८ वैशाख २०८१ शनिबार
कला

बलिउडमा ‘हरर’ फिल्म लहर

मुम्बई– बलिउडमा आउँदो दिनमा फिल्मी पर्दामा ‘सुपरनेचुरल’ फिल्मको लाम लाग्ने भएको छ।

सुपरनेचुरल विषयका फिल्मप्रति दर्शकको माग बढ्दै गएपछि बलिउडले यस्ता फिल्म निर्माणमा जोड दिन थालेको छ । एक समय रामसे ब्रदर्स यस्तो फिल्म बनाउन चर्चित थिए । उनीहरु पछि फिल्म निर्देशक तथा निर्माता रामगोपाल वर्माले यो शैलीलाई एकपटक पुन पर्दामा ल्याउन सफल भए।

यो वर्ष शुरुवातमा अनुष्का शर्माको फिल्म ‘परी’ प्रदर्शनमा आएको थियो । आफ्नै होम प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म एक ‘भूत’को कथामा आधारित थियो । अनुष्काको यो फिल्मले दर्शकलाई निकै तर्साएको थियो । आगामी वर्षसम्म यस्ता कैयौं फिल्म बलिउडमा हुनेछन् । जसको कथा ‘सुपरनेचुरल’ शक्तिको वरीपरी घुम्नेछ।

हालै मात्र फिल्म ‘लुप्त’को फष्टलुक सार्वजनिक भएको थियो । जावेद जाफरी र विजय करण अभिनित ‘हरर’ फ्लेबरको फिल्म आगामी सेप्टेम्बरमा दर्शकलाई तर्साउन आउँदैछ । पारिवारिक कथामा बनेको फिल्मलाई हलिउड फिल्म ‘स्टिच’सँग तुलना गरिएको छ । 

यो बाहेक रणबीर कपूर, अमिताभ बच्चन र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ पनि ‘सुपरनेचरल’ कथामा आधारित छ । अयान मुखर्जीको निर्देशन हुने यो फिल्म तीन भागमा बन्नेछ । केही समय अघि मात्र अभिनेता रणवीरले आफूहरुका लागि ‘ब्रह्मास्त्र’ नयाँ फिल्म हुने बताएका थिए । ‘सुपर हीरोको विषयमा म बोल्न चाहन्न । तर म यो भन्छुकी यो ‘सुपरनैचरल फिल्म’ हो । यो आजको समयको परीको कथा नै हो । यो फिल्ममा सबै कलाकारसँग सुपरपावर हुनेछ ।’ रणवीरले भनेका थिए । यो फिल्मको सुटिङ आगामी अगष्टसम्म सकिनेछ।

बलिउडको अर्को फिल्म ‘स्त्री’ पनि ‘सुपरनेचुरल’ कथामा आधारित छ । यो आइटी हब बैंग्लोरमा रहने एक महिलाको विषयमा आधारित हुनेछ । जो हरेक रात सडकमा आउँछिन् । सडकमा निस्किएपछि कुनै एक परिवारका सदस्यको आवाज निकालेर सम्बन्धित घरको ढोका खोल्न लगाउने र ढोका खोल्ने व्यक्तिको त्यही मृत्यु हुने कथा दर्शकले ‘स्त्री’मा हेर्न पाउनेछन् । यो फिल्ममा श्रद्धा कपूर, राजकुमार राव र पंकज त्रिपाठीको अभिनय हुनेछ । फिल्म आगामी अगष्टमा रिलिज हुनेछ।

त्यस्तै अर्को फिल्म ‘मुश्किल’ पनि ‘सुपरनेचुरल’ थ्रिलर फ्लेबरको छ । कुणाल रोय कपूर र रजनीश दुग्गल अभिनित फिल्मको सुटिङ हालै मात्र सकिएको छ । यो फिल्ममा ग्रिसको भ्रमणमा गएका मुम्बईका चार युवतीको कथा हुनेछ । ग्रिसको ऐतिहासिक किल्लामा बसिरहेका उनीहरु अनौठो परिस्थितिमा फस्न पुग्छन् । जसकारण उनीहरुको जीवन बदलिन्छ । फिल्मका अभिनेता कुणालले आफूलाई जहिल्यै पनि मनोवैज्ञानिक थ्रिलर र हरर विषय मनपर्ने भएकाले ‘मुस्किल’मा अभिनय गरेको बताएका छन्।

अभिनेता शाहरुख खानको फिल्म ‘जीरो’को काम सकिनासाथ फिल्मका निर्देशक आनन्द एल रायले पनि दर्शक तर्साउने फिल्म ‘तुबाण्ड’बनाउने निर्णय लिइसकेका छन् । उनी अहिले कस्तो खालको फिल्मले दर्शकलाई बढी तर्साउन सकिन्छ भन्ने विषयको अध्ययन गरिरहेका छन् । यो फिल्ममा निर्माता तथा कलाकार सोहम शाहको पनि सहकार्य हुनेछ । फिल्म अक्टोबरमा रिलिज हुँदैछ । फिल्मको फष्टलुक सार्वजनिक गर्दै निर्देशक रोयले दर्शकलाई आफू भित्रको डरसँग मिल्नका लागि आव्हान गरेका छन्।

प्रकाशित: ७ श्रावण २०७५ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App