coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘निर्देशक महिला वा पुरुष हुँदैनन्’

फिल्म ‘कथा काठमाडौं’का कलाकार प्रमोद अग्रहरि (बाँया), सन्ध्या केसी (बीच) र सञ्जोग कोइराला (दाँया) । तस्बिर सौजन्यः आर्यन बिमली

काठमाडौं– काठमाडौंलाई आफ्नो कर्मभूमि बनाएर बसिरहेका भिन्न भिन्न पात्रको कथालाई प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाडौं’को पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक भएको छ।

क्लब सङथिममा तयार गीतमा नायक प्रमोद अग्रहरि र नायिका प्रियंका कार्कीले फिचरिङ गरेका छन् । गायिका इन्दिरा जोशीको स्वर तथा अभिनयसमेत रहेको गीत आइतबार फिल्मकर्मी र पत्रकारमाझ सार्वजनिक भइरहँदा गीतमा प्रमोद र प्रियंकाको ‘अन्तरंग’ दृश्यले चर्चा पायो।

गीत सार्वजनिक पछि फिल्मकी निर्देशक संगीता श्रेष्ठले फिल्ममा कथाको मागकै कारण ‘अन्तरंग’ दृश्य राखिएको प्रष्ट्याइन् । ‘फिल्मको कथा अनुसार गीत तयार पारेका हौं । गीतमा देखाउनकै लागि दृश्य समावेश छैनन् । यो दृश्य फिल्मको कथासँग जोडिएर आउँछ,’ संगीताले भनिन्, ‘गीतमा अन्तरंग दृश्य राखिएपछि मलाई एउटी महिला भएर गीतमा अन्तरंग दृश्य कसरी राख्न सकियो भनेर प्रश्न पनि सोधिएलान् । मलाई लाग्छ निर्देशक महिला वा पुरुष हुदैनन् । ऊ केवल निर्देशक हुन्छ । त्यसैले मैले फिल्मको कथा अनुसार नै गीतमा अन्तरंग फ्लेबर राखेकी हुँ ।’

उनले फिल्मलाई वास्तविकतासँग नजिक रहेर निर्माण गरिएकाले पनि केही नयाँपन आउने बताइन् । ‘गीतको भिडियोमा दर्शकले रोमान्स र खुशी देख्नुहोला । तर यसमा पात्रको पीडा देख्न सकिन्छ,’ संगीताले अथ्र्याइन्, ‘गीतमा प्रियंकाले मन नलागी नलागी भए पनि प्रमोदसँग अन्तरंग सम्बन्ध गाँस्नुपरेको देखाइएको छ ।’ संगीताकै कथा, पटकथा र संवाद रहेको फिल्म अध्ययन अनुसन्धान गरेरै निर्माण गरिएको संगीताले बताइन् ।

गीतमा अन्तरंग दृश्य राखिएपछि मलाई एउटी महिला भएर गीतमा अन्तरंग दृश्य कसरी राख्न सकियो भनेर प्रश्न पनि सोधिएलान् । मलाई लाग्छ निर्देशक महिला वा पुरुष हुदैनन् । ऊ केवल निर्देशक हुन्छ ।

गीतमा प्रदीप बास्तोलाको शब्द र संगीत छ भने निर्देशक संगीताले नै कोरियोग्राफी गरेकी छन् । गीतकी कलाकार प्रियंका अमेरिकामा रहेपछि कार्यक्रममा अर्का कलाकार प्रमोद उपस्थित थिए । उनले आफ्नो चरित्रलाई फिल्ममा राम्रोसँग प्रस्तुत गरेको बताए । ‘फिल्ममा मेरो चरित्र कस्तो छ भन्ने कुरा गीत हेरेरै थाहा पाउनुभयो,’ हाँस्दै प्रमोदले भने, ‘बाँकी कुरा जान्नका लागि दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ।’

नायिका सन्ध्या केसीले फिल्ममा आफू नायक सञ्जोग कोइरालाको प्रेमिका रहेको खुलाइन् । ‘यो फिल्मबाट म प्रियंका कार्कीको ठूलो फ्यान बनेकी छु । उहाँको मेहनत र काम प्रति खुलापनले म प्रभावित भएँ,’ सन्ध्याले भनिन् । अर्का कलाकार सञ्जोग कोइरालाले फिल्ममा आफूले चुनौतिपूर्ण चरित्र निर्वाह गरेको बताए । फिल्मका निर्माता विजय राईले आफू फिल्म भन्दा अलग व्यवसायमा संलग्न भए पनि निर्देशक संगीताको सोच र अवधारणा मनपरेपछि फिल्ममा लगानी गरेको बताए।

आहाना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको अभिनय छ । फिल्ममा गायिका इन्दिरा जोशी विशेष भूमिकामा देखिदैछिन । फिल्ममा लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन छ । फिल्म असोज १२ गते रिलिज हुँदैछ ।

 

प्रकाशित: ७ श्रावण २०७५ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App