coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

दानवीरहरूलाई सम्मान

शैक्षिक संस्थाहरूलाई आफ्नो सम्पत्ति प्रदान गर्ने दाताहरूको हाम्रो समाजमा उच्च स्थान रहँदै आएको छ । धेरैले पुस्तौंपुस्तासम्म सुकीर्ति रहोस् भनी यस्तो महान् पुण्यकार्यमा आफूलाई सरिक गराउँदै आएका छन्।

विशेष गरी विद्यालय र विश्वविद्यालयका लागि जग्गा दान गर्ने दाताहरूको योगदानले शैक्षिक उन्नयनमा ठूलो योगदान गरेको पाइन्छ । यस्तो पुण्यकार्यको थालनी २००७ सालपछिको खुला राजनीतिक वातावरणमा विस्तारित हुँदै आएको हो । त्रिभुवन विश्वविद्यालयको जग बसाउने बेलामा तत्कालीन राजा त्रिभुवनका दुई महारानीले गरेको सहयोग होस् वा गाउँगाउँमा खुलेका स्कुलका लागि तत्तत् स्थानमा रहेका महानुभावहरूले दिएको योगदान आज पनि उत्तिकै श्रद्धाका साथ लिइन्छ । यो परम्पराले अहिलेसम्म निरन्तरता पाएको छ।

कहिले पुराणको आयोजना गरेर र कहिले कुनै महोत्सव आयोजना गरी शैक्षिक संस्थालाई सहयोग पुर्याउने गरेको देखिन्छ । तर, यो सिलसिला पहिलेजस्तो अहिले छैन । बरु सार्वजनिक जग्गा निजी बनाउन सक्रिय ‘दलाल’ समूहको समाजमा उपस्थिति भइसकेको छ । यसले ‘सर्वजन हिताय’ भन्दा पनि निजी प्रयोजनमा ध्यान गएको देखिएको छ । यति हुँदाहुँदै पनि बिर्सनु नहुने पक्ष के हो भने हाम्रा शैक्षिक संस्थाका पूर्वाधार विकासमा यस्तै दानदातव्यको ठूलो योगदान छ । त्यसो नहुँदो हो त राष्ट्रिय ढुकुटीबाट मात्रै यी सबै प्राप्ति सम्भव थिएन।

त्रिभुवन विश्वविद्यालयले आफ्नो ५९ औं वार्षिक दिवसका अवसरमा विश्वविद्यालयलाई आफ्नो सम्पत्ति दिएर योगदान गर्ने ती दानवीरहरूलाई सम्मान गरेको छ । दाता परिवारका सदस्यलाई कदर गर्ने क्रममा विश्वविद्यालय पदाधिकारीले बल्खुमा रहेको कुमारी क्लब नजिकबाट माला पहिर्याएर पाँच दातालाई विश्वविद्यालयको सभाकक्षसम्म लगे । देवीप्रसाद उप्रेतीले त्रिभुवन विश्वविद्यालयको आंगिक संस्था मेची क्याम्पस झापालाई १२० बिघा ३ कठ्ठा ५ धुर जग्गा दान गरेका थिए भने इलाम, झापा र तेह्रथुमका अनेकौं मठमन्दिर एवं २९ स्कुलको स्थापनामा आर्थिक सहयोग तथा जग्गादान गरेका थिए ।

विश्वविद्यालय परिसरमा पहिलोपटक पाइला टेकेकी दाता स्व. देवीप्रसादकी श्रीमती नर्मदा उप्रेतीले पहिले श्रीमानले स्कुल–कलेजलाई जग्गा दिन्छु है भनी सोध्दा साथ दिएको स्मरण गर्दै जुन खुसी व्यक्त गरिन्, त्यो अन्य व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्नुपर्ने हो । सामान्य लेखपढ गरेकी नर्मदाले जुन सुझबुझ देखाइन्, त्यसले उनी र उनको परिवार अत्यन्तै शिक्षित भएको तथ्यलाई प्रमाणित गर्छ किनकि विश्वविद्यालयको प्रमाणपत्र लिएर मात्रै शिक्षित हुने होइन, मुख्य कुरा सुझबुझ हो । हो, विभिन्न व्यक्तिको यस्तै सुझबुझ र त्यसअनुसारको सहयोगले नै अहिले कतिपय विद्यालय, कलेजदेखि अस्पतालहरू निर्माण भएका हुन्, जसबाट सर्वसाधारणले शिक्षा र सेवा पाइरहेका छन् ।

दानवीरहरूको योगदानकै कारण अहिले शिक्षा क्षेत्र फैलिएको र समाज शिक्षित हुँदै आएको हो । त्यसैले यस्ता दानवीरहरूका परिवारलाई सम्मान गरी त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय काम गरेको छ । विश्वविद्यालयले यस्ता दाताहरूको खोजी गर्दै उनीहरूप्रति सम्मान गर्न त आवश्यक छ नै साथै अन्य शैक्षिक संघसंस्थाहरूले पनि त्रिविको यो बाटोलाई अनुशरण गर्नु उत्तम हुनेछ ताकि समाजमा यस्तो काम गर्नका लागि धेरैभन्दा धेरै व्यक्तिलाई प्रेरणा मिलोस् ।

त्रिभुवन विश्वविद्यालयले यसपटक उप्रेती परिवारलाई मात्र होइन, धनुषा निवासी स्व.रामस्वरूप एवं स्व. रामसागर साह दाजुभाइको परिवार, राजविराज, खड्कपुर गाविस निवासी स्वर्गीय विन्देश्वरीप्रसाद यादव, वीरगन्ज महानगरपालिका वडा नम्बर ७ निवासी स्वर्गीय महावीरप्रसाद एवं रघुवीर राम र स्वर्गीय सूर्यनारायण मरवैता एवं सत्यनारायण मरवैताको परिवारलाई पनि सम्मान गरेको छ।

स्व. रामस्वरूप र स्व. रामसागर दाजुभाइले ५७ बिघा १४ कठ्ठा ५ धुर जग्गा प्रदान गरी रामस्वरूप रामसागर बहुमुखी क्याम्पस स्थापना गरेका थिए । यस अतिरिक्त यी दाजुभाइले जनकपुर क्षेत्रमा शैक्षिक, सामाजिक तथा आध्यात्मिक कार्यका लागि धेरै सम्पत्ति दान गरेका थिए । स्व. विन्देश्वरीप्रसाद यादवले ९८ बिघा १८ कठ्ठा ७ धुर जग्गा दान गरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थापना गरे । स्व. महावीरप्रसाद र रघुवीर राम आफ्नो बुवा ठाकुररामको स्मृतिमा २००९ सालमा १४ बिघा जग्गासहित भवन निर्माण गरी ठाकुरराम क्याम्पस स्थापना गरेका हुन् । स्व.सूर्यनारायण मरवैता र सत्यनारायण मरवैताले पाँच बिघा १७ कट्ठा ११ धुर जग्गा र ३४ कोठे मूल शैक्षिक भवन र ३४ कोठे छात्रावास भवन निर्माण गरी सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस स्थापना गरे । यो सूची अझै लामो हुन्छ।

यस्ता दानवीरहरूको योगदानकै कारण अहिले शिक्षा क्षेत्र फैलिएको र समाज शिक्षित हुँदै आएको हो । त्यसैले यस्ता दानवीरहरूको परिवारलाई सम्मान गरी त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय काम गरेको छ । विश्वविद्यालयले यस्ता दाताहरूको खोजी गर्दै उनीहरूप्रति सम्मान गर्न त आवश्यक छ नै साथै अन्य शैक्षिक संघसंस्थाहरूले पनि त्रिविको यो बाटोलाई अनुशरण गर्नु उत्तम हुनेछ ताकि समाजमा यस्तो काम गर्नका लागि धेरैभन्दा धेरै व्यक्तिलाई प्रेरणा मिलोस् ।

 

प्रकाशित: ७ श्रावण २०७५ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App