतायाे । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सरकार सकारात्मक रहेका कारण समयमै साग आयोजनाको जिम्मेवारी पूरा गर्ने बताए। उनले हाल भएका केही कभर्डहल तथा हाल निर्माण भइरहेका संरचनाले पूर्णता पाएमा प्रतियोगिता गर्न कठिनाइ नहुने जानकारी गराए। अघिल्लो दिन काठमाडौंमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल कार्यकारिणी बैठकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेट र प्याराग्लाडिङ थप्ने र निर्धारित समय तालिकामै गर्ने निर्णय गरेको थियो। 

निर्धारित मितिमै प्रतियोगिता गर्ने हो भने नेपालसँग अब तयारीका लागि २ सय २९ दिन मात्र छ । तर, आयोजकले अहिलेसम्म कुन–कुन सहरमा प्रतियोगिता गर्ने भनेर नै पक्का गर्न सकेको छैन। 

नियमित रूपमा प्रतियोगिता भएको भए यति बेला १३औं साग सकिएर अर्को संस्करणका लागि तयारी गर्ने समय भइसकेको हुन्थ्यो । तर, २०७३ मंसिर १८ गते काठमाडौंमै सम्पन्न काउन्सिलको बैठकले एक वर्ष ढिला हुने गरी २०१९ मार्च ९ देखि १८ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरेको थियो । त्यही मितिमा प्रतियोगिता गर्ने गरी शनिबार सम्पन्न कार्यकारिणी बैठकले निर्णय गरेको छ । निर्धारित मितिमै प्रतियोगिता गर्ने हो भने नेपालसँग अब तयारीका लागि २ सय २९ दिन मात्र छ । तर, आयोजकले अहिलेसम्म कुन–कुन सहरमा प्रतियोगिता गर्ने भनेर नै पक्का गर्न सकेको छैन। 

‘अहिलेसम्म काठमाडौं र पोखरामा गर्ने भन्नेछ । पूर्वाधार पनि त्यहीअनुसार निर्माण भइरहेका छन्,’ समयमै साग गर्ने विश्वासमा रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले थपे, ‘नेपाल सरकारले दक्षिण एसियाली खेलकुद, एसियन गेम्स र आठौं राष्ट्रिय खेलकुद गर्नका लागि चालू आर्थिक वर्षको बजेटमा २ अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । यसबाट पनि सरकार प्रतियोगिता समयमै गर्नुपर्छ भन्नेमा गम्भीर रहेको प्रस्ट हुन्छ ।’
दक्षिण एसियाली काउन्सिलका समेत अध्यक्ष रहेका श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयसँग भएका निरन्तरको छलफलमा पनि प्रतियोगिता समयमै हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताए। 

तर, इतिहासमै सबैभन्दा धेरै २७ खेलमा प्रतियोगिता हुन लागेको १३औं साग आयोजनाका लागि नेपालसँग भएको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पनि मर्मतकै क्रममा छ । २०७२ साल वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त भएको रंगशालाको प्यारापिट अझै भत्काएर सकिएको छैन।

‘फेब्रुअरी अन्तिमसम्म उनीहरूले निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ,’ पूर्वाधार विकास तथा मर्मतसम्भार विभाग प्रमुख अरुण उपाध्यायले भने, ‘उनीहरूले निर्माण मात्र गर्ने हो । त्यसमा ट्य्राक, बत्ती र साउन्ड भने चिनियाँ सरकारले निर्माण गर्नेछ । बेन्चहरू छुट्टै हाल्ने हो।’ मर्मत गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनीले सम्झौताअनुरूपकै मितिमा निर्माण सम्पन्न गरेमा पनि रंगशाला २०१९ फ्रेब्रुअरी अन्तिममा मात्र राखेपलाई हस्तान्तण गर्नेछ। त्यसपछि भव्य र यादगार बनाउने भनिएको प्रतियोगिताको तयारी गर्न नेपालसँग १० दिन समय हुनेछैन। तर, एनओसी अध्यक्ष श्रेष्ठले सबै काम नियमित रूपमा अघि बढे निर्धारित समयमा प्रतियोगिता गर्न समस्या नरहेको दाबी गरे।

त्यसका साथै काउन्सिल बैठकमा विधान संशोधनका विषयमा पनि छलफल भएको छ । अगस्ट १० सम्म विधान संशोधनका लागि  सुझाव संकलन गर्ने र जाकार्तामा बस्ने बैठकबाट कुनकुन बँुदामा संशोधन गर्ने भनेर टुंगो लगाउनेछ। 

 

प्रकाशित: ७ श्रावण २०७५ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App