७ वैशाख २०८१ शुक्रबार
कला

काठमाडौंमा ‘जी सिने अवार्ड’

नेपाली र भारतीय कलाकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः नागरिक

काठमाडौ – नेपालमा वर्षेनी झण्डै आधा दर्जन फिल्म अवार्ड हुने गर्दछन् । स्वदेशी फिल्म अवार्डको भिड लागिरहँदा बलिउडका कलाकारको उपस्थितिमा नेपालमा पहिलोपटक ‘जी सिने अवार्ड’ हुने भएको छ।

नेपाल भ्रमणमा रहेको तीन सदस्य भारतीय फिल्मकर्मीको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आगामी नोभेम्बर–डिसेम्बरमा अवार्ड गर्ने जानकारी दिएको हो।

शनिवार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्र्राइजका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिज्ञ तथा राज्य सभा सदस्य अमर सिंह र अभिनेत्री जया प्रदाले नेपालमा अवार्ड गर्ने बताएका हुन् । उनीहरुले आफ्नो अवार्डमा हरेक वर्ष नेपाली फिल्मका लागि पनि एक अवार्डको व्यवस्था गरिने जनाए।

भारतीय फिल्मकर्मीको टोलीले नेपालमा फिल्म सिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको थियो । जी इन्टरटेनमेन्टका अध्यक्ष चन्द्राले प्रधानमन्त्री ओलीलाई पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफुलाई आकर्षित गरेको बताएका थिए । ‘यी ठाउँ निकै आकर्षक र सुन्दर छन् । नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु गरिसकेका छौं,’ चन्द्राले भने।

प्रधानमन्त्री ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भएकोमा भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका थिए । उनले ‘जी सिने अवार्ड’ कै सेरोफेरोमा रहेर काठमाडौमा ‘हिमालयन कनक्लेभ’को समेत आयोजना गरिने घोषणा गरे । पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा हुने ‘हिमालयन कन्क्लेभ’मा नेपालसहित भारत, बंगलादेशलगायतका कलाकर्मीहरुको पनि उपस्थिति हुनेछ । ओलीले अभिनेत्री जयाले नेपाल–भारत सम्बन्धका लागि साँस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको स्मरण गरे ।भारतीय राजनीतिकर्मी तथा राज्य सभा सदस्य सिंहले प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सोचलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुसी हुने दाबी गरे।

कार्यक्रममा कलाकार नीर शाहले नेपाली फिल्म उद्योगको समग्र अवस्थाको जानकारी दिँदै भारतमा नेपाली भाषीहरुको ठूलो जनसंख्या रहे पनि विभिन्न कारणले गर्दा नेपाली फिल्महरुको प्रदर्शन हुन नसकिरहेको बताए । केही समय अघि प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसी पनि सदस्य थिए ।


 

प्रकाशित: ७ श्रावण २०७५ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App