काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँच वर्षपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्दै छ । नेपाली फुटबलको मेरुदण्डका रूपमा झन्डै सात दशक सेवा पुर्याएको लिग रोकिने र हुने क्रम निरन्तर छ । यसै क्रममा पाँच वर्षपछि फेरि लिग ब्युँताउन एन्फा नेतृत्वले असोज १३ को साइत रोजेको छ।
लामो समयदेखि रोकिएको लिग पुनः सुचारु गर्दा यसपालि रेलिगेसनको व्यवस्था हुने छैन । अर्थात् करोडौंको लगानीमा महिनौं चल्ने लिगले नयाँ च्याम्पियन दिनेछ । सँगै पुछारमा रहने टिमहरूको ‘ए’ डिभिजन हैसियत पनि कायम रहनेछ । राम्रो खेल्नेले स्वाभाविक रूपमा पुरस्कार पाउँछ, तर कमजोर प्रदर्शनको मूल्य कसैले चुकाउनुपर्नेछैन ।
एन्फा परिवर्तनको ओझिलो नारा घन्काएर नेतृत्वमा आएको वर्तमान कार्यसमितिले रेलिगेसनको व्यवस्था नभए पनि लिग पुनः सञ्चालन गर्नु नै ठूलो उपलब्धि मान्न सक्ला । तर सरोकारवालाका लागि भने यसरी झारो टार्ने पारामा गरिने प्रतियोगिताले लिगको मर्ममा नराम्ररी प्रहार गर्छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान दीपक अमात्यले रेलिगेसनबिनाको प्रतियोगिताले लिगको मर्म बोक्न नसक्ने बताएका छन् । ‘लिग भनेको एकअर्काबीच राम्रो नतिजाका लागि गरिने प्रतिस्पर्धा हो । रेलिगेसन नभए किन प्रतिस्पर्धा ? उनीहरूले अमेरिकाको एमएलएस (मेजर लिग सकर) को उदाहरण दिन सक्छन् । तर नेपालको अवस्था त्यस्तो होइन,’ फेसबुकको फुटबल कुराकानीमा उनले लेखेका छन्, ‘एमएलएसमा लगानी र स्वामित्वको कुरा हुन्छ । त्यहाँ हारले मालिकको पैसा डुब्छ । त्यसैले उनीहरूले राम्रो गर्नै पर्छ । रेलिगेसनबिनाको लिग भनेको फिफाबाट पैसा झार्ने खेल मात्र हो । लिगमा झार्ने नझार्नेसँग उनीहरूलाई मतलब भएन । यसो गर्दा आफ्नो केन्द्रीय सदस्यता पनि रहिरहने भयो ।’
अमात्यको विचारमा सामान्य जनता नेपाली फुटबलमा केही नयाँ चाहन्छन् । ‘जस्तै अर्धव्यावसायिक लिग, वा अरू कुनै फरक कुरा, जसले हामीलाई फरक दिशातर्फ डोर्याओस,’ अमात्यले लेखेका छन् ।
वैशाखमा सम्पन्न साधारणसभाबाट कर्माछिरिङ शेर्पाको अध्यक्षतामा निर्वाचित एन्फाको नयाँ कार्यसमितिले असोज १३ मा लिग सुरु गर्ने घोषणा गरे पनि कहिलेसम्म चल्ने र कहाँ–कहाँ गर्ने, कति पुरस्कार राख्ने लगायतका थुप्रै निर्णय गरिसकेको छैन । तथापि २०७२ सालको भुइँचालोबाट क्षतिग्रस्त दशरथ रंगशाला पुनर्निर्माण भइनसकेका कारण सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान, लगनखेलको आर्मी मैदान र सशस्त्र प्रहरी बलको हलचोक मैदान लिगका सम्भावित आयोजनास्थल हुन् । जहाँ १४ क्लबले हार्नु नपर्ने ग्यारेन्टीका साथ टिम उतार्नेछन् ।
शीर्ष डिभिजनबाट कुनै पनि क्लब रेलिगेसनमा नपर्ने व्यवस्था भए पनि यो वर्ष ‘बी’ र ‘सी’ डिभिजनबाट भने एक÷एक क्लब उकाल्ने एन्फाको योजना छ । वर्तमान नेतृत्वको ‘एन्फा परिवर्तन अभियान’ मा सक्रिय पूर्व राष्ट्रिय खेलाडी एवं नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा अहिले लिग आयोजना कमिटीको संयोजक छन् । शर्मा पनि सुरुमा रेलिगेसनबिनाको लिग नगर्ने पक्षमा थिए । ‘नयाँ नेतृत्व आएपछि ‘ए’ डिभिजनका क्लबहरूलाई पहिलो पटक लिगको विषयमा छलफल गर्न बैठक बोलाउँदा उहाँले नझर्ने लिग भए म संयोजक बस्दिनँ भन्नुभएको थियो । माइन्युट नै भएको थियो,’ उक्त बैठकमा सहभागी एक क्लबका प्रतिनिधिले नागरिकसँग भने, ‘वास्तवमा लिग भनेको कुनै एउटा डिभिजनका क्लबबीचको प्रतिस्पर्धामात्र होइन । यो ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन तथा ‘सी’ डिभिजन छनोटसम्मको एउटा प्याकेज हो । जहाँ शीर्ष डिभिजनबाट केही क्लब दोस्रो डिभिजनमा घटुवा हुन्छन् । दोस्रो डिभिजनका शीर्ष क्लबहरूले शीर्ष डिभिजनमा तिनको ठाउँ लिन्छन् ।
यो पिरामिड ‘सी’ डिभिजन छनोटदेखि ‘ए’ डिभिजनसम्म चल्छ । तर ‘ए’ डिभिजनमा रेलिगेसन नहुने ‘बी’ र ‘सी’ बाट बढुवा गर्ने भनिएको छ । रेलिगेसनको त्यहाँ पनि निर्णय छैन । त्यसैले यो लिग होइन ।’
लिग कमिटिका संयोजक शर्माले अहिले आफूहरू छलफलको चरणमा रहेको प्रतिक्रिया दिए । ‘हामी दुई फरक मोडालिटीमा छलफल गरिरहेका छौं,’ उनले नागरिकसँग भने ।
थ्री स्टार क्लबका महासचिव सञ्जीव सिल्पकार पनि रेलिगेसनबिनाको लिग गर्ने योजनासँग सहमत छैनन् । ‘नझर्ने लिग भनेको नक्कली लिग हो । यस्तो लिग गर्नु हुँदैन भनेर हामी र मनाङ मस्र्याङ्दी क्लबले विरोध गरेका थियौं । तर रेलिगेसन गरेको खण्डमा नेपालमा लिग हुनै नसक्ने, फुटबल नै ठप्प हुने भनियो । फिफाका प्रतिनिधिसमेत बोलाएर नझर्ने लिगलाई अनुमोदन गराइयो,’ सिल्पकारले नागरिकसँग भने, ‘फुटबल गतिविधि सुचारु गर्न एक वर्षका लागि मात्र नझर्ने लिगमा सहमत हुनुपर्याे भनेर एन्फा अधिकारीहरूले अनुरोध गरे । फिफाका प्रतिनिधिलाई पनि त्यही भन्न लगाइयो । त्यसपछि हामीले फुटबल सुचारु गर्ने भावनाका लागि मात्र सहमति जनाएका हौं । तर यो वास्तविक लिग होइन।’
एन्फाका एक वरिष्ठ अधिकारीका अनुसार चुनावअघि नै सबै क्लबलाई नझर्ने लिगको वाचा गरिसकेकाले नेतृत्वले फिफासम्म गुहारेर लिगको झारो टार्न लागेको हो । ‘उहाँहरूले धेरै क्लबसँग भोट माग्दा रेलिगेसनमा नपार्ने वचन दिनुभएको रहेछ । अहिले क्लबहरूले त्यही वाचा सम्झाएर चेतावनी दिएपछि नेतृत्व गल्यो,’ ती अधिकारीले भने, ‘हामी एन्फा परिवर्तनको नारामा लोभिएर लाग्यौं । साँच्चै एन्फा परिवर्तन गरौंला र नेपाली फुटबललाई नयाँ उचाइ प्रदान गरौंला भन्ने थियो । तर नझर्ने लिगको योजना अघि सारेपछि मानिसहरुसँग ‘फेस’ गर्न गाह्रो भइरहेको छ।’
एन्फा अध्यक्ष शेर्पा लामो समयदेखि रोकिएको फुटबलको माहोल सिर्जना गर्न यस्तो लिग गर्नुपरेको बताउँछन् । ‘नेपाली फुटबलको संक्रमणकाल सकिएको छैन । फिफाले संकटमा रहेका अन्य देशमा पनि यस्तो लिगको प्राक्टिस गरेको छ । झर्ने लिगका लागि नेपालमा पर्याप्त खेलाडी नै छैनन्,’ रेलिगेसनबिनाको लिग प्रतिस्पर्धात्मक नहुने विषयमा शेर्पाले तर्क गरे, ‘अहिले पनि ९ वटा क्लबलाई खेलाडी छैन । हामीले क्लबलाई धेरै रिक्वेस्ट गरेर धन्न खेल्ने वातावरण बनाएका छौं । खेलाडी नै नभएको अवस्थामा जस्तो लिग गरे पनि प्रतिस्पर्धा हुँदैन । ममाथि काल्पनिक आरोप लगाइराखिएका छन् । नेपाली फुटबलको अवस्थाअनुसार लिग प्रतिस्पर्धात्मक हुन्छ।’
प्रकाशित: ७ श्रावण २०७५ ०५:१३ सोमबार